कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

जताततै भीरैभीर, अकालमै ज्यान जाने पीर [भिडियो रिपोर्ट]

कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षमा भीरबाट लडेर ८९ जनाको मृत्यु

कालीकोट, काभ्रे, सुर्खेत — घर नजिकैको छङ्गाछुर भीर देख्दा कालीकोटको पलाता–९ थिर्पुकी चिउरी बटालुलाई भक्कानो छुट्छ । नछुटोस् पनि किन ? घाँस काट्न गएका १२ वर्षीय छोरा विनोदको गत वर्ष मंसिर ८ मा यही भीरले ज्यान खायो । उक्त घटनापछि उनलाई भीर देख्यो कि छोराको यादले सताउँछ । 

जताततै भीरैभीर, अकालमै ज्यान जाने पीर [भिडियो रिपोर्ट]

भीरले दिने शोक भोग्ने कर्णालीवासीको संख्या ठूलो छ । घाँस काट्ने क्रममा वा आवतजावत गर्ने क्रममा भीरबाट खसेर मृत्यु हुने र अंगभंग हुने घटना यहाँ वर्षभरि दोहोरिरहन्छ । कर्णाली प्रदेश प्रहरीका कार्यालयका अनुसार यस प्रदेशमा मात्रै पछिल्लो तीन वर्षमा ८९ जनाको भीरबाट लडेर मृत्यु भइसकेको छ भने ६९ जना घाइते भएका छन् । ४ जना त बेपत्ता नै छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भीरबाट खसेर २८ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । आव २०७९/०८० मा मृत्यु हुनेहरूको संख्या बढेर ४३ पुग्यो भने ३७ जना घाइते भए । चालु आवको साढे पाँच महिनामै १८ जनाको मृत्यु भइसकेको छ भने १७ जना घाइते छन् । प्रहरीका अनुसार भीरबाट लडेर घाइते हुने, मृत्यु हुनेहरूमध्ये अधिकांश घाँस काट्ने वा घाँस काटेर फर्किने क्रममा भएका हुन् ।

गत वर्ष चैत १३ मा कालीकोटको नरहरिनाथ गाउँपालिका–४ खातीरुप्साकी ५२ वर्षीया दिलादेखि सहकारी स्थानीय गिठाबोट भीरमा घाँस काट्ने क्रममा रूख भाँचिएर खसिन् । घटनास्थलमै उनको ज्यान गयो । ‘भीरपाखा नगरे जीविका चल्दैन,’ उनका छोरा धनबहादुरले भने, ‘अत्यधिक रक्तस्राव भएर आमाको ज्यान गयो, घाँस काट्दाकाट्दै ज्यान गुमाउनुपर्ने हाम्रो नियति नै बनेको छ ।’

गत साउन १४ मा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बस्ने धनमाया खत्रीको पोखरापरी भीरमा घाँस काट्न गएका बेला माथिबाट आएको पहिरोमा परी ज्यान गयो । ‘घर वरिपरि जताततै भीर छ, गतिलो घाँस भीरमै पाइन्छ,’ उनका श्रीमान् मनबहादुर खत्रीले भने, ‘बस्तुभाउ पाल्नै पर्‍यो, घाँस काट्दा गाउँमै बर्सेनि २/३ जनाको ज्यान गइरहेकै छ ।’ अप्ठ्यारो भूगोलका कारण कर्णालीमा बर्सेनि अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्रै भीरको बाटोबाट हिँडडुल गर्दा, घाँस काट्दा, पशुचौपाया चराउन जाँदा लडेर २० जनाले अकालमै ज्यान गुमाएका छन् ।

३ वर्षको अवधिमा ५ जना प्रहरीको भीरबाट लडेर ज्यान गएको छ भने ३ जना घाइते र एक जना बेपत्ता छन् । ‘कर्णालीको भूगोल नै विकट छ, समतल ठाउँ कम भीर ज्यादा छ,’ समाजशास्त्री अमरबहादुर ओलीले भने, ‘भीरसँगै यहाँका बासिन्दाको जीविकोपार्जन पनि जोडिएको छ, यहाँ हुने अधिकांश भवितव्य पनि भीरसँगै जोडिएका छन् ।’

‘यहाँका भीरबाट बर्सेनि मान्छे मर्दा सरकारलाई केही असर पर्दैन,’ स्थानीय अगुवा पीताम्बर ढकालले भने, ‘अधिकारवादी पनि अरू ठूला कुरा गर्छन् तर कसैलाई दुखेको देखिएन, यहाँका सामुदायिक वनमा घाँसदाउरा गर्न रोक लगाइएपछिको परिणाम हो, उता वनमा घाँसदाउरा कुहिँदै गएको छ, यता घाँसकै लागि स्थानीयले ज्यान गुमाइरहेका छन् ।’

