कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

सोती घटनाका आरोपी ३४ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ/जाजरकोट — रुकुम पश्चिमको सोतीगाउँमा तीन साताअघि ६ जनाको मृत्यु हुने गरी भएको सामूहिक हत्यालाई लिएर ३४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न भएको आरोपपत्रमा उल्लेख छ ।

सोती घटनाका आरोपी ३४ जना विरुद्ध मुद्दा दायर

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा आइतबार तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता गरेको हो ।

रुकुम पश्चिमको सरकारी वकिल कार्यालय प्रमुख केशव चपाईंले तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता भएको बताए । ‘घटनामा ३४ जना संलग्न रहेको अनुसन्धानबाट खुल्यो, ५ जना फरार छन्,’ चपाईंले कान्तिपुरसँग भने, ‘तीमध्ये ३१ जना प्रत्यक्ष संलग्न भएको खुल्यो, बाँकी ३ जनालाई घटनाको षड्यन्त्रमा सामेल भएको अभियोग लगाइएको छ ।’ घटनापछि किटानी जाहेरीका आधारमा २० जना पक्राउ परेका थिए । अनुसन्धानका क्रममा थप ९ जना पक्राउ परेका थिए । एक जनाबाहेक मुद्दा लागेका सबै चौरजहारी नगरपलिका–८ सोतीगाउँका हुन् ।

नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीसहित उनकी आमा र नाताले ठूलोबुबा पर्ने इन्द्रबहादुर मल्ललाई घटनाको षड्यन्त्रमा सामेल भएको अभियोग लगाइएको छ । इन्द्रबहादुर भने जाजरकोटाको खलंगामा बस्छन् । ती किशोरी र अर्का एक व्यक्तिमाथि ‘उमेर नपुगेका’ कारण बालबालिकासम्बन्धी ऐनबमोजिम कारबाहीको माग आरोपपत्रमा छ । अभियोग पुष्टि भएमा बालबालिका ऐनअनुसार कुल सजायको बढीमा ७५ प्रतिशत हिस्सासम्म कसुर हुन सक्ने चपाईंको भनाइ छ ।

आरोपपत्रमा छुट्टाछुट्टै कसुरमा छुट्टाछुट्टै सजायको मागदाबी छ । क्रूरतापूर्वक हत्या गरेको आरोपमा सबैभन्दा बढी जन्मकैदको मागदाबी गरिएको छ । दुई नाबालकको हकमा भने यो दाबी लिइएको छैन । घटनाले क्षति भइसकेको हुनाले षड्यन्त्रमा सामेल भएको आरोप खेपेकाहरुको हकमा पनि संलग्न सरह नै सजायको माग गरिएको चपाईंले बताए ।

६ जना आरोपितमाथि क्रूरतापूर्वक ज्यान मारेको अभियोग लगाइएको छ । अरू घाइतेहरुको हकमा आरोपितलाई ‘ज्यान मार्ने प्रयास गरेको’ आरोप पनि छ । ‘घटनाको जड भनेकै जातीय भेदभाव र छुवाछूत हो भन्ने अनुसन्धानबाट खुलेको छ,’ महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले कान्तिपुरसँग भने, ‘त्यसैले जातीय छुवाछूत र भेदभाव गरेको अभियोग पनि उनीहरूमाथि छ ।’ आइतबार अबेर आरोपपत्र दर्ता भएकाले सोमबारदेखि नाबालकहरुको हकमा बयान र थुनेछक बहस हुने जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

अभियोगपत्र अनुसार आरोपितहरुलाई मुलुकी अपराध संहिताको दफा १७७ अनुसार ज्यान मार्ने काम गरेकाले जन्मकैदको मागदाबी गरिएको छ । त्यसमा सरकारी वकिलको कार्यालयले क्रूरतापूर्वक हत्या गरेको आरोपसमेत समावेश गरेको छ भने अपहरण गरी वा शरीर बन्धकमा लिई हत्या गरेको आरोप पनि एकसाथ छ । क्रूरतापूर्वक हत्या र अपहरण वा शरीर बन्धक बनाई हत्या गरेको अभियोगमा जन्मकैदको सजाय हुने प्रावधान छ । बाँकी घाइतेहरुका हकमा ज्यान मार्ने प्रयास गरेको अर्को अभियोग र जातीय भेदभाव तथा छुवाछूतको अभियोगसमेत छ । सबै आरोप पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुर नै कार्यान्वयन हुनेछ ।

गत जेठ १० मा जाजरकोटबाट भेरी नदी तरेर रुकुमको सोतीगाउँमा रहेकी प्रेमिका भगाउन हिँडेका नवराज विश्वकर्मा र उनका १९ जना साथीहरुमाथि सामूहिक आक्रमण भएको थियो । घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते छन् । एक जनाले भागेर ज्यान जोगाएका थिए । मृतकहरुमा नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपाली छन् । ६ जनाकै शव भेरी नदी किनारमा भेटिएको थियो । नवराजको शव १० गते राति नै भेटिएको थियो ।

ज्यान मुद्दा लागेकाहरुमा वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया किशोरी छन् । त्यसैगरी, इन्द्रबहादुर मल्ल, दीपेन्द्र चन्द, तिलक चन्द, हर्कबहादुर मल्ल, लिपेन्द्र मल्ललगायतलाई पनि प्रहरीले मुद्दा चलाएको छ ।

यो पनि पढ्नुहोस्ः

रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते

रुकुम घटना : न्यायको बाटोमा राजनीतिक तगारो !

प्रकाशित : जेष्ठ ३२, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?