रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते- समाचार - कान्तिपुर समाचार

रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते

पश्चिम रूकुम घटनाले देश तातेको छ । विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मी जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी पनि चलिरहेको छ । तर, छटपटाइरहेका घाइतेको उपचारमा कसैले ध्यान दिएको छैन ।
गोकर्ण गौतम, भीमबहादुर सिंह

जाजरकोट — सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्‍यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला टनटनी हुन्छ । तर, योभन्दा धेरै पीडा हुन्छ, जब पश्चिम रुकुमस्थित चौरजहारीको मिसन अस्पतालले उपचार खर्च असुल्न तारन्तार फोन गर्छ ।

गत जेठ १० गते भेरी नगरपालिका–५, रानागाँउका नवराज विक प्रेमिकालाई बिहे गर्न चौरजहारी नगरपालिका–८, सोती जाँदा सुदीप पनि साथै थिए । फर्कदा गाँउलेको बर्बर आक्रमणमा नवराजसहित ६ जना केटाहरुको ज्यान गयो । सुदीपसहित १३ जनाले बल्लतल्ल ज्यान जोगाए, एक जना सुरुमै फुत्कन सफल भए, बाँकीलाई मरणासन्न हुनेगरी पिटियो । गाउँलेले चिर्पट, हसिँया, ढुंगाले हान्दा–हान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो, त्यहाँ उनले सकसपूर्ण दुई रात बिताए । पूरा निको नभई घर फर्कनुपर्‍यो, २ हजार ८ सय ४० रुपैयाँ तिर्न बाँकी थियो । यता, ज्यानको दुखाइ कम भएको छैन, उता अस्पतालले ताकेता गरिरहन्छ । ‘पैसा छैन, न अहिले काम गर्न सकिन्छ, न काम पाइन्छ । कसरी तिर्ने, थाहा छैन,’ सुदीपले दुखेसो पोखे ।

पहिल्यैको उपचार खर्च त बुुझाउन नसकेका सुदीपसँग थप उपचार गर्न कसरी पैसा होस् ! टाउकोमा ढुंगा र चिर्पटले हानेकाले भित्र रगत जमेको डर छ उनलाई तर घटना भएको दुई साता हुँदा पनि उनको टाउकाको सिटी स्क्यान हुन सकेको छैन । शरीरका अन्य भागमा लागेको चोटको पनि भित्री जाँच भएको छैन । शुक्रबार रानागाउँस्थित उनको घर पुग्दा बडो चिन्तित मुद्रामा भेटिए । ‘सबै आउँछन्, के भयो भनेर सोधेको–सोध्यै गर्छन् तर उपचार गर्न कसैले वास्ता गर्दैनन्,’ सुदीपले नमिठो अनुभव सुनाए ।

सुदीप खड्का

पश्चिम रुकुमको नरसंहारले देश तातेको छ, विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मीहरु जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी हुन्छ । तर, सुदीपझैं घाइते भने उपचार नपाएर छटपटाइरहेका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालयले समेत घाइतेको उपचारमा ध्यान दिएको छैन । स्थानीय अगुवा बसुन्धरा विक भन्छिन्, ‘सबै मर्नेको पछाडि लागे, घाइतेहरुको बिजोग छ तर कसैलाई मतलब छैन ।’ जाजरकोट पुगेका अधिकारकर्मीले समेत घाइतेको समयमै उपचार गराउन कुनै पहल नचालेको उनको गुनासो छ । स्थानीय प्रतिनिधिले घाइतेको घर पुगेर सहानुभूतिसमेत प्रकट गरेका छैनन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ को घटनास्थल औलजिउला र भेरी नदी । तस्बिर : हरि गौतम

