कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नेतृत्वमा महिला : आरक्षण मात्र होइन, गुणात्मक सुधारको खाँचो

कान्तिपुर पब्लिकेसन्स लिमिटेडको सहप्रकाशन नारी मासिकको निर्भीक नारीको चौथो संस्करण बिहीबार काठमाडौंमा सम्पन्न भएको छ, महिला आन्दोलनबाट प्राप्त हक–अधिकारमाथि बहस तथा महिला सशक्तीकरणबारेको मन्थनका लागि निर्भीक नारीको आयोजना हुँदै आएको छ

काठमाडौँ — संविधानको मर्मअनुरूप राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउन एवं नेतृत्व प्रदान गर्न सबैभन्दा पहिले क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । ‘निर्भीक नारी’ कार्यक्रमको पहिलो सत्र ‘नेतृत्वमा नारी : परम्परालाई भारी ?’ सत्रमा बोल्ने अधिकांश वक्ताले यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेतृत्वमा महिला : आरक्षण मात्र होइन, गुणात्मक सुधारको खाँचो

महिलालाई नेतृत्वमा ल्याउन र निर्भीकता प्रस्फुटित हुने सबैभन्दा उपयुक्त र प्रभावकारी माध्यम निर्वाचन नै भएकाले कानुनी छिद्रको अन्त्य गर्दै अवसर सिर्जना गर्नुपर्ने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘अब संघर्ष होइन, सुधारको कुरा गर्नुपर्छ,’ उनले भने, ‘अबको पुस्ताले संघर्ष शब्द डिलिट गरे हुन्थ्यो, गुणात्मक सुधारको पाटो मुख्य हो ।’

२०७९ को निर्वाचनबाट स्थानीय तहमा ४२ प्रतिशत, प्रदेशमा ३५ र संघीयमा ३४ प्रतिशत महिलाको प्रतिनिधित्व छ । निर्वाचनको दृष्टिकोणबाट हेर्दा सुधारोन्मुख महिला सहभागिता र नेतृत्व खराब किसिमको चिन्तन, व्यवहार, मूल्य–मान्यताका लागि मात्रै भारी हुने भएकाले नेतृत्व दिन अवसर दिनुपर्नेमा थपलियाको जोड थियो । ‘संविधान र कानुनले बाध्यकारी भनेर तोकेका पदमा तानतुन गरेर पुर्‍याइएको प्रतिशतले महिलाको नेतृत्व स्थापित हुन सक्दैन,’ उनको तर्क थियो, ‘देशमा कुल जनसंख्याभन्दा महिलाको संख्या चार लाखभन्दा बढी भए पनि मतदातामा महिलाको संख्या पुरुषको भन्दा कम छ ।’

महिला क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री बेलवासेले चुनौतीलाई चिर्दै परिवर्तन आफैंबाट सुरुवात गर्नुपर्ने बताइन् । १२ वर्ष महिला क्रिकेट टिमको नेतृत्व गरिरहँदा क्रिकेट खेलेर जीविका चल्ने स्थिति थिएन । ‘त्यतिबेला कति त यो क्षेत्रमा भविष्य छैन भन्ने सोचले पलायन पनि भए, आफैंले केही परिवर्तन ल्याउँछु भनेर लाग्नुको विकल्प थिएन,’ उनले भनिन्, ‘पहिला त म महिला हुँ भनेर सोच्दै नसोच्नुस्, म एक व्यक्ति हुँ र मेरो मिहिनेत र लगनशीलताले एउटा राम्रो प्लेटफर्म सिर्जना गर्न सक्छ भनेर सोच्नुपर्‍यो ।’ यसमा उनले आफ्नै उदाहरण दिइन् । उनले क्रिकेट खेल्दै गर्दा पुरुषको दबदबा धेरै थियो । उनका बुबा नभए पनि आमाको साथ पाइन् । आमाबाटै नेतृत्वको सीप विकास गरेको उनले बताइन् । यद्यपि खेलबाट अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउँदै गए पनि सरकारले त्यहीअनुसार खेलाडीमा गर्नुपर्ने लगानी नगरेको उनको गुनासो थियो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले नेतृत्व लैंगिकतासँग नभई व्यक्तिको क्षमता र सिद्धान्तमा भर पर्ने बताइन् । संविधानले नै स्थानीय तहको प्रमुख र उपप्रमुखको जिम्मेवारी, अधिकार छुट्याएको र महिलामा नेतृत्व क्षमता हुँदाहुँदै पनि कार्यकारी अधिकार भने मेयरलाई मात्रै प्रदान गरिएको उनले गुनासो गरिन् । ‘संविधानले अधिकार र जिम्मेवारी तोकेको छ । यद्यपि, मेयर र उपमेयर दुवै जनताले भोट दिएर नै निर्वाचित भएर आउने हो,’ उनले भनिन्, ‘उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु भनेको चुनौती पनि हो ।’

