कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रहरीलाई विवश बनाउँदै शक्ति र सत्ता : कसले सुनिदेला सहकारीपीडितको व्यथा ?

बचत फिर्ता पाउने आशामा पीडितले प्रधानमन्त्रीदेखि हरेक दलका नेतालाई भेटेर ज्ञापनपत्र बुझाएका छन्, तर सत्ता र शक्तिको भक्तिमा लागेको प्रहरीले अनुसन्धान पूरै दबाएको छ, बरु यो बीचमा प्रधानमन्त्री नै सहभागी कार्यक्रमको हलबाहिर सहकारीपीडितमाथि उल्टै लाठी र बुटसमेत चलाएको छ
दीपक परियार

पोखरा — वैदेशिक रोजगारीबाट जोडेको कमाइ सूर्यदर्शन सहकारीमा फसेपछि पोखरा–१७ घारीपाटन बस्ने वीरबहादुर थापा मगर कहिले प्रहरीकहाँ धाए, कहिले प्रशासनमा । बचतपीडित संघर्ष समितिमा आबद्ध भएर सडकमा ओर्लिए । सहकारीका सञ्चालक समितिलाई भेट्न अन्य पीडितसँगै काठमाडौं गए । आन्दोलनमा हिँड्दाहिँड्दै रोगले च्याप्यो । २०८० पुसमा ६२ वर्षको उमेरमा उनको निधन भयो । 

प्रहरीलाई विवश बनाउँदै शक्ति र सत्ता : कसले सुनिदेला सहकारीपीडितको व्यथा ?

आन्दोलनको धपेडीले आफ्नो श्रीमान्ले ज्यान गुमाउनुपरेको भगवती थापा बताउँछिन् । ‘एक त पैसा फसेको चिन्ता थियो, फिर्ता पाइएला कि भनेर आन्दोलनमा पनि जानुभयो,’ उनले भनिन्, ‘सहकारीको पीरले मेरा श्रीमान्लाई लग्यो, अझै कतिको ज्यान खाने हो । कहाँ गएर न्याय पाइने हो ? कसलाई भनेर न्याय पाइने हो ? अझै कति ठाउँ धाउनुपर्ने हो ?’

२०७९ को सुरुदेखि समस्या आउन थालेको सूर्यदर्शनमा बचत फसेपछि पोखराको टुँडिखेल बस्ने विमला नेपाली अन्य बचतकर्तासँगै आन्दोलनमा होमिइन् । त्यही वर्ष फागुन २५ मा सहकारीपीडित पोखरा महानगरपालिका पुगेर पीडा सुनाए ।आफ्नो पालोमा विमलाले रुँदैरुँदै सबै कुरा कहिन् । मुटुरोगी १० वर्षीया छोरीको फलोअप गर्न नपाएको, बचत फस्दा श्रीमान्को यातना सहनु परेको व्यथा सुनाउँदा सुनाउँदै महानगरभित्रै ढलिन् । उनलाई तत्काल पोखराकै फिस्टेल अस्पताल पुर्‍याइयो । चिकित्सकले बढी तनावले त्यस्तो भएको बताए ।

आफ्ना पीडाको सुनुवाइ होस् भनेर सहकारीपीडितले गत जेठ २३ मा पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझन्डा देखाए । प्रहरीले धरपकड गर्दा ७५ वर्षीय भीमप्रसाद चपाइँ घाइते भए । आफ्नो बुढ्यौलीलाई जग्गा बेचेर राखेको २० लाख रुपैयाँ सूर्यदर्शनमा बचत गरेका उनी प्रधानमन्त्रीलाई गुनासो सुनाउन सराङकोटबाट पोखरा झरेका थिए । सहकारीपीडितको हरेक आन्दोलनमा पुग्ने पोखराकी अनुराधा श्रेष्ठ पनि प्रहरीको धरपकडबाट केहीबेर अचेत भइन् । उनीहरू दुवैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइयो । प्रहरीले अन्य ११ जना सहकारीपीडितलाई पक्राउ गर्‍यो ।

बचत फिर्ता पाउने आशामा सूर्यदर्शन सहकारीका पीडितहरूले सबैजसो नेता तथा अधिकारीसँग भेटिसकेका छन् । तर, व्यथा सुनाउँदा कहिले प्रहरीको लाठी र बुटको प्रहार व्यहोर्नुपरेको छ, कहिले न्यायालयको ढोकाबाटै प्रवेश पाएका छैनन् ।

