२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४
साहारा चितवन सहकारीका बचतकर्ता बेसहारा

८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा

जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख लगानी, बिनाधितोको यो रकम फिर्ता भएन
सहकारीको बचत निजी कम्पनीमा लगानी गर्न नपाइने कानुन उल्लंघन, सञ्चालक फरार भएपछि ८ हजार सर्वसाधारण करिब एक वर्षदेखि संघर्षमा
गोर्खा मिडियामा १५ प्रतिशत सेयर लिएका तत्कालीन प्रबन्ध निर्देशक तथा आफ्नै क्षेत्रका सांसद लामिछानेलाई पटक–पटक भेटेको पीडितको भनाइ, पार्टीमा फाइल बुझाउँदा पनि उनी मौन 

चितवन, काठमाडौं — ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्ब मात्र होइन, साहारा चितवन बहुउद्देश्यीय सहकारीको करिब ८५ करोड हिनामिना गरेको भेटिएको छ । राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्क प्रालिले चितवनको सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ लिएको कागजातबाट खुलेको छ ।

८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा

तर, सर्वसाधारणको बिचल्ली बनाएर राई फरार छन् भने बचतकर्ताले आवाज उठाउँदा पनि लामिछाने मौन छन् जबकि यसका पीडित उनको निर्वाचन क्षेत्र चितवन–२ का मतदाता पनि हुन् ।

सडकमा मकै पोल्ने, ठेलागाडामा तरकारी बेच्ने, गाईभैंसी पालेर दूध बेच्ने तथा किराना र फेन्सी पसल चलाउने सर्वसाधारणले आपसी सहकार्यको उद्देश्यले संकलन गरेको रकममध्येबाट ११ करोड ७१ लाख रुपैयाँ नाफामूलक गोर्खा मिडिया नेटवर्कमा लगानी गरिएको थियो । जबकि सहकारी ऐन २०७४ को दफा ५० मा स्पष्ट भनिएको छ, ‘सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्नेछ ।’ त्यस्तै सहकारीले कुनै पनि नाफामूलक संस्थालाई सदस्य बनाउन र ऋण दिन नमिल्ने स्पष्ट व्यवस्था छ ।

सूर्यदर्शनले उजाडेकाको परिवारमा अन्न न औषधि

राईको नेतृत्वमा विभिन्न सहरमा खुलेका सहकारी अहिले धमाधम बन्द भएका छन् । उनकै नेतृत्वमा चितवनमा सञ्चालन हुँदै आएको यो सहकारीको ८४ करोड ९१ लाख १६ हजार ९ सय २२ रुपैयाँ हिनामिना भएपछि करिब आठ हजार बचतकर्ता अत्तालिएका छन् । चितवनको यो सहकारीबाट झन्डै १२ करोड ऋण लिने कम्पनीमा लामिछाने १५ प्रतिशतको साझेदार थिए । कान्तिपुरले प्राप्त गरेको गोर्खा मिडिया नेटवर्कको सेयर लगतअनुसार राईको स्वामित्वमा १० लाख २० हजार कित्ता (८५ प्रतिशत) र लामिछानेको स्वामित्वमा एक लाख ८० हजार कित्ता (१५ प्रतिशत) सेयर थियो ।

यही कम्पनीले चितवनको साहारा बचत तथा ऋण सहकारीबाट ११ करोड ७१ लाख लिएर हिनामिना गरेको पुष्टि हुने कागज पनि कान्तिपुरले प्राप्त गरेको छ । सर्वसाधारणको गुनासोपछि प्रहरीले संकलन गरेको दस्ताबेजमा सर्वसाधारणको बचतमाथि विभिन्न कम्पनीका नाममा सारेर ज्यादती गरेको देखिन्छ । लामिछानेले आफूहरूले ऋण लिएको भए धितो देखाउन चुनौती दिँदै आएका छन्, तर विडम्बना के छ भने सर्वसाधारणको पसिनाको बचत आफ्नो निजी कम्पनीमा लगानी गर्दा धितोसमेत नराखी गम्भीर वित्तीय अपराध गरेको देखिएको पीडितहरूको भनाइ छ ।

ग्यालेक्सी टीभीसँगको आबद्धता छोडेको भन्दै राजनीतिमा होमिएका लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्नो बचत रहेको सहकारी डुबेको र त्यसको रकम ग्यालेक्सी टेलिभिजनमा गएको देखिएपछि सर्वसाधारणले लामिछानेलाई भेटेरै पनि ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले यो विषयबाट तर्किने प्रयास गरेको पीडितहरूको भनाइ छ ।

बचतकर्ताहरूले उजुरी दिएपछि संस्थाका संस्थापक अध्यक्ष रहेका राईसहित ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर सरकारको यो कर्मकान्डी प्रक्रियाले न्याय मिल्नेमा पीडितहरू आश्वस्त छैनन् । गत चैत ४ मा साहारा सहकारीपीडित संघर्ष समिति गठन गरेका उनीहरू विभिन्न निकाय धाइरहेका छन् । २०५४ सालको वैशाखमा स्थापना भएको यो सहकारी समस्याग्रस्त भएपछि जीबी राईको नेतृत्वमा पुनर्गठन गरी सञ्चालनमा आएको हो । चितवनको नारायणगढ, टाँडी र पर्सामा कार्यालय राखेर सहकारीले बचत उठाउँदै आएको थियो ।