पछिल्लो समय चुनाव महँगो हुँदै गएको र महिलालाई पुरुषसँग स्वतन्त्र रूपले प्रतिस्पर्धा गर्न चुनौती थपिएको वाग्मती प्रदेशसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् । ‘आर्थिक रूपले महिलालाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती छ,’ उनले भनिन्, ‘यस कारणले गर्दा महिला–महिलाबीच प्रतिस्पर्धा गर्न आवश्यक छ ।’ महिलालाई नेतृत्वमा पुर्‍याउन आर्थिक सशक्तीकरण र उच्च शिक्षामा जोड दिनुपर्ने उनले बताइन् । ‘महिलालाई नेतृत्व तहमा पुर्‍याउने मुख्य पक्ष भनेकै आर्थिक र शिक्षा हो,’ उनले भनिन्, ‘यसो गर्न सक्यौं भने मात्रै धेरै महिला नेतृत्वमा आउन सक्छन् ।’ यस सत्रको सहजीकरण नारी मासिककी लक्ष्मी भण्डारीले गरेकी थिइन् ।

‘बच्चा करले होइन, रहरले जन्माऔं’

निर्भीक नारीको दोस्रो सत्र ‘मातृत्व मन्थन’ का अधिकांश वक्ताले महिलाले बच्चा आफ्नो रहरले भन्दा पनि अरूको कर र दबाबले जन्माउन बाध्य भएको बताएका छन् । इन्फर्टिलिटी स्पेसलिस्ट वात्सल्यकी डा. आकृति भारती, पुण्यजन फाउन्डेसनकी निर्देशक कुमुदिनी कोइराला, त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक एवं मानसिक रोग विशेषज्ञ डा. सगुन बल्लभ पन्त र कलाकार गौरी मल्लले यस सत्रको छलफलमा भाग लिएका थिए । बच्चा जन्माउने विषयमा नेपालमा गलत धारणा रहेको कलाकार गौरी मल्लले बताइन् । महिलाहरूले बच्चा अरूका लागि जन्माउन बाध्य भएको उनले सुनाइन् । ‘नारी स्वच्छाले आमा बन्न चाहेको छ छैन भन्ने कुरा महत्त्वपूर्ण हो, बच्चा अरूका लागि होइन, आफ्ना लागि जन्माउने हो,’ उनले भनिन्, ‘मानसिक र आर्थिक रूपमा बच्चा जन्माउन सक्छौं कि सक्दैनौं भनेर पनि थाहा हुनु जरुरी छ ।’

विवाहपश्चात् पारिवारिक र मानसिक रूपमा बच्चा जन्माउन महिलाले ज्यादै दबाब थेग्नुपर्ने अवस्था आएको पुण्यजन फाउन्डेसनकी निर्देशक कुमुदिनी कोइरालाले बताइन् । ‘बच्चा जन्माउन नसक्दा पुरुषले भन्दा पनि महिलाले बढी लाञ्छना भोग्नुपरेको छ,’ उनले भनिन्, ‘सामाजिक सोच र पितृसत्तात्मक सोचले यसमा महिलालाई नै दोषी देखाइरहेको छ ।’ उनले ३० वर्षअगाडि टेस्टट्युबबेबीबाट बच्चा जन्माएको अनुभव सुनाइन् । महिलालाई दबाबमा होइन, पारिवारिक सपोर्ट र सहयोगमा बच्चा जन्माउने वातावरण हुनुपर्ने उनको भनाइ थियो ।

महिलाले रहरले भन्दा पनि करले बच्चा जन्माउँदा मानसिक समस्या बढ्दै गइरहेको मानसिक रोग विशेषज्ञ डा. सगुनबल्लभ पन्तले बताए । ‘बच्चा जन्माउनु पितृसत्तात्मक सोचको उपज हो,’ उनले भने, ‘यसले महिलामा मानसिक समस्या बढ्दै गएको छ ।’ बच्चा नहुँदा परिवारमा उसका स्टाटस, श्रीमान्सँगको सम्बन्ध र भविष्यसँगको उसका अपेक्षासमेत परिवर्तन हुन थालेको उनले बताए । ‘महिलाहरू मानसिक र शारीरिक रूपमा बच्चा जन्माउन तयार नरही दबाबमा जन्माइरहेका छन्,’ उनले भने, ‘जसले गर्दा बच्चा भएका महिलाले चिकित्सकसम्म आइपुग्दा निराश, खिन्नता, दिक्क र आत्महत्या प्रयास गरिरहेका हुन्छन् ।’

