रुकुम घटना : न्यायको बाटोमा राजनीतिक तगारो !

न्याय माग्दै दिनहुँ हुने विरोध कार्यक्रममा जाजरकोट र पश्चिम रुकुमबाट केन्द्रमा प्रभाव जमाएका नेताप्रति आक्रोश पोखिने गरेको छ । केन्द्रका नेताले सहानुभूति नदेखाएको भन्दै पीडित परिवारमा निराशा छाएको छ ।
चौरजहारी र भेरीका नगर प्रमुखबीच बोलचालै छैन, संघमा पुगेका नेताले पनि सहानुभूति नदेखाएको भन्दै पीडित परिवारमा निराशा

जाजरकोट — नवराज विकसहित तीन जनाको शव भेरी नदीमा जेठ १३ गते फेला परिसकेको थियो, तीन युवा अझै सम्पर्कविहीन थिए । हँसिया, चिर्पट र ढुंगा प्रहारबाट घाइते भएकाहरू छटपटाइरहेका थिए । मृतक, बेपत्ता र घाइतेका आफन्तमात्र होइन, पूरा जाजरकोट शोकमा थियो ।

रुकुम घटना : न्यायको बाटोमा राजनीतिक तगारो !

त्यही दिन रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले संसद्मा वीरबहादुर मल्लकी श्रीमती (नवराजकी प्रेमिकाकी आमा) ले ‘लकडाउनका समयमा आएका को हुन्’ भनेपछि झडप भएको जानकारी गराए ।

शर्माको यो अभिव्यक्तिले पीडितको घाउमा नुनचुक छर्ने काम गर्‍यो । संघर्ष समितिका उपसंयोजक छवि पन्त भन्छन्, ‘नेताको संरक्षण र दबाबमा अनुसन्धान प्रभावित होला भन्ने डर थियो । संसद्मा जनार्दन शर्माको प्रस्तुतिले त्यसलाई बढावा दियो । त्यो अभिव्यक्ति शंकास्पद छ ।’

जाजरकोटका करिब २५ जना पीडित, पीडितका आफन्त, स्थानीय तथा अधिकारकर्मीसँगको कुराकानीमा सबैको भय उही थियो, ‘घटना ढाकछोप गर्न माथिका नेता लागिपरेका छन् ।’ न्याय पाउनेमा जाजरकोटवासी विश्वस्त देखिँदैनन् । शर्माले संसद्मा दोहोरो झडप भएको भनेका छन् । जबकि त्यहाँ दोहोरो झडप नभएको प्रहरी स्वयंले भनिसकेको छ, चौरजहारी–८ सोतीका गाउँलेबाट नवराजको समूहमाथि एकोहोरो आक्रमण भएको थियो । खलंगामा भेटिएकी सुस्मिता विक भन्छिन्, ‘जनार्दन शर्माले घटनामा राजनीतीकरण हुन सक्दैन भनिरहँदा हामीलाई त्यहींबाट राजनीतीकरणको बीजारोपण भएको आभास भयो ।’ शर्मा सत्तारूढ दल नेकपाका स्थायी समिति सदस्य र कर्णाली प्रदेशका इन्चार्ज पनि हुन् । त्यसैले उनको प्रत्यक्ष/अप्रत्यक्ष दबाबमा घटना सामसुम हुने यहाँका स्थानीयमा चिन्ता छ ।

जेठ १२ मा जिल्ला प्रहरी कार्यालय अगाडि विरोध जुलुस भएको थियो । सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्ललाई कडा कारबाहीको माग गरिएको थियो । यसमा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती पनि सहभागी थिए । शर्माको अभिव्यक्तिपछि त विरोध कार्यक्रमले व्यापकता पाउने नै भयो । १३ गते साँझबाट पीडितको प्रतिनिधित्व गर्दै दलित अधिकारकर्मी खगेन्द्र सुनार जिल्ला प्रशासन कार्यालयसामु अनशन बसे ।

