३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भारतका प्रधानन्यायाधीश पहिलोपटक नेपाल भ्रमणमा

घनश्याम खड्का

काठमाडौँ — भारतका पचासौँ प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचुड नेपाल भ्रमणमा आएका छन् । शुक्रबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका चन्द्रचुड नेपाल भ्रमण गर्ने पहिलो भारतीय बहालवाला प्रधानन्यायाधीश भएको सर्वोच्चले जनाएको छ ।

भारतका प्रधानन्यायाधीश पहिलोपटक नेपाल भ्रमणमा

नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा आएका चन्द्रचुडलाई सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई तथा सपना मल्ल प्रधानले विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

शनिबार दिउँसो सर्वोच्च अदालतको केन्द्रीय बाल न्याय समितिको आयोजनामा बाल न्यायको विधिशास्त्रमा मुख्य सम्भाषण दिनु अघि चन्द्रचुडलाई उपत्यकाका तिनै सहर घुमाउने सर्वोच्चको कार्यक्रम छ । त्यसअनुसार उनी शनिबार बिहान पशुपति गएका छन् । पशुपतिमा दर्शन गरेर पाटन, वसन्तपुर र भक्तपुरलगायतका प्राचिन सम्पदामा उनलाई घुमाइँदै छ । त्यसपछि बालन्यायबारे भारतको अभ्याससहित संसारको विधिशास्त्रसमेत समेटेर उनले मुख्य प्रवचन दिनेछन् ।

‘बालन्यायको विधिशास्त्रबारे उहाँको सम्भाषण सकिएपछि अपराह्न नेपालका प्रधान न्यायाधीशज्यूसँग भारतका प्रधानन्यायाधीशको भेटघाट हुनेछ,’ सर्वोच्चका एक अधिकारीले भने, ‘त्यसपछि अपराह्न सोल्टी होटलमा उहाँको सम्मानमा स्टेट ब्याङक्वेटको आयोजना गरिएको छ ।’ ब्याङक्वेटमा कानुनमन्त्री, महिला तथा बालबालिका मन्त्री, सर्वोच्चका न्यायाधीश र सर्वोच्चका उच्च अधिकारीहरु मात्रै सहभागी हुनेछन् ।

पत्नी कल्पना दास, भारतीय सर्वोच्च अदालतका रजिष्ट्रार राकेश कुमार र कोर्ट चेतन अरोराकासाथ नेपाल आएका चन्द्रचुड आइतबार अपराह्न भारत फर्कनु अघि मुक्तिनाथको दर्शन गरी अन्नपूर्ण बेसक्याम्प पुग्ने र फर्केर पोखरामा खानपिन गर्नेछन् ।

संसारभरका समकालीन प्रधानन्यायाधीश मध्ये बौद्धिक न्यायाधीशको छवि बनाएका चन्द्रचुड भारतमा उदार दृष्टिकोण राख्ने विरलै न्यायमूर्ति मध्येका एक हुन् । हावर्डबाट आरक्षणमा विद्यावारिधि गरेका उनी एक विद्धान र अध्ययनशील न्यायाधीशका रुपमा पनि चिनिन्छन् । जातभन्दा पनि आर्थिक रुपले पिछडिएका र प्रतिनिधित्व नभएकालाई प्रतिनिधित्व गराउन आरक्षणको आवश्यकता परेको हो भन्ने उनको फैसला भारतमा निकै लोकप्रिय भएको थियो ।

त्यस्तै केरलाको सब्रिमाला मन्दिरमा रजश्वला नभएका महिलालाई प्रवेश गर्न नदिने चलन संवैधानिक नैतिकताको विरुद्धमा भएको भन्दै पुरुषलाई मात्रै मन्दिरभित्र जान दिने नियम उनले खारेज गरेको फैसला पनि निकै चर्चित छ । यसमा संविधानमा लेखेका अक्षरभन्दा पनि त्यसको पछाडि अन्तरनिहित भावना के छ भनेर अदालतले हेर्नु पर्छ र त्यस नैतिक धरातलले प्राप्त गर्न खोजेको उद्देश्यलाई फैसलाको आधार बनाउनु पर्छ भन्ने उनको निकै लोकप्रिय सिद्धान्त छ । चन्द्रचुडको फैसलाले प्रतिपादन गरेको यो सिद्धान्तलाई दक्षिण एसियाली देशका अदालतले उधृत गर्दै आफ्नो फैसलामा यसबारे उल्लेख गर्न थालेका छन् ।

नेपालमा संविधान सभाको विघटनविरुद्धको फैसलामा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही सिद्धान्तको व्याख्यासमेत गरेका छन् भने चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य मनोनीत गर्ने दलहरुको निर्णयविरुद्ध परेको मुद्दामा आनन्दमोहन भट्टराईले यही नजिरको व्याख्या गरेका थिए ।

राम मन्दिरको मुद्दा सल्ट्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका चन्द्रचुडलाई भारतीय जनता पार्टी प्रति बढी ढल्किएको भनी आलोचना पनि गर्नेहरु छन् ।

भारतको पेनल कोडको दफा ३७० ले यौनिक अल्पसंख्यकविरुद्ध लगाएको वैवाहिक प्रतिबन्धलाई उनले खारेज गर्ने फैसला सुनाएका थिए । सर्वाधिक लामो समय प्रधानन्यायाधीश भएका यशवंत विष्णु चन्द्रचुडका छोरा धनञ्जय गत ९ नोभेम्बर २०२२ मा प्रधानन्यायाधीश भएका थिए ।

प्रकाशित : वैशाख २२, २०८१ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?