बच्चा जन्माइसकेपछि १० जनामध्ये ७ जनामा पोस्टपार्टम ब्लुज हुने उनले जानकारी दिए । उनका अनुसार बच्चा पाएको दुई/तीन दिनपछि नै करिब ६० प्रतिशत आमामा निराशा, व्याकुलता, उदासीनताको अनुभव हुन थाल्छ । महिलाले गर्ने यो अनुभवलाई चिकित्सकीय भाषामा पोस्टपार्टम ब्लुज वा बेबी ब्लुज भनिन्छ । संसारमा १० जनामध्ये एक जनालाई पोस्टपार्टम डिप्रेसन हुने अध्ययनले देखाएको समेत उनले बताए । नेपालमा भएका स–साना अध्ययनले ३ जनामध्ये १ जनामा पोस्टपार्टम डिप्रेसन हुने गरेको उनको भनाइ थियो । नेपालमा १५ देखि ४५ वर्षको उमेरमा महिलाको मृत्यु हुनुको मुख्य कारण आत्महत्या भएको र पोस्टपार्टम डिप्रेसनको उपचार नगर्दा यो समस्या निम्तिएको उनले बताए ।

काठमाडौं जस्ता सहरमा भने अझै पनि महिलालाई बच्चा नजन्माउँदा उनीहरूलाई हेर्ने दृष्टिकोण नै फरक रहेको डा. आकृति भारतीले बताइन् । बच्चा नहुँदा पुरुषहरूले दोस्रो विवाह गरिदिने विभेद रहेको उनले बताइन् । स्वाभाविक ढंगले बच्चा नभएपछि महिलाले स्वस्थ बच्चा जन्माउन पछिल्लो समय कृत्रिम गर्भाधान गर्ने बढेको उनले जानकारी दिइन् । ‘कतिपय महिला करिअर, पढाइ, आर्थिक वा स्वास्थ्यका कारण बच्चा जन्माउन तयार हुँदैनन्,’ उनले भनिन्, ‘त्यस्ता महिलाका लागि एग फ्रिज गर्नु उपयुक्त हुन्छ ।’ महिलाले २० वर्षको उमेरमा एग फ्रिज गरेको छ भने उसले ४५ वर्षसम्म बच्चा जन्माउन सक्ने उनले बताइन् । यस सत्रको सहजीकरण सञ्चारकर्मी स्नेहा झाले गरेकी थिइन् ।

नेतृत्वमा महिला सहभागिता नगण्य

सूचना प्रविधि क्षेत्र फस्टाए पनि महिला सहभागिता न्यून रहेको निर्भीक नारीको तेस्रो सत्र ‘सूचना प्रविधिका सारथि’ छलफल कार्यक्रमका सहभागीले बताएका छन् । प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्तले बैंकिङ क्षेत्रमा ४५ प्रतिशत महिला सहभागिता रहे पनि समग्र प्रविधि क्षेत्रमा शून्य दशमलव ७ प्रतिशत मात्रै रहेको बताइन् । समग्र बैंकिङ क्षेत्रमा महिला सहभागिता ४५ प्रतिशत रहे पनि नेतृत्व तहमा भने औंलामा गन्न सकिने अवस्था रहेको उनले बताइन् ।

‘बैंकिङ क्षेत्रमा ५५ प्रतिशत पुरुष छन्, बैंकको शाखा तहमा ११ प्रतिशत मात्रै महिला छन्,’ उनले भनिन्, ‘कार्यकारीमा आउँदा औंलामा गन्न सकिन्छ ।’ आईटी विषय पढ्न १५ देखि २० लाख रुपैयाँ लगानी गर्नुपर्ने भएकाले पनि यसतर्फ महिलाको आकर्षण नबढेको उनले जनाइन् । बैंकिङ क्षेत्रमा लैगिक विभेद हुँदैन भन्ने सोच रहे पनि हरेक क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि उस्तै समस्या रहेको उनले बताइन् ।

