कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सूर्यदर्शनले उजाडेकाको परिवारमा अन्न न औषधि

जम्मा गरेको रकम फिर्ता गर्न कहिले जिल्ला प्रशासन त कहिले जिल्ला प्रहरी कार्यालय धाउँदै सहकारीपीडित
दीपक परियार

पोखरा — फिर्केखोलाको तीरैतीर पोखराको चिसापानी पुगेपछि तीनतले घरको माथिल्लो तलामा टिनले छाएका दुई कोठा छन् । दाजुभाइलाई अंशबन्डा गर्दा भागमा परेको रकम सहकारीमा जम्मा गरेर सुरज केसीको परिवार भाडामा बसेको छ । उनी मुटुरोगी हुन् भने आमा मधुमेह र उच्च रक्तचापकी । भान्सामा भाडा रित्ता छन्, अर्को कोठामा औषधिका खाली बट्टा । 

सूर्यदर्शनले उजाडेकाको परिवारमा अन्न न औषधि

पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रकम हिनामिना हुँदा उनको घरमा यतिबेला न अन्न छ, न औषधि । केसीको ‘ओपन हार्ट सर्जरी’ गरेर ‘प्रोस्थेटिक मेटालिक भल्भ’ जोडेको १४ वर्ष भयो । कोठामा पुग्ने जोकोहीलाई उनी आफ्नो मुटुको टिक–टिक आवाज सुनाउँछन् । गाह्रो काम गर्न नसक्ने भएपछि औषधोपचार गरौंला, दुई छाक खाउँला भनेर जम्मा गरेको ६५ लाख रुपैयाँ सहकारीले हिनामिना गरेको सुनेपछि उनले अचेल सुर गुमाएका छन् ।

पोखरा महानगरपालिका–१८ लामागाउँमा जोडेको घरजग्गा गत वर्ष जेठमा बेचेर आमा मधुले आफ्ना दुई छोरा सुरज र विक्रमलाई भाग लगाइदिइन् । सुरजले ६५ लाख र विक्रमले ७० लाख रुपैयाँ सूर्यदर्शनमा जम्मा गरे । ब्याजबाट आउने पैसाले औषधिमुलो गरौंला भनेर उनले आफ्नो भागको ४ लाख रुपैयाँ पनि सूर्यदर्शनमै जम्मा गरिन् । साउन, भदौतिरबाट सहकारीमा समस्या आउन थाल्यो । न ब्याज जम्मा भयो, न चेक साटियो । सासू, श्रीमान्, एक छोरी र एक छोराको जिम्मा यतिबेला सुरजकी श्रीमती आशाको काँधमा छ । सहकारीबाट ब्याज आउन छाडेपछि उनले ऋणधन गरेर पोखरा–बागलुङ राजमार्ग छेउमा चिया पसल थापेकी छन् ।

मुटुरोगी श्रीमान् छँदै थिए, १० वर्षीया छोरी र ३ वर्षीय छोरा पनि बिरामी भएपछि पाँच दिन बन्द भएको पसल उनले सोमबार खोलिन् । ‘पसल गर्नुभन्दा पहिला २–४ लाख रुपैयाँ भए पनि देऊ न भनेर अनुनय गरें । केही गरेर खान्छु भनेर आफ्नै पैसा माग्न जाँदा पनि पाइएन,’ उनले भनिन्, ‘एक लाख रुपैयाँ ऋण गरें । पसलबाट कति नै कमाइ हुन्छ र ∕ त्यताको भाडा, यताको भाडा, खानुपर्‍यो, छोरीको फि तिर्नुपर्‍यो । पुग्दै पुग्दैन ।’

छरछिमेकले छोरालाई विद्यालय पठाउने बेला भएको सम्झाउँछन् । उनी छोरीकै विद्यालयको शुल्क खप्टिएर परीक्षाफल हेर्न नपाएको रनाहामा छिन् । पसल र कोठाको महिनौंदेखि खप्टिएको भाडा, हातमुख जोर्न परेको मुस्किल सम्झेर दिक्दार मान्छिन् । ‘सहकारी यस्तो हुँदै छ भन्दिएको भए अन्तै राख्न हुन्थ्यो । बाँच्ने आधार त हुन्थ्यो । यो पैसा आएन भने हाम्रो जिन्दगी नै बर्बाद छ । मैले के गरौं ? परिवार हेरौं कि कमाउन जाऔं ?,’ उनी लाचार सुनिइन् ।

