कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनबारे दलहरु सहमतिउन्मुख

कानूनमन्त्री गिरीले भने- 'भोलिबाट संसद्‌मा भएको अवरोध खुल्छ । बजेट पनि आउँछ । त्यसपछि प्रतिनिधिसभाको बैठक पनि सहज बातावरणमा चल्छ ।'

काठमाडौँ — सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नेबारे सत्ता पक्ष र विपक्षमा रहेका दलहरु सहमतिउन्मुख देखिएका छन् । 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनबारे दलहरु सहमतिउन्मुख

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बेलुका करिब तीन घण्टासम्म छलफलपछि सत्ता पक्ष र विपक्षका नेताहरु संसदीय छानबिन समिति गठनका विषयमा समान धारणा बनाउन सहमत देखिएका छन् । तर संसदीय समितिको कार्यादेश भने तयार भइसकेको छैन ।

बैठकपछि कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले छलफल सहमतिउन्मुख रहेको र भोलि बिहान कार्यदलको बैठक बसेर टु्ंगो लगाउने बताए ।

'आज प्रधानमन्त्रीज्यूसहित सत्ता पक्ष र विपक्षका नेताहरु बसेर करिब तीन घण्टासम्म निरन्तर छलफल गर्‍यौँ । करिब-करिब सहमति भएको अवस्था हो । तर कागजमा तयार भइसकेको छ । हामी भोलि ११ बजे कार्यदलको बेठक बसेर कार्यादेशको भाषा मिलाएर टुंगोमा पुर्‍याउँछौँ,' उनले भने, 'भोलि ११ बजे कार्यदलको बैठक बस्छ । त्यो बैठकले अन्तिम निर्णय लिनेछ ।'

उनले संसदीय समिति गठन गर्ने, त्यस्तो समितिको कार्यादेशमा संकटग्रस्त सहकारी र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने, तर व्यक्तिको नाम उल्लेख नगर्ने गरी छलफल भएको बताए । 'हामीले पहिल्यैदेखि व्यक्तिको नाम उल्लेख नगर्न भनेका हौँ । त्यसमा प्रतिपक्षको अडान थियो । तर अब सहमति गरेर जाऔँ भन्ने कुरामा उहाँहरु पनि सकारात्मक देखिनुभएको छ,' उनले भने ।

कानूनमन्त्री गिरीले मंगलबार ११ बजे बस्ने कार्यदलले संसदीय समितिबारे टुंगो लगाउने र त्यसपछि संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत भएर संसद् सुचारुरुपमा सञ्चालन हुने दाबी गरे । 'भोलिबाट संसद्‌मा भएको अवरोध खुल्छ । बजेट पनि आउँछ । त्यसपछि प्रतिनिधिसभाको बैठक पनि सहज बातावरणमा चल्छ,' उनले आश्वास्त पार्दै भने ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि बैठकमा लामो छलफलपछि सहमतिउन्मुख बातावरण तय भएको बताए । 'सहमति भइसकेको छैन । दलभित्र अझै आन्तरिक छलफल गर्नुपर्ने कुराहरु छन्,' उनले भने, 'तर सहमति गरेर जानुपर्छ भन्ने कुरा हो । भोलि ११ बजे कार्यदलको बैठक बसेर सबै विषय टुंगो लगाउने कुरा भएको छ ।'

कार्यदलको बैठकअघि कांग्रेसले मंगलबार बिहान १० बजे पार्टीको संसदीय दलमा छलफल गर्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×