माछा मार्ने क्रममा बम पड्कँदा दुई घाइते

बागलुङ — माछा मार्ने बम पड्केर दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका–२ स्थित दरमखोलामा माछा मार्न गएका स्थानीय ४६ वर्षीय चित्रबहादुर राना र ३५ वर्षीय अरुणबहादुर पुन घाइते भएका हुन् ।
बम पड्काउने तरिका नमिल्दा बिहीबार दिउँसो उनीहरु आफै घाइते भएको बडिगाड–२ खरवाङमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश गिरीले बताए । ‘गम्भीर घाइते भएकोले प्राथमिक उपचारपछि पाल्पा पठाइएको छ,’ गिरीले भने, ‘खोलामा बम पड्काएर माछा मार्ने उद्देश्यले ५ जना गएका रहेछन्, दुई जना घाइते भएका हुन् ।’
घाइते नभएका युवाले तत्काल खबर गरेपछि स्थानीय र प्रहरी मिलेर उनीहरुको उद्धार गरेका थिए । प्रशासनले भने खोला तथा नदीमा बम पड्काउने, विष हाल्ने जस्ता कामबाट माछा मार्न प्रतिबन्ध लगाएको छ ।
प्रकाशित : चैत्र १९, २०७७ १६:११