सुदीपको भन्दा थोरै माथि अर्का घाइते मदन शाहीको घर छ । काठमाडौंमा अध्ययन गरिरहेका मदन लकडाउन हुने भएपछि घर गएका थिए । उनी भर्खर १८ वर्ष पुग्दैछन्, उनको पनि टाउको र काँधमा ठूलो चोट छ । हात थररर कापिरहन्छन् । खुट्टा चलाउन सक्दैनन् । मुन्टो बांगिरहन्छ । उनका अनुसार दुई तीन जनाले टाउको समातेर ढुंगाले हानेका थिए, बाहिर घाउ त छँदैछ, भित्रसम्मै असर परेको अनुभूत हुन्छ उनलाई तर उनको पनि उपचार हुन सकेको छैन । उनलाई पनि मिसन अस्पतालले १५ सय तिर्न फोन गरिरहन्छ ।

‘छोरो बाँच्यो तर टाउकोको चोटले सधैं सताउने भयो । उपचार गर्न कसैले वास्ता गरेनन्,’ मदनकी आमा लक्ष्मी शाही सुक्सुकाउँदै भन्छिन्, ‘मर्ने मरेर गइहाले, बाँच्नेको पनि बिचल्ली हुने भयो ।’ काँध र खुट्टामा जडिबुटी ओखती बनाएर हालिरहेकी छन् । बाहिरबाट त घाउ सुक्दै गएको छ । भित्री चोट पहिल्याएर निको पार्न छोरालाई छिट्टै अस्पताल लैजान चाहिन्छन् । ‘तर, अस्पताल जान पैसा छैन,’ यसो भनिरहँदा उनका आँखा टिल्पिलाएका थिए ।

मदन शाही, साथमा आमा लक्ष्मी शाही

लक्ष्मीका अनुसार मदन निदाउनै सक्दैनन्, झक्सिरहन्छन्, सुतेको बेला पनि चिच्याएझैं गर्छन् । एक्कासि ४०–५० जनाले ढुंगाले हिर्काएको, रुँदै–कराउँदै, चिच्याउँदै भेरीमा फाल हालेको, भेरीको एउटा भंगालो तरिसक्दा पनि गाँउलेले लखेटी–लखेटी कुटेको आततायी क्षण बिर्सनै सकेका छैनन् । त्यसमाथि ६ जना साथी गुमाएको पीडा । ‘जतिबेला पनि हामीलाई खेदेर ढुंगा हानेको झल्को आउँछ, मुटु काँप्छ, निदाउनै सक्दिनँ । बल्लतल्ल निदायो भने फेरि त्यही घटनाले झस्काइहाल्छ,’ दबेको स्वरमा मदनले भने । भेरी तरेर जाजरकोट आइसकेपछि पनि उनलाई त्यहाँ पहिल्यै जम्मा भएको भीडले ढुंगा र लात्ती बर्साएको थियो ।

भर्खर १६ वर्ष पार गरेका गोविन्द सुनुवारको हालत अझ दयनीय छ । शुक्रबार भेट हुँदा उनी कुरा गर्न सक्ने स्थितीमासमेत थिएनन् । बल्लतल्ल बोले पनि बेसुरका कुरा गर्थे । कोही अगाडि पर्दा झस्किएझैं देखिन्थे । टाउको सधैं निहुरिएको हुन्थ्यो । हिँड्दा लरबरिन्थे । गोविन्दको टाउको र गर्दनमा गहिरो चोट लागेको छ । उनको व्यवहार र बोलीचालीमै असामान्य परिवर्तन आएको स्थानीयले बताए । उनलाई करिब डेढ घन्टा नियाल्दा मानसिक समस्याको छनक पाइन्थ्यो । अर्का घाइते लालबहादुर खड्काको पनि छाती र टाउकोमा चोट छ । बोल्नसमेत गाह्रो हुन्छ ।

रानागाउँकी स्थानीय अगुवा बसुन्धराका अनुसार प्राय: सबै घाइतेहरुलाई मानसिक तनावले सताइरहेको छ । झर्को मान्ने, डराउने, रिसाउने, एक्लै बस्ने, आत्तिने गर्छन् । उनीहरुलाई फेरि आफूमाथि हमला होला भन्ने भय छ । घाइते इन्द्रजंग शाह भन्छन्, ‘कतिबेला कहाँ हामीलाई फेरि हमला गर्छन् । घर बाहिर निस्कँदा पनि डर लाग्छ । हाम्रो सुरक्षा कसले गर्छ ?’ कहिल्यै नसुनेको/नदेखेको घटना आफैंले भोग्नु परेकाले त्यहाँबाट बाहिर निस्कनै नसकेको उनले बताए । घाइतेको आधारभूत स्वास्थ्य उपचारमै यतिबिघ्‍न बेवास्ता छ, मानसिक तनाव हटाउन परामर्श र सुरक्षाको बन्दोबस्त त कहिले होला †

