कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोतीगाउँ हत्याकाण्ड : सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

नवराज विकसँग नाम जोडिएकी किशोरीलाई भने छाड्ने आदेश

काठमाडौं/सुर्खेत — रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ । उनीहरूबीच घटनामा मुछिएकी एक किशोरीलाई छाड्ने विषयमा भने मत मिलेको छ ।

सोतीगाउँ हत्याकाण्ड : सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

राय बाझिएको विषय निरूपणका लागि सुर्खेत उच्च अदालतकै अर्का न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ । दुई न्यायाधीशको राय बाझिएको विषय तेस्रो न्यायाधीशको राय नआउन्जेल कार्यान्वयन हुँदैन ।

रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । दुई नाबालकलाई यसअघि नै सुधारगृह पठाउन आदेश भएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध आरोपितहरू उच्च अदालत गएका थिए । आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । मृतक नवराज विकसँग नाम जोडिएकी किशोरीलाई थुनामा नभई साधारण तारेखमा छाड्ने विषयमा भने दुवै न्यायाधीशको मत मिलेको हो ।

के यो मूल मुद्दा हो ?

अहिले उच्च अदालत सुर्खेतमा पुगेको विषय मूल मुद्दा होइन । सामूहिक हत्याको आरोप लागेकाविरुद्धको मुद्दा रुकुम पश्चिमको जिल्ला अदालतमै विचाराधीन छ । उनीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भनी गरिएको आदेशविरुद्ध मात्रै आरोपितहरू उच्च अदालत पुगेका हुन् । अनि केही आरोपितलाई छाड्ने आदेशविरुद्ध सरकारी वकिलले पनि उच्च अदालत सुर्खेतमा निवेदन दिएको छ ।

यो मुद्दामा तेस्रो न्यायाधीशको समेत राय आएपछि आरोपितलाई थुनामै राख्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा रिहा गर्नेमध्ये एउटा आदेश हुनेछ । त्यो आदेशसमेत चित्त नबुझे सम्बद्ध पक्षले सर्वोच्च अदालतमा निवेदन दिन पाउनेछ । सर्वोच्चले समेत सुनुवाइ गरेपछि थुनछेकको आदेश अन्तिम भएर बस्छ । त्यसपछि जिल्ला अदालत रुकुममा विचाराधीन ज्यानमुद्दाको सुनुवाइ अघि बढ्छ । तर जिल्लामा विचाराधीन मुद्दा अघि बढाउन भने अहिलेको यो प्रक्रियाले कुनै असर गर्दैन ।

केमा राय बाझियो ?

सुर्खेत उच्च अदालतका रजिस्ट्रार माधवप्रसाद पौडेलका अनुसार राय बाझिएको विषयमा तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुनेछ । उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउनेछ । आइतबार मध्यरातमा मात्रै आदेश तयार भएकाले को/को व्यक्तिलाई छाड्ने/नछाड्ने हो भन्नेबारे आफूलाई सम्झना नभएको पौडेलले बताए । उनले भने, ‘बिहान कार्यालय खुलेपछि मात्रै मैले थप भन्न सक्छु ।’

रुकुम पश्चिमको जिल्ला अदालतले गत असारमा घटनामा जोडिएकी किशोरीकी आमालाई मात्रै एक लाख रुपैयाँ धरौटी मागेको थियो । तीन जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । साधारण तारेखमा छुट्ने आदेश गरिएकामा इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दीपेन्द्र चन्द थिए । वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत अरू सबैलाई थुनाको आदेश जारी भएको थियो । घटनामा संलग्न भएको आरोप लागेका पाँच जना फरार थिए ।

सम्बन्धित समाचार

रुकुम घटना : अनुसन्धानमा पीडितको अविश्‍वास

रुकुम हत्याकाण्ड : वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

रुकुम घटनामा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने आदेश कानुनसम्मत : सर्वोच्च

रुकुम घटना : वडाध्यक्षको हातमा लाठी र ढुंगा

रुकुमको सोतीगाउँ घटना : के छ आरोपपत्रमा ?

सोती घटनाका आरोपी ३४ जना विरुद्ध मुद्दा दायर

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते

रुकुम घटना : न्यायको बाटोमा राजनीतिक तगारो !

सुधारगृहमा नपठाई हिरासतमै

प्रकाशित : आश्विन २६, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?