कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेसले सरकारलाई बजेट ल्याउन रोक्न मिल्दैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ — नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको भन्दै कांग्रेसले सरकारलाई बजेट ल्याउन रोक्न नमिल्ने बताएका छन् ।

कांग्रेसले सरकारलाई बजेट ल्याउन रोक्न मिल्दैन : प्रमुख सचेतक बर्तौला

उनले सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई कांग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउन सहज बातावरण बनाउन सत्तापक्षले हरसम्भव प्रयास गरेको दाबी गरे ।

कांग्रेस मुलुकको सबैभन्दा ठूलो र जिम्मेवार दल भएका हिसावले पनि बजेट ल्याउनका लागि सरकारलाई अवरोध गर्न नमिल्ने उनको भनाइ छ । सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक बर्तौलाले भने, 'भोलि जेठको १५ हो । हामीले संविधान बनायौं । यो संविधान बनाउँदा नेपाली कांग्रेस स्वयम् बसेर राजनीतिक पार्टीहरुले यो संविधान बनाएका हौँ । सरकारले पर्सि बजेट ल्याउन मिल्दैन, भोलि नै बजेट ल्याउनुपर्छ । त्यसकारण यो संवैधानिक बाध्यतालाई कांग्रेसले बुझिदिनु पर्छ ।'

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद्‌मा निरन्तर अवरोध गर्दै आएको छ । त्यसबारे छानबिन समितिको कार्यादेश बनाउने विषयमा छलफल गर्न बनेको कार्यदलमा रहेका प्रमुख सचेतक बर्तौलाले सरकारले संसद्‌मा सहज बातावरण बनाएर बजेट ल्याउने सरकारको प्रयासमा कांग्रेसले कुनै लचकता नदेखाएको आरोप लगाए ।

'सहमति र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने ध्येयका साथ हामीले कार्यदलमा बसेर छलफल गरिरहेका छौँ । तर कांग्रेसका तर्फबाट त्यो इमान्दारिता देखिएन । कांग्रेस सहमतिका लागि तयार नै छैन,' उनले भने, 'सहमति बन्न लागेको परिस्थितिलाई बिगार्न कांग्रेसभित्रैबाट प्रयास हुन्छ । कांग्रेस एउटा मिल्दै नमिल्ने कुरालाई बटमलाइन बनाएर अगाडि बढेको छ । त्यहीकारण अहिलेसम्म सहमति बन्न सकेको छैन ।'

उनले कांग्रेसभित्रैको दुई पक्षका कारण समस्या भएको आरोप लगाए । 'एउटा कांग्रेसले संसदीय समितिहरुमा गृहमन्त्रीलाई बोलाएर छलफल चलाउँछ । अर्को कांग्रेसले संसद्‌को बैठकमा गएर वेल घेराउ गरेर मुर्दावादको नारा लगाउँछ । दुई वटा काँग्रेस छन्। एटटा सभापति कांग्रेस र अर्को महामन्त्री कांग्रेस । सभापति कांग्रेसहरु मिलौँ कि भन्ने भावबाट अगाडि बढन खोजेको देखिन्छ । तर महामन्त्री कांग्रेसहरु परिस्थिति मिल्छ कि भन्ने चिन्ता व्यक्त गरेर अभिव्यक्तिहरु गलत ढंगबाट दिने, पूर्वाग्रह प्रेरित, तथ्यहीन राजनीतिलाई द्वन्द्वतर्फ लैजानका लागि उद्यत गराउने गरी अस्थिरतातर्फ लैजानका लागि भुमिका खेलिरहनुभएको छ,' प्रमुख सचेतक बर्तौलाले भने, 'यो श्रृंखलाले कुनै निकास दिन्छ भन्ने लाग्दैन ।'

प्रकाशित : जेष्ठ १४, २०८१ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×