सल्यानका ९ हजार ७ सय परिवार खानेपानीबाट वञ्चित
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सल्यान — साविक जिल्ला विकास समितिले २०६० सालमा बन्गाडकुपिण्डे नगरपालिकास्थित मैदुमा सञ्चालन गरेको खानेपानी योजना लामो समयदेखि अलपत्र छ । योजना अलपत्र परेपछि गाउँका झण्डै १ सय ५० परिवार दुई घन्टा टाढा गएर खानेपानी ल्याउन बाध्य छन् । कालीमाटी गाउँपालिका–१ चोत्रेका करिब ५० परिवारले पनि डेढ दशकदेखि खानेपानी समस्या भोगिरहेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सल्यानका ९ हजार ७ सय परिवार खानेपानीबाट वञ्चित](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/khanepani-lina-jadai-mahila-0142021040922-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४६ हजार ३ सयमध्ये ३६ हजार ६ सय परिवारले मात्र खानेपानी सुविधा पाइरहेका छन् ।
गाउँमा खानेपानी नहुँदा घण्टौ पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यताले सास्ती भएको मुलखोलाकी दिलमाया खत्रीले बताइन् । उनका अनुसार गाउँमा ३ घन्टा पैदल हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ । ‘अभाव हुँदा पानी अड्कलेर खानुपर्ने बाध्यतामा छौं,’ उनले भनिन्, ‘वर्षौदेखि आधा राति नै उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ ।’ उनले खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेको बताइन् ।
चोत्रेकी ममता खड्काले वर्षायाम बाहेक अन्य समयमा खानेपानीको जोहो गर्न विभिन्न सास्ती भोग्दै आएको बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौ,’ उनले भनिन्, ‘अरु समय सधैं पानीको पिरलो हुन्छ ।’ उनका अनुसार खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् । पानीको समस्याले पशुपालन गर्न पनि समस्या भएको उनको गुनासो छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख पदमराज देवकोटाले खानेपानी अभावका कारण स्थानीयले खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार खानेपानी समस्या समाधानको लागि यो वर्ष २२ लिप्ट र २२ ‘ग्रयाभिटी’ खानेपानी योजना निर्माणाधीन छन् । उक्त योजनाबाट झन्डै ५ हजार घरधुरीमा खानेपानी सुविधा पुग्ने उनले जानकारी दिए । ४४ योजनाका लागि यो वर्ष ६५ करोड रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)