कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

एसईईमा दृष्टिविहीनलाई ‘लेखक’ अभाव हुने

एसईई दिँदा दृष्टिविहीन विद्यार्थीले एक तहमुनिका विद्यार्थीलाई लेखन सहयोगी राख्छन् तर विद्यालय तहको परीक्षा एकसाथ हुने भएपछि समस्या थपिएको हो
गणेश राई

काठमाडौँ — विद्यालय तहको परीक्षा एकसाथ हुने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारीमा रहेका दृष्टिविहीन विद्यार्थीका निम्ति लेखन सहयोगी (राइटर) को अभाव हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १३–२४ सम्म एसईई गर्ने गरी तालिका प्रकाशन गरेको छ । उक्त समयमा कक्षा १ देखि ९ सम्मको परीक्षासमेत सञ्चालन हुने भएपछि व्यवस्थापनमा समस्या परेको शिक्षकहरू बताउँछन् ।

एसईईमा दृष्टिविहीनलाई ‘लेखक’ अभाव हुने

शिक्षा ऐन तथा नियमावलीमा दृष्टिविहीन विद्यार्थीले आफू पढेको कक्षाभन्दा एक तह मुनिकालाई लेखन सहयोगी राख्न पाउँछन् । कोरोना भाइरसका कारण यो वर्ष ढिलो पठनपाठन सुरु भएकाले शिक्षा मन्त्रालयले चैतमा सकिनुपर्ने शैक्षिक सत्र जेठसम्म लम्ब्याएको छ । जसअनुसार एसईईसमेत एकसाथ लिइँदै छ ।

परीक्षा नजिक आएपछि मात्रै लेखिदिने व्यक्ति (लेखक) खोज्नुपर्ने बाध्यता दृष्टिहीन विद्यार्थीलाई छ । परीक्षा हलमा लेखकले प्रश्नपत्र पढेर सुनाएपछि परीक्षार्थीले जवाफ भन्छन् । त्यसैअनुसार लेखकले लेखिदिन्छन् । ‘नियमअनुसार दृष्टिविहीन विद्यार्थीले लेखन सहयोगी र थप समय पाउँछन्,’ कीर्तिपुरस्थित ल्याबरोटरी माविका प्रधानाध्यापक लाक्पा शेर्पाले भने, ‘तर यो पटक एसईई र त्यसमुनिका कक्षाको एकैसाथ परीक्षा परेकाले सहयोगी व्यवस्थापन गर्न केही जटिल पर्न सक्छ ।’ दृष्टिहीनका निम्ति स्थापित देशकै पहिलो विद्यालय ल्याबरोटरीबाट यो पटक ४ जना एसईई दिने तयारीमा छन् ।

एकसाथ परीक्षा लिइँदा दृष्टिविहीन विद्यार्थीलाई पर्ने मर्काबारे शिक्षा मन्त्रालय र अन्य सरोकारवाला निकायले ध्यान नदिएको ललितपुरको बुङमतीस्थित अपांग सेवा अध्यक्ष दयाराम महर्जनको आरोप छ । संघमा आश्रय लिइरहेका अपांगता भएका विद्यार्थी बुङमतीकै आदर्श सौल माविमा पढ्छन् ।

मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पुस्तक उपलब्ध गराउँदै आएको छ । अनिवार्यतर्फ नेपाली, अंग्रेजी, गणित, सामाजिक, विज्ञान र जनसंख्या विषयको पाठ्यपुस्तक ब्रेललिपिमा उपलब्ध गराइन्छ । तर परीक्षामा भने लेखन सहयोगी राखेर परीक्षा दिने व्यवस्था छ । दृष्टिविहीन परीक्षार्थी जत्तिकै उनका सहयोगीलाई समेत शारीरिक र मानसिक तयारी गराउन आवश्यक पर्ने देख्छन् शेर्पा । साधारण विद्यार्थीले सय पूर्णाङ्कको प्रश्नपत्र हल गर्न ३ घण्टा पाउँछन् । अपांगता भएका विद्यार्थीका निम्ति परीक्षा केन्द्राध्यक्षको अनुमतिमा बढीमा डेढ घण्टासम्म समय थप हुन्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल कोरोना महामारीका कारण सबै परीक्षा एकसाथ गर्नुपरेको बताउँछन् । ‘यो पटक परीक्षा प्रणाली केही बदलिएको छ,’ उनले भने, ‘यदि राइटरको समस्या परेको खण्डमा सम्बन्धित शिक्षा विकास इकाईमा सम्पर्क गरी समन्वय गर्न सर्कुलर गरेका छौं ।’ स्थानीय तहसँग समेत समन्वय गर्नुपर्ने उनले बताए । देशभरिका ८२ विद्यालयमा दृष्टिविहीन विद्यार्थी पढ्छन् ।

यसैबीच, परीक्षा बोर्डले यो पटक एसईई दिने परीक्षार्थीमध्ये दृष्टिविहीनलाई ‘विशेष प्रश्न’ को व्यवस्था गरेको छ । गणित, सामाजिक र विज्ञान विषयमा यो लागू हुनेछ । नियमित प्रश्नपत्रमा ‘थप दृष्टिविहीनका निम्ति’ भनेर थप प्रश्न उल्लेख गरिने उपनियन्त्रक चेतनाथ शर्माले बताए । ‘त्यो प्रश्न दृष्टिविहीनका लागि मात्र हुनेछ,’ उनले भने । कक्षा ९ मा फाराम भरेका विद्यार्थी संख्या पाँच लाखभन्दा बढी संख्यामा छन् । शर्माका अनुसार उनीहरूको आवेदन रुजु गर्ने काम भइरहेको छ ।

प्रकाशित : चैत्र १९, २०७७ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?