कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ । आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि कानूनको व्यवस्थाबमोजिम खर्चको सीमा तोकेको हो । आयोगले तोकेअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरुले अधिकतम ३ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च गर्न पाउने छैनन् ।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) बमोजिम उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको बताए ।

उनका अनुसार उम्मेदवाहरुले मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षक अन्तर्गत गर्न पाउनेछन् ।

उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

त्यस्तै, निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी कानून बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित : पुस २९, २०८० १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×