फाइल तस्बिर

समस्या आउन थालेपछि २०७९ जेठदेखि सूर्यदर्शनले ठूलो रकमको चेक साट्न छाडेको थियो । असारदेखि ५–१० हजार पनि फिर्ता गर्न सकेन । असारको अन्तिममा काउन्टर नै बन्द भयो । सञ्चालक समितिका सदस्य सम्पर्कविहीन भए । पटक–पटकको प्रयासपछि कात्तिक २० मा सञ्चालक गितेन्द्रबाबु (जीबी) राई पोखरा आए । मंसिर १२ मा सहकारीको १५ औं साधारणसभा भयो । उनले रकम फिर्ता गर्न नसके संस्थाका नाममा भएको जग्गा दिने भन्दै बचतकर्तालाई थम्थम्याए । पुस–माघमा ५–१० हजार रुपैयाँ भएका बचतकर्ताको रकम फिर्ता गरे पनि पछि रोकियो । त्यसपछि उनीलगायत सञ्चालक समितिका पदाधिकारी नै सम्पर्कविहीन भए ।

आफ्नो बचत जोखिममा रहेको र सञ्चालक समितिले पटक–पटक झुक्याएको महसुस गरेपछि पीडित बचतकर्ता २०७९ को माघमा संगठित भए । कृष्ण जैसीको नेतृत्वमा संघर्ष समिति बनाए । संघर्ष समितिले पोखरा महानगरको सहकारी महाशाखा, अख्तियार, जिल्ला प्रशासन, प्रहरी, मुख्यमन्त्रीको कार्यालय, संसद् सचिवालय सबैतिर ध्यानाकर्षण पत्र बुझायो । केही उपाय लागेन । ‘राज्य संयन्त्र यति फितलो र कमजोर रहेछ कि सरकार छ भन्ने नै अनुभूति भएन,’ जैसीले भने, ‘हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा हुँदा पनि सरकारले केही गर्न सकेन ।’

बचतकर्ताको दबाबपछि चैत १० मा पोखरा महानगरको कार्यपालिका बैठकले जीबी राईसहित सञ्चालक समितिको सम्पत्ति, बैंक खाता र विदेश भ्रमण रोक्का गर्ने निर्णय गरेको थियो । समस्या सुल्झाउन पहल गरिदिन माग गर्दै २०८० जेठ १४ मा पीडितले एमाले, कांग्रेस, माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलाई ध्यानाकर्षणपत्र बुझाए । जेठ १९ मा एक सय १० जना बचतकर्ता काठमाडौं पुगे । कोषाध्यक्ष कुमार रम्तेलले पीडितलाई जग्गा दिने आश्वासन दिएर फर्काए । पीडितले सहकारीको ‘लोन सिट’ देखाउन आग्रह गरे पनि कोषाध्यक्षले उपलब्ध गराएनन् ।

पीडित बचतकर्ता जग्गा हेर्न चितवन, इटहरी, काठमाडौं र भैरहवासम्म पुगे । तर, जग्गाको मूल्य बढी राखेपछि सहमत हुन सकेनन् । रास्वपा सांसद तोसिमा कार्की पोखरा आएको बेला साउन २७ मा पीडितले ज्ञापनपत्र बुझाए । असार १२ मा सञ्चालक राई र कुमार रम्तेल पोखरा आए । राईले सहकारीलाई अगाडि बढाउने, बचतकर्ताको रकम क्रमिक रूपमा फिर्ता गर्ने सहमति गरेर काठमाडौं फर्किए । तर, महानगरको सहकारी महाशाखाले माग गरेको आवश्यक कागजात भने कोषाध्यक्ष रम्तेलले उपलब्ध गराएनन् । पोखराबाट फर्किएपछि फेरि सम्पर्कविहीन भएपछि पीडित जाहेरी दिएरै अगाडि बढ्ने निष्कर्षमा पुगेका थिए ।

गत वर्षको साउनमा कृष्ण जैसीसहित १ हजार ३५ बचतकर्ताले जाहेरी दिएपछि महानगर र प्रहरीले छानबिन समिति बनाएर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदन आएपछि प्रहरीले १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता गरेको छ । तीमध्ये हालसम्म उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेलसहित ५ जना मात्रै पक्राउ परेका छन् ।

