कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेस भन्छ– ‘माओवादीबाट धोका भयो’

मैले ओलीलाई भेट्दा प्रचण्डलाई शंका होला भन्ने लाग्थ्यो, तर प्रचण्ड भने ओलीलाई भेटिराख्ने रहेछन् : शेरबहादुर देउवा, कांग्रेस सभापति

काठमाडौँ — माओवादीले एकपक्षीय रूपमा गठबन्धन तोडेर धोका दिएको निष्कर्ष कांग्रेसले निकालेको छ । माओवादी र एमालेलगायतका दलबीच नयाँ समीकरण बनाउने औपचारिक निर्णय भएलगत्तै आफ्नै निवासमा बोलाएको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘माओवादीबाट आकस्मिक रूपमा धोका भएको’ बताएका हुन् । 

कांग्रेस भन्छ– ‘माओवादीबाट धोका भयो’

गठबन्धन तोड्नुका कारणका रूपमा माओवादीले उठाइरहेका तर्कहरू देखाउनका लागि मात्रै भएको निष्कर्षसमेत कांग्रेसले निकालेको छ । ‘गठबन्धन तोड्ने मनसायबाटै काम भइरहेका बेला जेजस्ता विषयहरू देखाएर कांग्रेससँग गठबन्धन तोडिएको माओवादीले भन्दै आएको छ, त्यो देखाउनका लागि मात्रै हो’ निवर्तमान अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशरण महतले भने, ‘मूल कुरा कम्युनिस्ट एकता र पाँचै वर्षसम्म प्रधानमन्त्री खाने लक्ष्य होला ।’

उनले नयाँ सत्ता समीकरणमा बाह्य शक्तिको समेत प्रभाव हुन सक्ने अनुमान गरे । ‘हामीले बाहिर भन्नका लागि पनि कुनै पनि निहुँ नदिऊ भनेर कोशी प्रकरणदेखि महासमिति बैठकसम्म लागेकै थियौं । यी कुराहरू गरे पनि नगरे पनि माओवादीको मानसिक रूपमा एमालेसँगको गठबन्धनमा जाने तयारी भइसकेको रहेछ । उहाँहरूले जे तर्क गरिरहनुभएको छ, त्यो देखाउनकै लागि हो’ महतले भने, ‘अब हामी प्रतिपक्षमा बस्छौं । तत्काल फेरि गठबन्धन फर्काउने वा त्यसका लागि लाग्ने कुरा हुन्न ।’

देउवाले माओवादीसँग भएका संवाद र गठबन्धनका विषयमा पदाधिकारी र पूर्वपदाधिकारीलाई जानकारी दिएका थिए । उनले प्रधानमन्त्रीको सहजताका लागि मन्त्रीहरू फेरबदल गर्नेदेखि राष्ट्रिय सभाको अध्यक्ष दिन खोज्दा पनि नमानेको बताए । बाँकी चार वर्ष नै गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको चाहनामा माओवादीबाट धोका भएको देउवाले बताएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग गठबन्धनका लागि प्रस्ताव राख्ने गरे पनि आफूले ‘प्रधानमन्त्रीलाई शंका हुने काम गर्न हुन्न’ भनेर नमानेको समेत देउवाले बैठकमा बताएका थिए । ‘मैले ओलीलाई भेट्दा प्रचण्डलाई शंका होला भन्ने लाग्थ्यो, तर प्रचण्ड भने ओलीलाई भेटिराख्ने रहेछन्’ देउवाको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । गठबन्धन भत्किएको र नयाँ सत्ता समीकरण बनेको विषयमा छलफल गर्न कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

प्रकाशित : फाल्गुन २२, २०८० ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×