सूचना प्रविधिको विश्व बजारमा नेपाली युवाहरूको संलग्नता फैलिँदै गएको शोधकर्ता डा. अमृता शर्माले बताइन् । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको प्रवर्द्धन र संरक्षणमा सरकारले समयसापेक्ष कानुन बनाई आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् । ‘हाम्रा ६६ हजार युवाचाहिँ स्वतन्त्र रूपमा सूचना प्रविधिको विश्व बजारमा काम गरिरहेका छन्,’ उनले भनिन्, ‘कामको कुरा जहिले पनि अर्थसँग जोडिएको हुन्छ, प्लस टु मात्रै पास गरेर इन्ट्री लेभलमा काम गर्नेले मात्रै औसतमा ५० हजार कमाइरहेका छन् ।’

कार्यक्रममा कोफाउन्डर एन्ड सीटीओ अफ एलोई ग्लोबलकी सोनिका मानन्धरले कुनै पनि नयाँ आइडिया अभ्यास गर्न डराउन नहुनेमा जोड दिइन् । ‘नयाँ आइडियामा अभ्यास गरिहाल्न डराउनु हुँदैन, अझ कसैले कपी गर्ला कि भनेर त झन् डराउनै हुँदैन,’ उनले भनिन्, ‘कसैले कपी गरिहाल्न सजिलो छ भने मान्नोस्– त्यो खास आइडिया थिएन ।’

पछिल्लो समय दैनिक प्रविधिको प्रयोग गरिरहेको भन्दै उनले ग्रामीण भेगका महिलालाई लक्षित गरी एप बनाइएको समेत जानकारी दिइन् । ‘प्रविधिले उहाँहरूलाई सहज बनाउनुपर्नेमा झन् गाह्रो बनाइरहेका कारण प्रविधि सबैको पहुँचमा हुनुपर्छ भनेर टेक्नोलोजीको विकास गरेका हौं । जुन हरेक महिला उद्यमीहरूले चलाउन सक्छन्,’ उनले भनिन्, ‘प्रविधि बनाउँदा प्रयोगकर्तामैत्री हुनुपर्छ ।’

एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर लेनाकेशरी कंसाकारले प्रविधिको क्षेत्रमा महिलाहरूलाई अवसरै अवसर रहेको बताइन् । पछिल्लो समय आईटीदेखि इन्जिनियरिङ कलेजहरूमा अध्ययन गर्न सहज र राम्रो आम्दानी भएकाले पनि सूचना प्रविधि क्षेत्रमा अवसर र भविष्य राम्रो रहेको उनको भनाइ छ । आईटी क्षेत्रमा महिला सहभागिता बढाउन नीतिगत व्यवस्थासँगै महिलाहरू आफैं पनि जागरुक हुनुपर्ने उनले जानकारी दिइन् ।

तेस्रो सत्रका मुख्य वक्ता अमेरिकी दूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट ई. विल्करसनले अर्थोपार्जनमा नेपाली महिलाको योगदान उदाहरणीय रहेको बताए । गएको ७७ वर्षमा अमेरिकाले नेपाल सरकार, नागरिक, निजी क्षेत्रहरूसँग सहकार्य गरेर नेपाली महिलाका लागि अवसर सिर्जना गरेको उनले बताए । ‘नेपाल सरकारसँगको सहकार्यमा हामीले १० लाखजति नेपाली महिलाको सशक्तीकरणमा काम गरिसकेका छौं,’ उनले भने, ‘नेपाली महिलाको शिक्षा, व्यापार, व्यवसाय, नेतृत्व क्षमता विकास र प्रविधि विकासमा हामीले सहकार्य गर्दै आएका छौं ।’ अर्थोपार्जनमा अगाडि रहेका नेपाली महिलाबाट अन्य देशका महिलाले पनि सिक्नुपर्ने ग्यारेटको भनाइ थियो । यस सत्रको सहजीकरण फिन्टेक अलायन्स नेपालका अध्यक्ष सञ्जीव सुब्बाले गरेका थिए ।

फेरिँदै छ सौन्दर्यको मापन

पछिल्लो समय सौन्दर्यको परिभाषा बदलिंदै गएको चौथो सत्र ‘सौन्दर्य मापन’ छलफल कार्यक्रमका अधिकांश वक्ताको थियो । कार्यक्रममा कलाकार तथा मोडल प्रशान्त ताम्राकार, मिस युनिभर्स नेपाल २०२३ की जेन दीपिका ग्यारेट, कलाकार दयाहाङ राई, समाजशास्त्री निर्मला ढकाल, मिस नेपाल अर्थ २०२२ की डा. सरिशा श्रेष्ठ सहभागी थिए ।

