सहकारी प्रणालीमा देखा परेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज हो : महासचिव गुरुङ

असार २२, २०८१

कान्तिपुर संवाददाता

The problem in the cooperative system is a product of financial monopoly capitalism: General Secretary Gurung

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार गर्न जरुरी रहेको बताए । 

 महासचिव गुरुङले सानातिना सुधारले मात्रै सहकारी समस्या समाधान हुन नसक्ने बताए । उनले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए । 

उनले भने, ‘आज सहकारी प्रणालीमा देखापरेको समस्या, संकट वित्तीय एकाधिकार पुँजीवादको उपज हो । यसलाई रुपान्तरण र सुधार गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार नगर्ने हो भने यो क्षेत्रको सानातिना सुधारले मात्रै सुधार हुनसक्छ भन्ने सकिँदैन । यो सुधारका लागि के  जरुरी हुन्छ भने राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक छ । वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरुलाई उत्पादनमुखी बनाउनुपर्छ । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? यो प्रक्रियाबाट हामी जानुपर्छ । त्यसो गरे मात्रै सुधारको सम्भावना छ, होइन भने अहिलेकै परिस्थितिमा सुधार सम्भव हुँदैन ।’

महासचिव गुरुङले आर्थिक र सामाजिक प्रक्रियामा मौलिक रुपले रुपान्तरण गर्न आवश्यक रहेको बताए । 

कान्तिपुर

Link copied successfully