सुन तस्करीको आरोपमा दीपेश पुनलाई उन्मुक्ति
काठमाडौँ — अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले उन्मुक्ति दिएको छ । सत्तारुढ माओवादी निकट अखिल (क्रान्तिकारी) का नेतासमेत रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामान्य सोधपुछसमेत नगरी उन्मुक्ति दिएको हो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले पनि दीपेशलाई अनुसन्धानको दायरामा ल्याउन राय दिएको थियो । यसअघि सीआईबीले दीपेशलाई संकास्पद पात्रका रूपमा राखेको थियो ।
सुन तस्करी प्रकरणमा सुरुको अनुसन्धान अपुरो भएको भन्दै सीआईबीले आरोपित दीपेशलाई दोस्रो चरणको अनुसन्धानमा सामान्य सोधपुछ नै नगरी उन्मुक्ति दिएको हो । ६१ केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा सीआईबीले २० जनालाई पक्राउ र २६ जनालाई फरार सूचीमा राखेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
त्यसको तीन दिनपछि सोमबार सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले पत्रकार सम्मेलन गरी तस्करीको जालोबारे जानकारी गराएका थिए । अनुसन्धानमा दीपेशलाई किन नल्याएको भन्ने प्रश्नमा ज्ञवालीले अपराधमा संलग्नता पुष्टि नभएपछि त्यसबारे केही गर्नु नपरेको जिकिर गरे । ‘प्रमाणले पुष्टि नभएपछि अनुसन्धानमा ल्याइरहन परेन,’ एआईजी ज्ञवालीले भने, ‘तथ्य र प्रमाणले पुष्टि गरेका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको छ ।’ त्यसो त, दिपेशलाई गतवर्षबाटै उन्मुक्ति दिन चलखेल भएको थियो । पक्राउ परेका केही आरोपितले नाम किटान गर्नुका साथै अनुसन्धानका क्रममा चिनियाँ तस्करसँग उठबससहितको हिमचिम तथा नाजायज लाभ लिएका तथ्यहरू बाहिरिएपछि उनलाई गतवर्ष सीआईबीले बोलाएर बयान कागज गराएको थियो ।
२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार भएर सिनामंगल सडकमा पुगेको सवारीसाधनबाट बरामद करीब ६१ केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरेको सीआईबी सुन तस्करीसँग जोडिएको राजनीतिक नेक्ससमा प्रवेश नै गरेन । राजनीतिक नेक्सस स्थापित गर्न सक्ने आधार देखिएका दीपेशविरुद्ध मुद्दा चलाउनु नपर्ने गरी सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
उनी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधका समेत एक पात्र हुन् । बाबु नन्दबहादुर उपराष्ट्रपति भएका बेला सुन तस्करी र शरणार्थी प्रकरणमा दीपेश सत्ता र शक्तिको आडमा विभिन्न कसुरमा जोडिएका थिए । गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत अपचलन गरेको प्रकरणमा हाल गृहमन्त्री रहेका रास्वपा सभापति एवं नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसँगै दीपेश पनि आरोपित हुन् । उनिविरुद्ध रूपन्देही जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा विचाराधीन छ । जीबी र रवि जोडिएका अरु सहकारीमा पनि दीपेश संदिग्ध व्यक्तिका रूपमा देखिए पनि त्यसमा थप अनुसन्धान हुन पाएकै छैन ।
सीआईबीले अनुसन्धान गर्दाका बखत दीपेशले आफूले प्रयोग गर्ने आइफोनसहितका मोबाइल लुकाएर सामान्य फोनकल गर्न मिल्ने मोबाइल मात्रै सीआईबीलाई दिएका थिए । फोनकलमा दीपेश र सुन तस्कर दावा छिरिङबीच निकट सम्बन्ध रहेको तथ्य स्थापित छ । हाल फरार रोल्पाकी अमला रोका र पुर्पक्षका लागि जेलमा रहेका दावासँगको सम्बन्धलाई दीपेशले गतवर्ष नै स्वीकार गरेका हुन् । दुवैको नेटवर्कमा रहेर धन्दा चलाएको आरोप लागेका दीपेशलाई भने रवि गृहमन्त्री बनेर आएपछि अघि बढेको दोस्रो चरणको अनुसन्धानबाटै उन्मुक्ति दिइएको हो ।
६१ केजी सुन तस्करी प्रकरणमा जोडिएका सहसचिव झलकराम अधिकारीलाई पनि सीआईबीले सोधपुछ नै नगरी उन्मुक्ति दिएको छ । अधिकारीले चिनियाँ गिरोहसँग मोबाइल च्याटमार्फत सुन तस्करी गर्ने गरी कोड भाषामा गरेका संवाद बाहिरिएका थिए । यस विषयमा अनुसन्धान गर्नुपर्ने भन्दै हालका गृहमन्त्री लामिछानेले सार्वजनिक अभिव्यक्ति दिएका थिए । संसद्मा पनि यसबारे उनी बोलेका थिए । तर, लामिछाने गृहमन्त्री भएकै बेला अधिकारीमाथि सीआईबीले कुनै अनुसन्धान नगरी उन्मुक्ति दिएको हो ।
थप ३१ क्विन्टल सुन तस्करी पुष्टि, २ खर्ब ६६ अर्ब ६७ करोड बिगो मागदाबी