दीर्घरोगकै कारण पोखरा इन्जिनियरिङ कलेजमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ चौथो समेस्टरमा पढ्दापढ्दै सुरजले बीचमै छाड्नुपरेको थियो । मुटुको शल्यक्रिया गरेयता उनले ३–४ थरी औषधि नियमित खानुपर्छ । बेला–बेला अचेत हुन्छन् । महिनामा २–३ पटक स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुपर्छ । बेलाबेला मनोचिकित्सकलाई देखाउनुपर्छ । साथमा पैसा नहुँदा औषधिसमेत उधारो खानुपरेको छ । सुरजका बुबा स्वयं सहकारी डिभिजन कार्यालय कास्कीका कर्मचारी थिए ।

बुबा बितेको ७ वर्ष भइसक्दा पनि उनले ‘जिन्दगीमा सहकारीमा पैसा लगेर नराखेस्’ भनेको वाक्य सुरजले झलझली सम्झन्छन् । ‘तर सहकारीका कर्मचारी आएर कन्भिन्स गराए । त्यही पैसाले खाउँला, औषधिमुलो गरौंला, बच्चाबच्ची पढाउँला भनेर सबै पैसा त्यहीं राखियो,’ उनी भन्छन्, ‘यस्तो होला भन्ने थाहा नै भएन । दुनियाँ लुट्ने यिनीहरूको नियत गतिलो रहेनछ । अहिले यस्तो मर्नु न बाँच्नु बनाएको छ । मेरो परिवारमा परेको दुःखका कारण सहकारीका संरक्षक जीबी राई र लेखा अधिकृत सृष्टि मानन्धर हुन् । तिनीहरूले मेरो जहाज डुबाए ।’

यस्तो अवस्था आउनुमा सूर्यदर्शन सहकारी जिम्मेवार रहेको आशाले बताइन् । सुरज कहिले मध्यरातमा ब्युँझिएर ‘सूर्यदर्शनको नाममा चिठी लेखेर मर्छु, छोराछोरी सम्हाल्नु’ भन्छन् । ‘आफैंलाई पीर छँदै छ । आफूलाई सम्हालेर पनि श्रीमान्लाई सम्हाल्नु परेको छ । २–४ दिन जसोतसो दुःख काटौं भन्छु,’ एक हातले छोरालाई काखमा समाएर अर्को हातले गह पुछ्दै आशाले भनिन्, ‘अब २–४ महिना पैसा आएन भने यो परिवारको हालत के हुन्छ भन्न सक्दिनँ । यस्तोसम्म हालत भइसक्यो ।’

सुरजका भाइ विक्रम सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिमा छन् । उनी सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न कहिले जिल्ला प्रशासन, कहिले जिल्ला प्रहरी कार्यालयमा हुने धर्नामा पुग्छन् । ‘म शारीरिक रूपमा स्वस्थ छु । काम गरेर खाउँला । जसोतसो जीवन चलाइएला । मेरो दाइ शारीरिक र मानसिक रूपमा पनि तन्दुरुस्त हुनुहुन्न । सबै कुराको चाप छ,’ उनले भने, ‘यस्तो परिवार कसरी पालिन्छ ? न्याय दिलाउन प्रशासनको गम्भीर ध्यानाकर्षण होस् ।’

ठूलो छोराको अवस्था देखेर आमा यसै बेचैन छिन् । आफैंलाई औषधि खान अब उनीसँग पैसा छैन । ‘घरमा रासन छैन, औषधि छैन । ठूलो छोराको हालत देखेर मै मरौंजस्तो भइसक्यो,’ उनले भनिन्, ‘एउटा आमा भएर त्योभन्दा ठूलो दुःख के हुन्छ ?’

सम्बन्धित समाचार

प्रकाशित : पुस १०, २०८० ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?