गोविन्द सुनुवार

घाइतेहरु सबैको आर्थिक अवस्था नाजुक छ । कोही पढ्थे, त कोही ज्याला मजदुरी गर्थे । स्थायी आम्दानी कसैको छैन । सुदीपलाई त आमाबुबा, पत्नी र छोरीका लागि पनि खर्च जोहो गर्नुपर्ने बाध्यता छ । आफैले उपचार खर्च व्यर्होने सक्ने अवस्था छैन । कुनै संघसंस्था वा व्यक्तिबाट उपचारका लागि सहयोग नपाएको घाइतेहरुले बताए । यतिका दिन प्रशासनले बेवास्ता गर्‍यो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त घाइतेले उपचारको बिल बुझाए सरकारले फिर्ता दिने बताउँछन् । ‘घटनालगत्तै घाइतेलाई उपचार गरेर विल पेस गर्न पनि भनेका थियौं तर घाइतेहरुले गर्न सकेनन्,’ प्रजिअ बस्नेतले भने । घाइतेहरुको उपचार खर्च सरकारले ब्यहोर्ने उनको भनाइ छ ।

लालबहादुर खड्का

प्रजिअको यो भनाइले घाइतेहरुको चित्त दुखेको छ । घाइते सुदीप खड्का भन्छन्, ‘हामीसँग पैसा भए किन सरकारसँग गुहार्थ्यौं ? आफैं उपचार गरिहाल्थ्यौं नि ।’ मिसन अस्पतालको बिलसमेत नतिरेकाले घाइतेहरुलाई सरकारले उपचार गरिदेला भन्ने आशा छैन । त्यसमाथि समयमै उपचार नपाउँदा चोट निको नहोला भन्ने चिन्ता छँदैछ । भलै प्रजिअ बस्नेत घाइतेको उपचारमा कुनै कमी नहुने दाबी गर्छन । ‘मृतकको खोजी गर्नुपर्नेलगायत कारणले घाइतेको बेवास्ता भएजस्तो लागेको मात्र हो तर हामी उपचार गर्छौं,’ उनले भने ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उपचारमा ढिलाइ भएको स्वीकारे । मृतकको खोजी, पोस्टमार्टम र कानुनी प्रक्रियाले घाइतेतिर ध्यान दिन नसकेको उनको भनाइ छ । ‘पूरक जाहेरी दिने क्रम पनि लगभग पूरा भएको छ । अब हामी घाइतेको उपचार गरिहाल्छौं,’ मेयर घर्तीले भने । घाइतेका आफन्तले बारम्बार गुनासो गरेपछि शुक्रबार अर्कै कामका लागि जिल्ला समन्वय समिति पुगेका घाइतेहरुसँग उनले सामूहिक भेट गरेका थिए । सुरुमा घाइतेको जाजरकोट जिल्ला अस्पतालमा उपचार हुने उनले जानकारी दिए । भन्छन्, ‘कोभिड–१९ का कारण बाहिर जिल्ला लगिहाल्ने अवस्था छैन, त्यसैले यहीं उपचार गर्छौं । बरु औषधि नेपालगञ्जबाट मगाउँछौं ।’