उक्त प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको समेत नाम आएपछि पीडितहरू उनीसहित विभिन्न व्यक्ति र कम्पनी गरी ८० जनाविरुद्ध पूरक जाहेरी दिन माघ १६ मा प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै फर्काइदियो । पीडितले माघ २१ मा पुनः लामिछानेसहित ४ व्यक्ति र १४ कम्पनीविरुद्ध जाहेरी लिएर गए । त्यस दिन पनि प्रहरीले आनाकानी गर्‍यो । माघ २२ मा भने प्रहरीले जाहेरी बुझ्यो तर फरक दर्ता नम्बर दिए । सूर्यदर्शन ठगीकै मुद्दा अदालतमा चलिरहेकाले नयाँ जाहेरी नहुने र पुरानै जाहेरीको अंगका रूपमा रहने प्रहरीले बताएको थियो ।

पीडितले दोस्रोपल्ट बुझाएको उक्त निवदेनका आधारमा सूर्यदर्शनको पूरक छानबिन हुने भयो । पोखरा महानगर सहकारी समितिको विज्ञ टोली, प्रहरी र बचतकर्ताका प्रतिनिधि सम्मिलित समितिले पूरक छानबिन गरेर वैशाख २७ मा प्रहरीलाई प्रतिवेदन बुझायो । तर उक्त प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन ।

बचत फिर्ता पाउने आशामा पीडितले प्रधानमन्त्रीदेखि हरेक पार्टीको नेतालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले २०८० पुस ६ मा लामिछाने पोखरा आएको बेला ज्ञापनपत्र बुझाए । महानगरको प्रतिवेदनमा उनको पनि नाम रहेकाले स्पष्ट पार्नुपर्ने बताएका थिए । भोलिपल्टको कार्यक्रममा कालोझन्डा देखाउने तयारी गरेका पीडित बचतकर्तालाई पनि उनले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको र पीडितकै साथमा रहेको बताएर थम्थम्याएका थिए ।

माघ ९ मा कांग्रेस सभापति शेरबहादुर देउवा, माघ ११ मा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, चैत ४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल र चैत २३ मा एमाले अध्यक्ष केपी ओली पोखरा आएका बेला ज्ञापनपत्र बुझाए । चैत २७ मा गृहमन्त्री लामिछाने र सहकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई ज्ञापनपत्र दिए । कास्कीमा क्रियाशील ६ राजनीतिक दलले सहकारीपीडितको पक्षमा सडकमा प्रदर्शन गरे ।

सूर्यदर्शनपीडित प्रेम रेग्मी सहकारी ठगीविरुद्धका कुनै पनि आन्दोलन र प्रदर्शन छुटाउँदैनन् । प्रहरी कार्यालयमा धर्ना दिन होस् वा जिल्ला अदालतमा मुद्दाको पेसी भएको दिन होस्, उनी पुगेकै हुन्छन् । ‘आफ्नो व्यवसाय गर्ने कि आन्दोलनमा जाने भन्ने हुन्छ, तै पनि हिँडेकै छु,’ उनी भन्छन्, ‘कहाँकहाँ पुगियो, कसलाई कसलाई भेटियो तर अझै पनि बचत फिर्ता पाउने टुंगो छैन । उल्टै प्रशासनको लाठी र बुट खानुपर्छ ।’

बचत फसेपछि उनले भर्खरै एसईई सकेकी छोरीलाई नर्सिङ पढाउने आँट गर्न सकेका छैनन् । छोराको पहिलाको विद्यालयको शुल्क तिर्न नसकेपछि अर्कोमा सारेका छन् । ‘मन्दीको बेला छ, त्यहीमाथि बचत पनि फसेको छ,’ उनले भने, ‘यस्तो बेलामा सहकारीमा किन पैसा राखेको भनेर उल्टै लाञ्छना खेप्नुपर्छ ।’

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री रवि लामिछानेका विरुद्ध कहींकतै उजुरबाजुर नभएको पत्र बनाइदिएपछि त्यसविरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा चलिरहेको छ । गत असार ४ मा उक्त मुद्दामा भएको पेसीमा सहभागी हुन पोखराबाट गएका पीडित बचतकर्ता सर्वोच्च अदालत परिसरमा छिर्न पाएनन् । ‘सूर्यदर्शनका पीडित आए भने छिर्न नदिनु भनेर पहिले नै भनिएको रहेछ,’ संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘न्याय पाउने ठाउँको ढोका पीडितका लागि खुला हुनुपर्ने होइन र ?’

पोखरा–४ नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रुपैयाँ हिनामिना भएको छ । सहकारी ठगी मुद्दामा १९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा चलाएकोमा ५ जना मात्रै पक्राउ परेका छन् । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भवीश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।

प्रकाशित : असार १६, २०८१ ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×