चिनियाँ गिरोहले एक वर्षको अवधिमा थप ३१ क्विन्टल सुन तस्करी गरेको तथ्य अनुसन्धानबाट खुलेको छ । गतवर्ष सिनामंगल सडकबाट बरामद करिब ६१ केजी सुन तस्करी प्रकरणसम्बन्धी प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २९ जनाविरुद्ध ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी अभियोगमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो मागदाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।
ब्रेकशुमा लुकाएर ल्याइएको अवैध सुनबापत् हुन आउने रकमलाई बिगो कायम गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा २२, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप अनुसन्धान गर्ने गरी २०८० भदौ ३१ मा अदालतमा मुद्दा दायर भएको थियो । त्यस क्रममा पक्राउ परेका २५ जनामध्ये २४ जना हाल कारागारमा छन् । सीआईबीले गरेको अनुसन्धानमा २०७९ देखि २०८० असारसम्म गिरोहले थप ३ हजार १ सय ९४ केजी ६ सय ६८ ग्राम सुन विदेशबाट भित्र्याएको खुलेको हो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार सुनको बजारमूल्यअनुसार ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन सिफारिस गरिएको छ ।
तस्करी योजनाअनुसार गिरोहले ७ वटा विभिन्न डमी कम्पनी खडा गरी ५ वटा कम्पनीबाट पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन, ब्रेकशुलगायतका इलेक्ट्रोनिक वस्तुमा सुन लुकाएर ल्याउने गरेको खुलेको थियो । बोगटीका अनुसार भन्सार छली गरेर ल्याएको सुनको बजार मूल्यअन्तर्गतको ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ, अवैध क्रिप्टो कारोबार गरेको अभियोगमा १ खर्ब ४६ अर्ब ६८ करोड २८ लाख ७ हजार ८ सय ८६ रुपैयाँ, नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई रेमिट्यान्स कम्पनी खोली गैरकानुनी कारोबार गरेको अभियोगमा पेवेल र सजिलो पे कम्पनीका सञ्चालक/कर्मचारी विरुद्ध ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९ सय ८२ रुपैयाँ गरी कुल २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३ सय ८ रुपैयाँ बिगो मागदाबीसहित ५ वटा कसुर मुद्दा चलाउन सीआईबीले राय दिएको छ ।
पछिल्लो अनुसन्धानका क्रममा २ चिनियाँसहित नेपाली र भारतीय गरी २० जना पक्राउ परेका छन् । २६ जना अझै फरार छन् । सीआईबीका अनुसार भारत महाराष्ट्र घर भई काठमाडौं न्युरोडमा तस्करीको सुन रिफाइन गर्ने सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, महाराष्ट्रकै धीरज दिनेश भोइटे, भारत महाराष्ट्र घर भई ललितपुर पाटन बस्ने प्रशान्त गणेश बजबलकर, भारत गुजरातका बैजनाथ ब्रह्मादत्त गोयल, पर्साका सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका राजु खत्री, धादिङ सिद्धलेकका राजु थापा भन्ने प्रेमनाथ सेढाई, काभ्रे तेमाल–४ स्थायी घर भई काठमाडौं बस्ने थर्कमान लामा भन्ने कान्छा लामा पनि पक्राउ परेका छन् ।
यसैगरी चिनको सिचुआन घर भई बौद्धमा रेस्टुरा चलाउँदै आएका टासी शेर्पा भनिने गेङगा झाँसी, तिब्बती शरणार्थी परिचयपत्र बाहक सोनाम गुरुङ भनिने शेरव ग्याल्मो, चितवनका मुक्तिनाथ सुनचाँदी पसल सञ्चालक मनोजराज श्रेष्ठ, काभ्रे भुल्मुकाका रूपक भण्डारी, काभ्रे नवोबुद्धका पेवेल रेमिट नेपालका सञ्चालक भीमप्रसाद तिमल्सिना, पेवेलका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक प्रज्वल आचार्य, पेवेलकै लेखा प्रमुख प्रमुख सुरज शम्शेर राणा पनि पक्राउ परेका छन् ।
त्यस्तै, सजिलो पेमेन्टका सञ्चालकहरू फुनसुक डाग्पा अथुपछाङ खम्पा, सुशील जाकिबञ्जा प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, जेके मनि ट्रान्स्फरका सञ्चालक लालबहादुर कुँवर र बारा स्थायी ठेगाना भई पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुण कुमार यादव पनि सुन र अवैध क्रिप्टोसहितका कसुरमा पक्राउ परेका हुन् । उनीहरू सबैमाथी संगठित अपराध, भन्सार छलीसहितका चारवटा कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरी राय छ ।
प्रतिवादीका रूपमा मुद्दा चलाउन सिफारिस गरिएका सबैले कसुर स्वीकार गरेका छन् । यो सबै अपराधको मुख्य योजनाकार गतवर्ष नै सुन तस्करी अभियोगमा फरार चिनियाँ नागरिक दावाजिन वाङलाई नै मुख्य प्रतिवादी बनाएर अभियोजन गर्न सीआईबीले राय दिएको छ । सुन तस्करीबाट आर्जित रकम क्रिप्टोमार्फत कारोबार गर्ने गरेको र क्रिप्टो कारोबारले देशको अर्थतन्त्रलाई नै अप्ठेरो बनाउने भन्दै यो विषयमा थप गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने सीआईबीका एक अधिकारीले बताए ।
प्रकाशित : असार १८, २०८१ ०५:५७