कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जसपा नेपालको प्रथम महाधिवेशन : ‘परिवर्तन राजनीतिक शक्तिबाटै संकटमा’

अध्यक्ष उपेन्द्र यादवको प्रश्न- ‘१० प्रतिशत मुठ्ठीभर परिवारका कारण देश दरिद्रको दरिद्रनै छ । दुई तिहाई भन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ ?’
अजित तिवारी

जनकपुर — जनता समाजवादी पार्टी नेपालको महाधिवेशनमा परिवर्तनको पक्षमा रहेका राजनीतिक शक्तिबाटै ‘परिवर्तन’ संकटमा परेको अधिकांश वक्ताले औल्याएका छन् । संघीयता, लोकतन्त्र र गणतन्त्रका लागि लडेका शक्ति सत्तामा रहे पनि उनीहरुकै रुचीको विषय नभएको भन्दै राजनीतिक दलका नेताहरुले व्यक्तिगत मुद्दामा राजनीति हाबी भएको निर्क्यौलमा छन् ।

जसपा नेपालको प्रथम महाधिवेशन : ‘परिवर्तन राजनीतिक शक्तिबाटै संकटमा’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानताको अन्त्य नभए कुनै पनि सुधार र विकास हुन नसक्ने बताए। ‘१० प्रतिशत मुठ्ठीभर परिवारका कारण देश दरिद्रको दरिद्रनै छ । दुई तिहाई भन्दा बढी जनता पिछडिएका छन्, देशमा विकास कसरी हुन्छ ?’ यादवले भने, ‘पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वर भूमिसहितका अनेकन विकासका आधार हुँदा पनि विश्वमै दरिद्र देशको सूचीमा नेपाल पर्नु त्यसैको एक प्रष्ट प्रमाण हो ।’

राज्य र नेतृत्व सुध्रिए नेपालबाट कोही पनि बाहिर जानु नपर्ने, किसान र मजदुरहरुसँग भइरहेको ज्यादती र अन्याय अन्त्य भए देश र जनता पुनः आत्मनिर्भर बन्न सक्ने उनको तर्क थियो । आफुहरुको भूमिका अब विपक्षीको भएको भन्दै सडकदेखि सदनसम्म जनताको हक अधिकारका लागि अग्रसर रहने उनले बताए । उनले भारत, मलेसिया, स्पेनसहितका देशहरुबाट आएका समाजवादी नेता तथा चिन्तकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरे ।

यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल चुनौती बीच अगाडी बढिरहेको बताएका छन् । उनले विचार र मन मिलेकाले जसपा नेपाललाई एकैसाथ अगाडी बढ्न पनि आग्रह गरे । ‘जसपाका लागि अहिले परीक्षाको समय हो । उपेन्द्रजीले खुट्टा कमाउनु भएको छैन,’ जसपा नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘उपेन्द्रजी पार्टीभित्र र बाहिरका सबै चुनौतीको सामना गर्न भिड्नु भएको छ । संघ र प्रदेश सरकारमा हामी सँगै थियौं । समाजवादी मोर्चामा सँगै छौं ।’

अध्यक्ष नेपालले जसपा नेपालसँग विचार र मन मिलेकाले एकैसाथ अगाडी बढ्न निम्तोसमेत दिए । ‘हामी मिलेर अगाडी बढ्नुपर्छ । विचार र मन मिले एकैसाथ हिँड्न अरु कुरा बाधक हुँदैन,’ अध्यक्ष नेपालले भने,‘राजनीतिमा स्वार्थी, व्यक्तिबादी, डाह–रिस गर्ने प्रवृति बढेको छ । मैले के पाए भन्दा पनि मैले के दिए, त्यो चिन्तनबाट काम गर्नुपर्छ ।’

कांग्रेस उपसभापति धनराज गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कतैबाट कालो धाब्बा लगाउने कोशिष भए सह्य नहुने बताए । उनले दलहरु बीच नमिठो प्रतिस्पर्धा भइरहेकाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन दलहरु बीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने सुझाव दिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबलीकरण गर्नैपर्छ । दलहरु बीच सह–अस्तित्व हुनुपर्छ,’ कांग्रेस उपसभापति गुरुङले भने,‘तर, पदका लागि एउटा पार्टीले अर्को पार्टी फुटाइदिन्छ । स्थापित पार्टीलाई फुटाएर आफ्नो घर अग्लो बनाउने प्रवृत्ति देखिएको छ ।’

