कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

एकीकृत समाजवादी महाधिवेशन : जबजलाई समाजवादको अंग बनाउने प्रस्ताव

गंगा बीसी

काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएर अझै उन्नत रूपमा प्रस्तुत गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । अबको सिद्धान्त समाजवादी कार्यदिशा हुनुपर्ने उनको प्रस्ताव छ ।

एकीकृत समाजवादी महाधिवेशन : जबजलाई समाजवादको अंग बनाउने प्रस्ताव

अध्यक्ष नेपालले सोमबार पार्टीको दसौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जबजले अघि सारेका सामन्तवादविरोधी राजनीतिक माग, नारा र मूल्यमान्यता संविधानमा संस्थागत भएकाले अबको बाटो समाजवादी हुने निष्कर्ष निकालेका छन् । नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले यो राजनीतिक प्रतिवेदनमा सहमति भइसकेको बताएका छन् । प्रतिवेदनलाई महाधिवेशनले पारित गर्न बाँकी छ ।

‘अहिले नेपाली क्रान्ति जनवादी चरण पार गरेर समाजवादी चरणमा प्रवेश गरेको हुँदा अब समाजवादी क्रान्तिको कार्यक्रम अंगालेर अगाडि बढ्नुपर्दछ,’ प्रतिवेदन भन्छ । जबजले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका माग व्यवहारमा भने लागू भइनसकेको प्रतिवेदनमा उल्लेख छ । ‘ती मागहरूलाई अब पार्टीले अगाडि सार्ने समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएर अझै उन्नत रूपमा प्रस्तुत गरी कार्यान्वयन गर्नुपर्दछ,’ नेपालले लेखेका छन् ।

समाजवादीको जनवादी क्रान्तिसँग जोडिएको जबजका उपलब्धिलाई रक्षा र विकास गर्दै अघि जाने दाबी गरेको छ । ‘त्यसैले अहिले हामीले अंगाल्ने कार्यदिशा समाजवादी कार्यदिशा हो,’ नेपालले भनेका छन् । एकीकृत समाजवादीले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको पनि दाबी गरेको छ ।

एकीकृत समाजवादीले कांग्रेसलाई यथास्थितिमा रमाउने दलका रूपमा चित्रण गरेको छ । ‘कांग्रेस पुँजीवादी चरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल–नोकरशाही पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्छ,’ नेपालको विश्लेषण छ, ‘प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी यथास्थितिमा रमाउने गरेको छ ।’

एमाले दक्षिणपन्थी प्रवृत्ति बोकेको कम्युनिस्ट पार्टी भएको समाजवादीले उल्लेख गरेको छ । ‘मुलुकमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा समाजवादी कार्यक्रम र कार्यदिशा अंगाल्नुपर्नेमा त्यसो गर्न नसकेको हुनाले यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ,’ प्रतिवेदनमा भनिएको छ । संविधानको मूलमर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको भन्दै समाजवादीले एमाले नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको आरोप लगाएको छ ।

समाजवादीले माओवादी केन्द्र सैद्धान्तिक अन्योलमा फसेको विश्लेषण गरेको छ । ‘सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्तिप्रक्रिया हुँदै आहिलेसम्म आउँदा रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेकपाको विभाजनपछि फेरि माओवाद अंगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्योलमा फसेको छ । जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध देखिन्छ ।’

रास्वपालाई पुँजीवादी चरित्रको भए पनि यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको टिप्पणी गरेको छ । नवउदारवादको वकालत गर्ने रास्वपाले दक्षिणपन्थी दृष्टिकोण राख्दै आएको प्रतिवेदनमा भनिएको छ । ‘यो पार्टी प्रतिनिधिसभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा राप्रपालाई सामन्ती तथा दलाल– नोकरशाही पुँजीवादी चरित्रको पार्टी भएको उल्लेख गर्दै पश्चगमनकारी चिन्तनको प्रतिनिधित्व गरेको आरोप लगाइएको छ । जसपा नेपाललाई समाजवादी कार्यदिशा अंगालेको दलका रूपमा चित्रण गरेको छ भने जनमत पार्टी गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध भए पनि मधेशप्रति पार्टीमा अझै पनि विगतको धङ्धङी झल्किएको प्रतिवेदनमा उल्लेख छ ।

सोमबार वरिष्ठ नेता खनालले ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले जबजको कार्यक्रम नाममा वा रूपमा जेसुकै मानिए पनि पुँजीवादी जनवादी कार्यक्रम भएको दाबी गरेका छन् । ‘हिजो हामीले जनवादी क्रान्तिका क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागू भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अंग बन्छन् र बनाउनुपर्छ,’ प्रतिवेदनमा भनेका छन् । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले राजनीतिक, समाजवादी, विधानलगायत सात प्रतिवेदन बन्दसत्रमा पेस भएको जानकारी दिए ।

यस्तै, महाधिवेशनमा अध्यक्ष र महासचिवका आकांक्षीले आआफ्नो पक्षमा लबिङ थालेका छन् । अध्यक्षका आकांक्षी नेपाल र महासचिव भुसालले टिम बनाएर प्रतिनिधिबीच अभियान थालेका छन् । वरिष्ठ नेता खनाल भने अध्यक्षमण्डलको संयोजक भएका छन् ।

महाधिवेशनमा सहभागी एक हजार ८ सय प्रतिनिधि सर्वसम्मत चयन भएर आएको भन्दै नेपालले सर्वसम्मत अध्यक्षका लागि लबिङ गरेका छन् । महासचिव भुसालले वरिष्ठ नेताहरूलाई सक्रिय अभिभावकको भूमिकामा बस्न र नेतृत्वका लागि बाटो खुला गर्न आग्रह गरेका छन् । उनले यथास्थितिमा एमालेबाट विद्रोह गरेको पुष्टि नहुने भन्दै नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् ।

उपाध्यक्ष बेदुराम भुसालले प्रतिनिधिहरू सहमतिकै पक्षमा भएको उल्लेख गर्दै सर्वसम्मतको प्रयास भइरहेको बताए । पार्टी निर्माणमा नेपालको भूमिका महत्त्वपूर्ण भएकाले उनको नेतृत्व आवश्यक रहेको भुसालको भनाइ छ र ‘शीर्ष तहमा सहमतिको प्रयास भएकाले त्यही हुने सम्भावना छ,’ उनले भने ।

महासचिव भुसालले वामपन्थी आन्दोलनमा नेतृत्व परिवर्तन र गति दिन नेतृत्व लिन चाहेको बताए । ‘सहमति आफ्ना लागि मात्र हो भनेको हो । मेरा लागि सहमति हुन्छ भन्नेमा म पनि सहमत छु’ उनले भने, ‘यथास्थितिमा सहमति होइन, परिवर्तन र गतिशीलताका लागि मेरो दाबी हो ।’ उनले वामपन्थी आन्दोलनको पुनर्गठनका लागि नयाँ नेतृत्व अपरिहार्य भएको तर्क गरे ।

महासचिवका लागि उपमहासचिवहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी देखिएका छन् ।

प्रकाशित : असार १८, २०८१ ०५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×