सबै घाइतेको छाती र टाउकोमा चोट लागेको छ । तत्काल सिटी स्क्यान गर्नु आवश्यक छ । घाइते र आफन्तले यही बिन्ती गरिरहेका छन् तर जाजरकोटमा सिटी स्क्यानको सुविधा छैन । घटनाको दुई साता बित्दा पनि नगरपालिका र जिल्ला प्रशासनले जिल्लाबाहिर लगेर उपचार गर्ने इच्छाशक्ति देखाएको छैन । सल्यान र बाँकेका दुई घाइते उपचारबिनै आफ्नो घर फर्किसकेका छन् । यसको पनि प्रशासनलाई पत्तो छैन । सुदीपले भने, ‘बाँच्न त बाँचियो तर छाती र टाउकाको घाउले जीवनभर सताउला जस्तो छ ।’

प्रकाशित : जेष्ठ २५, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

सलह आइहाले विषादीको विकल्प छैन

सलह पोषणयुक्त किरा भएकाले पासोमा पारी पशु दाना बनाउन सकिन्छ
यसको सानो झुन्डले एक दिनमा २ हजार ५ सय मानिसले खाने आहारा बराबरको बाली नष्ट गर्छ
राजु चौधरी

काठमाडौँ — सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न गठित प्राविधिक समितिले यसको नियन्त्रण विषादी एक मात्र विकल्प रहेको भन्दै प्रतिवेदन तयार पारेको छ । अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह यहाँ पनि आउन सक्ने सम्भावना बढेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको थियो ।

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिक सम्मिलित समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा किरा नेपाल भित्रिए तत्काल नियन्त्रण गर्न विषादी नै प्रयोग गर्नुपर्ने उल्लेख छ । ‘मरुभूमिमा मात्र वंशवृद्धि गर्ने, अत्यन्त चलायमान र वयस्कको विखण्डित झुन्डका रूपमा नेपाल आउने सम्भावना भएकाले एकीकृत व्यवस्थापनको विधि सान्दर्भिक छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘सलहको झुन्ड नेपाल प्रवेश गरेको अवस्थामा तत्काल नियन्त्रणका लागि विषादीको प्रयोगबाहेक अन्य धेरै विकल्प छैनन् ।’

अध्ययनले सलह नियन्त्रणका लागि पाँच प्रकारका विषादी सिफारिस गरिएको छ । तिनमा मालाथियन ५० प्रतिशत ईसी, ल्याम्डा साइहेलोथ्रिन ५ प्रतिशत ईसी, क्लोरपाइरिफोस २० प्रतिशत ईसी, डल्टामेथ्रिन २.८ प्रतिशत ईसी र डेल्टामेथ्रिन ११ प्रतिशत ईसी हुन् । यी विषादीमध्ये कुनै एक उचित परिमाणमा छर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

वयस्क अवस्थामा एकाएक स्थानान्तरण गर्दै आउने भएकाले सलह नियन्त्रणको प्रभावकारी उपाय विषादी प्रयोग नै रहेको हुमागाईंले बताए । तत्काल असर गर्ने किसिमको विषादीे र छर्कंदा स्प्रेयरबाट मिहिन थोपा प्रवाह गर्न सक्ने एटोमाइजरको प्रयोग यसका लागि प्रभावकारी उनको सुझाव छ ।

‘सलहमा विषादी पचाउन सक्ने क्षमता विकास भएको छैन । यसको नियन्त्रणका लागि एकै पटक धेरै क्षेत्रफलमा विषादी प्रयोग गर्नुपर्ने भएकाले पानी मिसाउन नपर्ने ‘अल्ट्रा लो भोल्युम’ संविन्यासको विषादी प्रयोग गर्ने गरिन्छ,’ उनले भने, ‘यो संविन्यासको प्रयोग गर्दा एक हेक्टर (२० रोपनी) क्षेत्रफलमा ०.५ लिटरदेखि ५ लिटर विषादी आवश्यक पर्छ । यसका लागि एटोमाइजर जडित विशेष किसिमको नोजल भएको स्प्रेयर प्रयोग गर्नुपर्दछ ।’ किरा नियन्त्रणका लागि व्यापक विषादी प्रयोग गर्नुपर्ने भएकाले बालबालिका र पशुबस्तुलगायतको सुरक्षणका लागि विशेष सावधानी अपनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । विषादी छर्दा सुरक्षित पहिरनसँगै विषादीको सूचकपत्रमा भएका निर्देशन अनिवार्य पालना गर्नुपर्ने पनि बताइएको छ ।