उनले चुनौतीका पहाड बीच जसपा नेपाल अगाडी बढिरहेको बताउँदै सत्ता टिकाउन दल टुक्र्याउनु राजनीतिका लागि दुर्भाग्य भएको बताए । राप्रपा नेपालका नेता बुद्धिमान तामाङले पार्टी टुटफुटबाट कमजोर नठानी पाठ सिक्दै अगाडी बढ्नुपर्ने बताए । ‘टुटफुटको सबैभन्दा बढी पीडा राप्रपाबाहेक कसलाई थाह होला,’ उनले भने,‘त्यसैले टुटफुटलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्छ । उपेन्द्रजीको राष्ट्रिय राजनीतिमा प्रभाव छ । उहाँ दह्रोगरी खुट्टा टेक्नुभएको छ ।’

यस्तै, महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले आफ्नो दल राजनीति परिवर्तनका सबै एजेन्डामा सहमत रहेको बताए । उनले संविधानमा देखिएका समस्या संविधानकै प्राबधान टेकेर सच्याउनुपर्ने बताए । ‘राजनीतिक नारामा मात्र रुम्लियौं । जनतालाई डेलेभरी दिएनौं भने समस्या हुन्छ,’ उनले भने,‘व्यक्ति र दललाई खुइल्याएर होइन, सिस्टमको खोटलाई पहिचान गर्दै सच्याउनुपर्छ ।’

उनले महाधिवेशनले जसपा नेपाललाई नयाँ उर्जा पाओस् भन्ने शुभकामना पनि दिए । एमालेका पोलिटब्यूरो सदस्य लिला श्रेष्ठले जसपा नेपाललाई प्रथम महाधिवेशनको सफलताको शुभकामना दिए । लोसपाका बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने संकेतहरु देखा परिरहेको भन्दै संघीयतालाई बलियो र अधिकारसम्पन्न बनाउन मधेशी जनता फेरि आन्दोलनमा होमिनुपर्ने बताए ।

‘समयसँगै संघीयता पक्षधरहरु कमजोर बनेको छ । यही मेसोमा काठमाडौंमा परिवर्तनका सबै एजेन्डालाई ध्वस्त पार्ने आवाज सुनिदैछ,’ लोसपाका नेता सोनलले भने,‘यो परिवर्तनकारी शक्तिका लागि संकटको घन्टी हो । बिडम्बना कस्तो छ भने संघीयताका वकालत गर्नेहरु नै सत्तामा छन्, तर, प्रदेशलाई कमजोर र कामविहीन बनाइएको छ । संघीयताको आन्दोलन अधुरो छ । यसलाई छिट्टै पूर्णता दिनुपर्छ ।’

जसपा नेपालको जनकपुरमा सोमबार अपरान्हदेखि सुरु भएको प्रथम महाधिवेशनको पार्टीका अध्यक्ष उपेन्द्र यादवले शुभारम्भ गरे । उद्घाटन सत्रमा शेर्पा, तामाङ, गुरुङ, मिथिला र भोजपुरी क्षेत्रका सांस्कृति नृत्य र गीतसमेत प्रस्तुत गरिएको थियो । महाधिवेशन स्थल जनकपुरको तिरुहुतिया गाँछीमा निर्माण गरिएको बिशाल पन्डालभित्र उकुसमुकुस गर्मीमा पनि देशभरबाट आएका जसपा नेपालका समर्थकहरु बसिरहेका थिए ।

महाधिवेशनमा शुभकामना राख्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जसपाकै आन्दोलनको जगमा देशमा संघीयता र समावेशीकरण आएको बताउँदै संघीयतालाई समाप्त पार्ने खेल भइरहेकाले सबै दल सजग हुनुपर्ने बताए । ‘तीन दिन अघिसम्म मधेश प्रदेशको मुख्यमन्त्री म नै थिए । गाडी र झन्डा हल्लाउनुवाहेक केही गर्न सकिएन,’ यादवले भने,‘संघीयताप्रति संघ सरकार कहिले साकारात्मक भएन । हुन्छ भन्ने तर केही नगर्ने संघको सोच देखियो ।’

महाधिवेशनमा करिब दुईहजार प्रतिनिधिको सहभागिता छ । जेठ २८–३० गतेसम्म चल्ने जसपा नेपालको महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । पार्टी अध्यक्षमा उपेन्द्र यादव निर्विकल्प देखिएका छन् । अरु पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन भने बुधबारका लागि तोकिएको छ ।

महाधिवेशनबाट अध्यक्षसहित २० पदाधिकारीको निर्वाचन हुनेछ । महाधिवेशनले एक अध्यक्ष, एक सह–अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष र २ सय १ जना केन्द्रीय सदस्य तथा कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमध्ये प्रादेशिक क्लस्टरका आधारमा व्यवस्था गरिएकोले सातै प्रदेशबाट एक/एक जना रहनेछन् ।

प्रकाशित : जेष्ठ २८, २०८१ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×