२०७६ असोजबाट यो सहकारीमा बचत सुरु गरेका सालिकराम दुवाडीको सेयर सदस्यताबापत रकम २५ हजार र बचतको १३ लाख रुपैयाँ बचत फसेको छ । अहिले संघर्ष समितिको संयोजक बनेका उनले आफ्नो समस्याबारे लामिछानेको ध्यानाकर्षण गराएको मात्र होइन, आफ्नो फाइल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमै बुझाएको बताए । ‘रविजी चितवनको सांसद र राष्ट्रिय पार्टीको केन्द्रीय सभापति पनि हो । त्यत्ति मात्रै हैन, जीबी राईको साझेदार पनि हो । समस्या समाधान होला भन्ने आशाले हामीले उहाँलाई दुई/तीन पटक भेटेर कुरा राखेका छौं,’ उनले भने ।

संघर्ष समितिका पदाधिकारीहरूले प्रदेश सहकारी मन्त्रालय हेटौंडामा अहिलेसम्म नौ पटक धाएको बताए । उनीहरूले मुख्यमन्त्रीलाई भेटेपछि प्रदेशको सहकारी महाशाखाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई चिठी लेखेर कारबाहीको सिफारिस गरेको थियो । महाशाखाले गत साउन २४ मा सीआईबीलाई लेखेको पत्रमा भनिएको छ, ‘सञ्चालकहरूले रकम फिर्ता नगरी मिलेमतो गरेर ठगी गरेको, विभिन्न निजी कम्पनीमा लगानी गरी अपचलन गरेको, खाईमासी सिध्याएको, संस्थालाई टाट पल्टिने अवस्थासम्म पुर्‍याएको हुँदा यथाशीघ्र अनुसन्धान गरी सहकारी कानुन र कसुरअनुसार कारबाही होस् ।’

चितवनस्थित बन्द रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. को कार्यालय ।

तर, सीआईबीले कारबाही प्रक्रिया सुरु नगरेपछि आफूहरू काठमाडौं धाउन थालेको दुवाडीले बताए । ‘सीआईबीले चितवन प्रहरी कार्यालयमा नै उजुरी गर्नु भनेपछि तत्काल उपलब्ध १ सय ३० पीडितको नाममा प्रहरीमा लिखित जाहेरी दिएको थियौं । गत असोजमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गराएको छ । जसमा संस्थापक जीबी र हालका अध्यक्ष सागर केसी, उपाध्यक्ष हेमन्त अधिकारीसहित ११ जनालाई पक्राउ गर्ने भनिएको छ ।’

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार उजुरी आउने क्रम जारी छ । ‘१३० जना उजुरीकर्ताहरूले दिएको रकमलाई आधार मान्दा पनि १५ करोड २१ लाख २६ हजार रुपैयाँ ठगी भयो भन्ने देखिन्छ । उजुरी थपिँदै छ । खास रकमको आकार झनै ठूलो छ ।’ गत वर्ष साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थामा पाँच करोड ३५ लाख सेयर पुँजी र ७९ करोड ५५ लाख ३२ बचत गरी कुल रकम ८४ करोड ९१ लाख थियो । तर, अहिले सञ्चालकहरू भागेकाले यो रकम जोखिममा परेको छ ।

ग्यालेक्सी टीभीका सञ्चालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्ब बचत

संयोजक दुवाडीले सञ्चालक र व्यवस्थापकहरू गत वर्षको हिउँदबाटै सम्पर्कमा नआएको र यो पुस लागेपछि कार्यालय पनि बन्द भएको बताए । भरतपुर महानगरपालिकाको सहकारी शाखाका प्रमुख रोजी केसीले संस्था बन्द भयो, हामी अन्यायमा पर्‍यौं भन्दै बचतकर्ताहरू आउन थालेको बताइन् । भनिन्, ‘तर, यो संस्था हाम्रो सम्पर्क र समन्वयमा नै नभएको पाइयो ।’

बहुउद्देश्य सहकारी संस्था समन्वय समिति चितवनका अध्यक्ष दिनेश चुके पनि यो सहकारीले आफूहरूसँग कहिल्यै सम्पर्क नगरेको बताए । तर यसरी महानगर र समन्वय समितिमा नरहेको र कानुनविपरीत सञ्चालन भएको सहकारीले काठमाडौंबाट सञ्चालन भएको ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको करिब १२ करोडसहित कुल ८५ करोड रुपैयाँको हिसाबकिताब कसरी हुने हो ? सर्वसाधारण बचतकर्तासँग अहिलेसम्म जिज्ञासा मात्रै छ ।

प्रकाशित : पुस १०, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?