कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

एकीकृत समाजवादी अध्यक्षमा नेपाल र भुसाल भिड्दै

नेपाल नेतृत्व निरन्तरताकै पक्षमा र भुसालको जोड नेतृत्व हस्तान्तरण, सर्वसम्मत अध्यक्षका लागि नेपालको प्रयास जारी
महाधिवेशनमा सहभागी १ हजार ८ सय  प्रतिनिधिबाट छानिएका अधिकांश टोली नेताद्वारा विद्रोहपछिको महाधिवेशन भएकाले नेपाल र भुसालबीच सहमतिमा नेतृत्व चयन गर्नुपर्ने सुझाव
गंगा बीसी

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो दाबी कायमै राखेका छन् । सहमति नभए अध्यक्षका लागि यी दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । आफ्नो नाममा सर्वसम्मत गराउने प्रयास जारी राखेका नेपालले पार्टी नेतृत्वका लागि ‘युवाको साथमा अनुभवी नेतृत्व’ नारा अघि सारेका छन् । एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको दाबी गर्दै उनी पुनः अध्यक्षमा दोहोरिन चाहेका हुन् । 

एकीकृत समाजवादी अध्यक्षमा नेपाल र भुसाल भिड्दै

उनले आफ्नो दाबेदारीलाई ‘विद्रोहको मर्म र भविष्यको आशाले प्रेरित हाम्रो यात्रा’ भनेका छन् । महासचिव भुसालले भने पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । उनले ‘यथास्थितिलाई अन्त्य गरौं, नौलो इतिहास कायम गरौं’ सन्देशसहित प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।

नेपाल र भुसालले अध्यक्षका लागि दाबी गरिरहँदा अन्य नेताहरूको जोड भने नेतृत्व सर्वसम्मत गर्नेमा छ । महाधिवेशनमा सहभागी १ हजार ८ सय प्रतिनिधिबाट छानिएका अधिकांश टोली नेताले विद्रोहपछि पहिलो पटक भएको पार्टी महाधिवेशनमा अध्यक्ष नेपाल र महासचिव भुसालबीच सहमति गरी नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

उपाध्यक्ष बेदुराम भुसालले पनि अध्यक्षको हकमा सर्वसम्मत प्रयास भइरहेको बताए । ‘अहिलेको अवस्थामा अध्यक्षमा सर्वसम्मत गरौं भन्ने सुझावका आधारमा आकांक्षीहरूबीच कुराकानी हुँदै छ,’ उनले भने, ‘विद्रोहपछि पहिलो पटक भएको महाधिवेशनको मूल नेतृत्व सर्वसम्मत गर्नुपर्ने प्रतिनिधिको सुझाव आयो ।’

अर्का उपाध्यक्ष घनेन्द्र बस्नेतले नेतृत्व चयनका लागि कार्यतालिका अघि बढेको भन्दै हालसम्म आकांक्षीहरूबीच सहमति भई नसकेको बताए । ‘अहिलेसम्म सहमति भएको छैन,’ उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ, सहमति भएन भने निर्वाचनको तयारी पनि छ ।’ सचिव रामकुमार झाँक्रीले महाधिवेशनबाट मुख्य नेतृत्वमा सर्वसम्मत गरी सकारात्मक सन्देश दिनुपर्ने बन्दसत्रमा बोल्ने टोली नेताहरूको सुझाव आएको बताइन् । उनले सबै केन्द्रीय कमिटी सदस्यहरू सर्वसम्मत चयन गर्नु उचित नहुने भएकाले निर्वाचनको तयारी भइरहेको बताइन् । ‘सकेसम्म मूल नेतृत्वमा सहमति गर्ने कसरत भइरहेको छ,’ उनले भनिन्, ‘नेतृत्वको शिरदेखि तलसम्म सहमति हुने सम्भावना कम छ ।’

तर, सर्वसम्मत मूल नेतृत्व चयन गर्दा रूपान्तरणको सन्देश दिन कठिन हुने भएकाले यथास्थितिलाई निरन्तरता दिन नहुने महासचिव भुसालको अडान छ । ‘प्रतिस्पर्धा र सहमतिको दुवै कसरत भइरहको छ,’ भुसालनिकट नेताले भने, ‘महासचिव भुसाल रूपान्तरणको सन्देश दिन नसक्ने अवस्थामा सर्वसम्मत हुन नसक्ने अडानमा हुनुहुन्छ ।’ त्यस्तै उनले प्रतिनिधिसँगको भेटमा विगतजस्तै पार्टी नेतृत्व हुने हो भने न विद्रोहको औचित्य पुष्टि हुन्छ, न आशाको सञ्चार, त्यसैले पनि वामपन्थी आन्दोलनको नेतृत्वलाई नयाँ सन्देश दिनु आवश्यक रहेको समेत बताउने गरेका छन् । उनले अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले ‘सक्रिय अभिभावक’ को रूपमा रहेर नेतृत्व हस्तान्तरण गर्नसमेत माग गरेका छन् ।