‘पछिल्लो समय सौन्दर्यको मापदण्डको परिभाषा फराकिलो हुँदै गएको छ,’ मोडल तथा कलाकार ताम्राकारले भने, ‘पहिला सौन्दर्यको स्ट्यान्डर्डभित्र परेमा सुन्दर हुन्थ्यो भन्ने आमबुझाइ थियो ।’ उनका अनुसार त्यसमा उचाइ, मोटाइ, वर्ण, शरीरको संरचनाको मापदण्ड थियो भने अहिले सुन्दरता भनेको मुस्कान, आँखा, शरीर र मनमा पनि हुने रहेछ । सुन्दरताले समाज, देश, संस्कृति र युवालाई पनि प्रतिनिधित्व गर्ने उनले बताए ।

समाजशास्त्री निर्मला ढकालले समाजको चित्त बुझाएर आफ्नो जीवन बाँच्ने कुरालाई सम्झौता गर्न नमिल्ने बताइन् । ‘सामाजिक संरचना र समाजले हेर्ने दृष्टिकोणभन्दा फरक व्यक्तित्व भएर बाँच्ने क्रममा असम्बन्धित कुरालाई बेवास्ता गर्न सक्नुपर्छ,’ उनले भनिन्, ‘ठाउँ र समयअनुसार सौन्दर्यको मापन पनि फेरिँदै गएको छ ।’ सामाजिक संरचना, हिमाली, पहाडी, तराई क्षेत्रअनुसार सौन्दर्यको मापन फरक भएको र आमपाठकले पढ्ने साझा किताब, कथा, उपन्यासले सिकाउने लजालु स्वभावलगायतको अनेक सौन्दर्यका मापन फेरिँदै गएको उनको भनाइ थियो ।

मिस युनिभर्स नेपाल २०२३’ जेन दीपिका ग्यारेट सौन्दर्य मापदण्डको गलत धारणा शिक्षाको माध्यमबाट हटाउन सकिने बताइन् । ‘हरेक व्यक्ति फरक छ, उनीहरू फरक देखिन्छन् । मलाई थाहा छैन, हाम्रो समाजमा सौन्दर्यको मापदण्ड कसरी रहन गयो, जहाँ कुनै मानिस निश्चित ढंगको देखिनुपर्छ । यो त विषाक्त धारणा हो, यस्तो सोचले नै मानिसहरू सर्जरी गर्छन् । आफूलाई परिवर्तन गर्न खोज्छन् ।’ आफूले सौन्दर्य मापदण्डमाथिको गलत बुझाइबारे सामाजिक सञ्जालमार्फत सन्देश दिइरहेको पनि ग्यारेटले बताइन् । ‘सामाजिक सञ्जालबाटै हर कोही जो फरक छन्, पृथक् देखिन्छन्,’ उनले भनिन्, ‘उनीहरू सुन्दर छन् र उनीहरूलाई स्विकार्नुपर्छ ।’

ब्युटी प्याजेन्टलाई सौन्दर्य मापनका रूपमा मात्र हेरिन नहुने मिस नेपाल अर्थ २०२२ की डा. सरिशा श्रेष्ठले बताइन् । ‘ब्युटी प्याजेन्ट सौन्दर्यमापन मात्र नभई धेरै कुरा सिक्ने अवसरका रूपमा हेर्नुपर्छ,’ उनले भनिन्, ‘ब्युटी प्याजेन्ट एउटा प्रतिस्पर्धा हो, जहाँ डान्स, म्युजिकदेखि हरेक कुराको प्रतिस्पर्धा हुन्छ, जसले गर्दा सहभागीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्छ ।’ कलाकार दयाहाङ राईले नेपाली फिल्म उद्योगका केही सिनियर प्रोड्युसरले आफूलाई अभिनयमा नआउन सुझाएको बताए ।

‘सुरु–सुरुमा तिमी अभिनयका लागि ठीक छैनौसमेत भने,’ उनले भने । पछिल्लो समय नेपाली फिल्म उद्योगमा ‘सुपरहिट’ बनिरहेका कलाकार दयाहाङले अहिले पनि कतिपयले त्यस्तै प्रश्न गर्ने गरेको बताए । ‘आफूलाई मन परेको कुरा गर्छु भनेर अगाडि बढेकाले म यहाँसम्म आइपुगेको हुँ,’ उनले भने, ‘मैले फिल्मी करिअर सुरु गर्दा फ्रेममा एक प्रकारको मान्छे चाहिन्छ है भन्ने सोच थियो ।’ भ्लगर लेक्स लिम्बूले यस सत्रको सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : चैत्र ३०, २०८० ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×