लडेर ज्यान गुमाउनेमा परम्परागत तरिकाले पशुपालन गर्ने किसान धेरै भएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१ का वडाध्यक्ष देवबहादुर घर्तीले बताए । उनको वडामा भीरबाट लडेर मात्रै एक वर्षमा ५ जनाले ज्यान गुमाएका छन् । ‘गाउँघरमा जीविकोपार्जनका लागि पशुपालन गर्नैपर्छ, पशुपालन गर्न घाँस चाहिने नै भयो,’ उनले भने, ‘घाँसका लागि भीरपहरा गर्नैपर्‍यो, त्यसले पनि गाउँघरमा मृत्युदर बढाइरहेको छ ।’ उनका अनुसार स्थानीयको रोकाजा, स्याला, घारीखेतलगायतका भीरबाट लडेर मृत्यु हुने गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले महिनामा १/२ जनाको मृत्यु भीरबाटै लडेर हुने गरेको बताए । ‘यो समस्या हल सचेतनामूलक अभियान पनि बेलाबेलामा चलाइरहेका छौं,’ उनले भने, ‘खेतबारीमै डालेघाँस रोप्ने र भीरपाखामा वृक्षरोपण गरी हराभरा बनाउन बर्सेनि बजेट विनियोजन गरिरहेका छौं ।’ माथि भीर तल खोला भएको भूगोलमा केही गरी चिप्लिए बाँच्ने आसै मार्नुपर्ने अवस्था रहेको उनले बताए ।

जिल्लामा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा भीरबाट लडेकाको उपचार सम्भव नहुने र हेलिकोप्टर चार्टर्डको विकल्प नभएको बताउँदै उनले बारेकोटमा मात्रै यो वर्ष १२ जनाको लडेर मृत्यु भएको गाउँपालिकाको तथ्यांक सुनाए । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै सल्यानमा १७ जनाको ज्यान गएको थियो भने २०७८/७९ मा कालीकोटमा ८ जनाको मृत्यु भएको थियो । यो अवधिमा ७ बालक र ३ बालिकाले पनि ज्यान गुमाएको कार्यालयले जनाएको छ ।

भीरबाट लडेर अपांगता जीवन बिताउनेको संख्या पनि कर्णाली क्षेत्रमा ठूलो छ । प्रदेश प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भीरबाट लडेर ३७ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएका छन् । त्यस्तै २०७८/७९ मा १५ जना घाइते भएका थिए । भीरबाट लडेर ४ वर्षअघि स्थानीय चाख्लेमेलाबाट भैंसी किनेर फर्कंदै गर्दा सानीभेरी गाउँपालिका–७ का ५४ वर्षीय भक्तबहादुर पुन सल्लेरी भीरबाट खसे ।

‘भैंसी डोर्‍याएर आउँदै थिएँ, एक्कासि भैंसी दौडियो, रोक्नै सकिएन, पछि भैंसीसँगै भीरबाट खसें,’ उनले भने, ‘४ घण्टापछि होस आयो, नेपालगन्ज र भारतको लखनउमा झन्डै ५ महिना उपचार भयो तर खुट्टा काटेरै फाल्नुपर्‍यो, अहिले अपांग जीवन बिताइरहेको छु ।’ उनले अपांगता भएपछि ७ जनाको परिवारको पालनपोषण गर्न समस्या भएको बताए । उनका अनुसार उपचारमा झन्डै ३ लाख रुपैयाँ खर्च भयो । उनी घाइते हुँदा उनका २४ वर्षीय जेठो छोरा अकवीर कक्षा १२ मा अध्ययन गर्दै थिए । आफूले काम गर्न नसक्ने भएपछि बीचैमा पढाइ छाडेर जीविकोपार्जनका लागि छोरालाई ३ वर्षदेखि मजदुरीका लागि भारत पठाउनुपरेको उनको गुनासो छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकाल विकट भूगोलले भरिएको कर्णालीमा भीरबाट खसेर मृत्यु हुने र अंगभंग हुने घटना नियमितजस्तो भइरहेको बताए । ‘एक त कर्णालीको कठिन भूगोल, त्यसमा पनि त्यही भूगोलसँग जोडिएको जीविकोपार्जनको बाध्यताले दैनिकजसो भीरबाट लड्ने घटना घटिरहेका छन्,’ उनले भने, ‘तर प्रहरी एक्लैको प्रयासले यी घटना रोक्न सकिँदैन, त्यसैले एकीकृत कार्ययोजना बनाई कार्यान्वयनमा लैजान जरुरी छ ।’

काभ्रेको बनेपास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा आउने कैंयन् बिरामीमध्ये घाँसदाउरा गर्ने क्रममा भीरबाट लडेर अंगभंग हुनेहरू पनि छन् । भीरबाट लड्ने घटनामा अधिकांशको मेरुदण्डमा चोट पुग्ने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर राजु ढकालले बताए । उनले यस्ता बिरामीहरूको समस्या जटिल भएकाले अस्पतालको सर्जरी मेडिसिनबाहेक पनि पुनःस्थापनाका लागि लामो समय लाग्ने गरेको बताए ।

उनले भने, जसको कम्मर र छातीमुनि चोट लागेको छ उहाँहरूलाई तीन महिनाजतिको उपचार चाहिन्छ । जसको गर्धनमा चोट लागेको छ र हातहरू चल्छ भने ४ देखि ५ महिना अस्पतालमा बस्नुपर्छ । यो एकदमै खर्चिलो छ । समय पनि एकदमै लाग्छ । परिवारका व्यक्तिहरू पनि अस्पतालमा आएर बस्नुपर्ने हुन्छ ।

प्रकाशित : मंसिर १६, २०८० ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×