पार्टीमा सक्रिय अभिभावक, अवसर आउँदा राष्ट्रपति र प्रधानमन्त्री पनि पूर्वअध्यक्षहरू रहने गरी दोस्रो तहका नेतालाई पार्टी चलाउन दिने उनको प्रस्ताव छ । तर, नेपालले भने सकेसम्म अहिलेकै पार्टी नेतृत्वलाई निरन्तरता दिनु उचित हुने भन्दै संवाद गरिरहेको भुसालनिकट एक नेताले बताए । ‘महासचिव भुसाल नेतृत्व हस्तान्तरणको पक्षमा हुनुहुन्छ । त्यसका लागि अध्यक्षको दाबी छाड्नुभएको छैन,’ ती नेताले भने, ‘यद्यपि माधव नेपालले अध्यक्षमा सर्वसम्मत गरी घनश्याम भुसाललाई उचित जिम्मेवारी दिने भन्दै छलफल गरिरहनुभएको छ ।’

वरिष्ठ नेता झलनाथ खनाल अध्यक्षका लागि आकांक्षी देखिए पनि हाल उनी महाधिवशेनको अध्यक्ष मण्डलको प्रमुख भएकाले उनले दाबी छाडेका छन् । उनी माधव नेपालको नीति दक्षिणपन्थी भएको भन्दै वामपन्थी ध्रुवीकरणको लाइनमा भुसालसँगै उभिएका थिए । अध्यक्ष नेपाल जनआन्दोलन ०४६ पछि पार्टी र सरकारका नेतृत्व तहमा पटक–पटक रहँदै आएका छन् । नेपाल एक पटक पार्टी अध्यक्ष, तीन पटक पार्टी महासचिव, एक पटक वरिष्ठ नेता, एक पटक प्रधानमन्त्री भइसकेका छन् ।

२०७८ भदौमा एमालेबाट अलग भएपछि उनी पार्टी अध्यक्ष चयन भए । एमालेको २०७१ मा भएको नवौं महाधिवेशनमा उनी केपी शर्मा ओलीसँग पराजित भएका थिए । २०६५ को आठौं महाधिवेशनमा ओलीसँगको अध्यक्षको प्रतिस्पर्धामा झलनाथ खनाललाई समर्थन गरे । त्यसपछि उनी वरिष्ठ नेताको रूपमा मनोनयन भएका थिए । हाल उनले त्यसबेला आफूले समर्थन गरेकाले यो दसौं महाधिवेशनमा साथ दिन आग्रह गरेका छन् । नेपालनिकट नेताले खनालले अध्यक्षका लागि नेपाललाई समर्थन गरेको दाबी गरे । महाधिवेशनले पारित गरेको विधानले खनालका लागि सम्मानित नेताको व्यवस्था गरेको छ ।

महासचिवका लागि उपमहासचिव गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी देखिएका छन्, । महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ ।केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २५०० संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गता) ७० जना र पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना चयन हुने निर्वाचन निर्देशिकमा उल्लेख छ । त्यस्तै भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने प्रावधनमा निर्देशिकामा उल्लेख छ ।

राजनीतिक दस्ताबेज पारित

नेकपा एकीकृत समाजवादीको महाधिवेशनले समाजवादी कार्यक्रमसहितको कार्यदिशा पारित गरेको छ । काठमाडौंमा जारी महाधिवेशनले तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई समाजवादी कार्यदिशालाई अभिन्न अंग बनाएर राजनीतिक दस्ताबेज पारित गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएर समाजवादी कार्यदिशा हुनुपर्ने दस्ताबेज हलले पारित गरेको हो ।

‘समूहगत छलफलबाट आएका निष्कर्षमा आधारमा राजनीतिक दस्ताबेजहरू पारित भएका छन्,’ उपाध्यक्ष बेदुराम भुसालले भने, ‘छलफलमा आएका उचित सुझाव समेट्ने निर्णय भएको छ ।’अध्यक्ष नेपालले सोमबार पार्टीको दसौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जबजले अघि सारेका सामन्तवादविरोधी राजनीतिक माग, नारा र मूल्यमान्यता संविधानमा संस्थागत भएकाले अबको बाटो समाजवादी हुने दस्ताबेजमा लेखेका छन् । वरिष्ठ नेता खनालले नेपाली विशेषतः समाजवादी कार्यक्रम पनि पारित दस्ताबेजमा समेटिएको छ । नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको सहमतिमा यो राजनीतिक प्रतिवेदन तयार भएको थियो ।

‘अहिले नेपाली क्रान्ति जनवादी चरण पार गरेर समाजवादी चरणमा प्रवेश गरेको हुँदा अब समाजवादी क्रान्तिको कार्यक्रम अंगालेर अगाडि बढ्नुपर्दछ,’ प्रतिवेदन भन्छ । जबजले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका माग व्यवहारमा भने लागू भई नसकेको प्रतिवेदनमा उल्लेख छ । ‘ती मागहरूलाई अब पार्टीले अगाडि सार्ने समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएर अझै उन्नत रूपमा प्रस्तुत गरी कार्यान्वयन गर्नुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : असार २०, २०८१ ०५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×