अध्ययनअनुसार सलह धेरै पोषणयुक्त किरा हो । यसलाई जालोको पासोमा संकलन गरी दाना बनाउन प्रयोग पनि गर्न सकिने अध्ययनमा भनिएको छ । सलह आउँदै गरेको अवस्थामा आवाज, धूवाँ आदिको प्रयोगबाट बस्न बाधा पुर्‍याई झुन्डलाई अन्यत्रै मोडिदिन पनि सुझाइएको छ । नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिने र प्लास्टिक घरभित्रका बालीलाई किरा छेक्ने जालीले बेर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ ।

समितिले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ । अध्ययन प्रतिवेदन प्रदेश र स्थानीय तहमा पठाउने तयारी भएको छ । हरेक वर्ष नयाँनयाँ किरा आएकाले साधनस्रोतसहित छुट्टै निकाय गठन हुन आवश्यक रहेको हुमागाईंले बताए । त्यसका लागि केन्द्र, प्रदेश र स्थानीय निकायको पनि भूमिका रहने उनको भनाइ छ । ‘तथ्यगत पूर्वानुमानका आधारमा यसको नियन्त्रणको तयारी गर्नुपर्ने भएकाले पूर्वानुमान गर्ने क्षमताको विकास गर्न र नियन्त्रणका पूर्वाधारहरूको विकास गर्न पनि जरुरी देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

नेपालमा मनसुन सुरु भएकाले सलह भित्रिने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ । उक्त किरा हाल भारतको राजस्थानमा प्रवेश गरेको छ । अम्फान आँधीपछिको पश्चिमी वायुको सहारामा मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै अगाडि बढिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘राजस्थानमा जुलाईसम्म पटकपटक नयाँ झुन्ड आइरहने र यसबाट भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिएको छ,’ हुमागाईंले भने, ‘तर मनसुनसँगै पूर्वबाट पश्चिमतर्फ बहने मनसुनी हावाले गर्दा यी झुन्ड पुन: राजस्थानतर्फ मोडिने आकलन गरिएको छ ।’

नेपालमा यसअघि १९६२ मा सलह देखिएको थियो । काठमाडौं, भक्तपुर, काभ्रेको पनौती, धादिङ, भक्तपुरलगायत आसपासमा देखिएको थियो । ‘नेपालमा सलहका लागि उपयुक्त वातावरण नभएकाले त्यसले वंशवृद्धि गर्न सक्दैन,’ उनले भने, ‘तर नेपालमा देखिएको एकल प्रवृत्तिको सलहले सामान्य फट्यांग्रा जस्तै वंशवृद्धि गर्न सक्छ ।’

के हो सलह ?

सलह मरुभूमिमा पाइने फट्यांग्राको एक प्रजाति हो । एकल र झुन्डमा रहने प्रवृत्तिअनुसार यसको रङ फरकफरक हुन्छ । सलहका झुन्ड दिनको समयमा हावाको बहावसँगै प्रतिदिन १ सय ५० किलोमिटर टाढासम्म उड्न सक्छ । सूर्यास्त हुँदा सलहले रूख–बिरुवालगायत स्थानमा आश्रय लिन्छन् । सूर्योदयपछि १–२ घण्टा घाम तापेर त्यसपछि सक्रिय भई नजिकैको आहारा (कुनै पनि हरियो वस्तु) खान्छन् । त्यसपछि मात्र पुन: लामो उडानमा लाग्ने बताइएको छ ।

किरा समूहमा पर्ने यो जीवले कृषि बालीमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु‍र्‍याउँछ । दिनमा एउटा किराले आफ्नो औसत शरीरको तौल बराबरको करिब २ ग्राम खान्छ । औसतमा सलहको एउटा सानो झुन्ड (एक टन बराबरको) ले एक दिनमा बढीमा १० हात्ती वा २ हजार ५ सय मानिसले खाने आहारा बराबरको वनस्पति नष्ट गर्छ ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×