भोलिपल्ट मोटरसाइकल र्‍याली भयो । जनार्दन शर्मा, वनमन्त्री तथा जाजरकोटका प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने, सीडीओ, जिल्ला प्रहरी प्रमुख ‘मुर्दावाद’ भन्दै नारा लगाएका थिए । यही समूहले ‘शक्ति बस्नेत चाहिँदैन’ भनेर नारा पनि लगाएको थियो । यसमा पीडित पक्षका युवाको बाहुल्य थियो । यसमै भेरी नगरपालिकाका युवा संघका संयोजक लोकेन्द्र चन्द पनि सहभागी थिए । तर दबाब आएपछि उनी पछिल्ला कार्यक्रमहरूमा देखिन छाडेका छन् । उनी पूर्वएमाले हुन् ।

१८ गते नेपाल विद्यार्थी संघले जनार्दन शर्माको पुतला दहन गर्‍यो । त्यसयता हरेक दिन पीडितलाई न्याय र दोषीलाई कारबाही गराउन माग गर्दै विरोध कार्यक्रम भइरहेका छन् । तर त्यसको अन्तर्यमा, जाजरकोट र पश्चिम रुकुमबाट केन्द्रमा प्रभाव जमाएका नेताप्रतिको आक्रोश लुकेको हुन्छ ।

पीडित र स्थानीय रुष्ट हुनुका कारण अनेक छन् । घटनाको १५ दिन बितिसक्दा पनि शक्तिबहादुर बस्नेत जाजरकोट पुगेका छैनन्, कतिसम्म भने उनले मृतकका परिवारसँग फोनमा समेत कुराकानी गरेका छैनन् । घाइतेको उपचार भएको छैन । पीडितका आफन्तहरूको साझा पीडा छ– ‘उताका नेता (जनार्दन) ले हाम्रोविरुद्ध बोले तर हामीमाथि यति अन्याय हुँदा पनि हाम्रा नेता (शक्तिबहादुर) ले हामीलाई सान्त्वना र साथ दिएनन् ।’ भेरीका मेयर घर्ती पनि बस्नेतलाई भेट्न नपाउँदा पीडितले गुनासो गरेको बताउँछन् । ‘आफ्नो क्षेत्रका ६ जनालाई कुटीकुटी मारिएको छ । यस्तो शोकको बेला उहाँ (शक्तिबहादुर) ले समय मिलाएर आउनुपर्थ्यो । तर किन आउनु भएन, थाहा छैन,’ उनले भने, ‘मसँग फोनमा कुरा हुँदाचाहिँ दोषी उम्कनु हुन्न, निर्दोष फस्न हुन्न भन्नुभएको छ ।’

घर्ती पूर्वएमाले हुन् । जाजरकोटमा पीडितको पक्षमा खुलेर बोल्ने नेकपाका असाध्यै कम नेतामा पर्छन् उनी । यो घटनामा पूर्वमाओवादीका स्थानीय कार्यकर्ता र नेता पूरै मौन छन् । सुरुवाती विरोध कार्यक्रममा पूर्वएमालेका कार्यकर्ता सहभागी थिए तर पछिल्ला कार्यक्रममा देखिन छाडेका छन् । नेकपाका एक स्थानीय नेताले भने, ‘दोषीले सजाय पाउनुपर्छ । त्योभन्दा बढी नबोल्नु नै बेस हुन्छ ।’ नेकपाबाट विरोध कार्यक्रममा उपस्थित नहुन उनीहरूलाई माथिबाट दबाब आएको बताइन्छ । ‘पहिले घटनाबारे बोल्ने नेकपाका साथीहरू अहिले मौन हुनुहुन्छ । यहाँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेकपाका नेता पनि मौन छन्, यसले के अर्थ दिन्छ, भनिरहनु पर्दैन,’ संघर्ष समितिमा रहेका कांग्रेस स्थानीय नेता पन्तले भने ।

रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते

जाजरकोट र रुकुम पश्चिममा नेकपाभित्र पूर्वएमालेको उपस्थिति कमजोर छ । जाजरकोटका प्रतिनिधिसभा सदस्य बस्नेत, प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंह, राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा र प्रदेश समानुपातिककी सांसद कृष्णा शाह पूर्वमाओवादी हुन् । प्रदेशसभा ‘ख’ का सांसद करवीर शाही, प्रदेशसभा समानुपातिक सदस्य कौशिला खत्री र राष्ट्रिय सभाका भैरवसुन्दर श्रेष्ठमात्र पूर्वएमाले हुन् । रुकुम पश्चिममा त अझ पूर्वमाओवादीको बाहुल्य छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ठगेन्द्रप्रकाश पुरीबाहेक प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, प्रदेशसभाका दुई सांसद गोपाल शर्मा र रातो कामी अनि प्रदेश समानुपातिक सांसद विमला केसी पूर्वमाओवादी हुन् । गोपाल शर्मा त नेकपाका रुकुम जिल्ला अध्यक्ष पनि हुन् । जनार्दनका भाइ अनिल शर्माका सालो सन्तोष मल्ल पनि पक्राउ परेका छन् । मृतकमध्ये एक टीकाराम सुनार चौरजहारीकै स्थानीयवासी हुन् । उनका आफन्तले नगरपालिका कार्यालय घेरेका थिए ।

पक्राउ परेका वडाध्यक्ष डम्बरबहादुर मल्ल पनि पूर्वमाओवादी हुन्, उनी पूर्वगृहमन्त्री शर्मासँग नजिक मानिन्छन् । चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा पनि पूर्वमाओवादी नै हुन् । दुई जिल्लाबाट राष्ट्रिय पहिचान बनाएका बस्नेत र शर्मामात्र हुन् । दुवै गृहमन्त्री भइसकेका । नेकपाभित्रको दुई जिल्लाको यो समीकरणले पूर्वएमाले नेता–कार्यकर्ता यो घटनाप्रति मौनता साध्न विवश भएको जाजरकोटमा चर्चा छ ।

तर पूर्वएमाले भए पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने केही स्थानीय नेता भने प्रहरीको अनुसन्धान दबाबमुक्त हुनुपर्छ भनेर खुलेर खबरदारी गरिरहेका छन् । तिनैमध्ये एक हुन्, कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपालबहादुर नेपाली । उनले खोलावारि (जाजरकोट) र खोलापारि (रुकुम पश्चिम) को लडाइँका कारण अपराधीले उन्मुक्ति पाउने संशय व्यक्त गरे । भन्छन्, ‘माथिल्लो तहका नेताको अभिव्यक्तिले षड्यन्त्र भएझैं लाग्छ तर दोषीलाई कारबाही गराउन हामी शरीरमा रगत भइन्जेल लडिरहन्छौं ।’

आफ्नो क्षेत्रका पीडितलाई प्रत्यक्ष भेटेर सहानुभूति नदिने तर काठमाडौंमा बसेर ‘यो घटनामा राजनीतीकरण हुनुहुन्न’ मात्र भन्ने वनमन्त्री बस्नेतसँग नेकपाकै शुभेच्छुकको असन्तुष्टि छ । यत्ति हो, उनीहरू खुलेर व्यक्त गर्न सकिरहेका छैनन् । पूर्वमाओवादी भए पनि भेरी नगरपालिकाकी कार्यपालिका सदस्य पार्वती विक भने पीडितलाई न्याय दिलाउन सक्रिय देखिन्छिन् ।

एकातिर किटानी जाहेरी दिएकामध्ये २ जना फरार हुनु, अर्कातिर गृहमन्त्री रामबहादुर थापाले चौरजहारीको घटनालाई अमेरिकामा भएको रंगभेदी हर्कतसँग जोड्नु, यसले पनि अनुसन्धान प्रक्रियालाई राज्यले गम्भीरतापूर्वक लिँदैन भन्ने पीडितको शंकालाई मलजल गरेको देखिन्छ । अघिल्लो साता अमेरिकामा प्रहरीले घाँटी थिच्दा एक काला जातिको व्यक्तिको मृत्यु भएको थियो । सोही घटनासँग जोड्दै गृहमन्त्री थापाले भनेका थिए, ‘यसलाई सामाजिक प्रक्रियाको स्वाभाविक प्रक्रियाका रूपमा मानौं । संसारको सबभन्दा शक्तिशाली, समृद्ध र सभ्य, लोकतान्त्रिक भन्ने देश अमेरिकामा पनि यही समयमा यस्तै घटना भएको छ ।’ पीडितमात्र होइन, भेरीका मेयर घर्तीलाई समेत यसले चित्त दुखाएको छ । उनकै शब्दमा, यो ‘दुर्भाग्यपूर्ण भाषा’ हो ।

‘सामाजिक रूपान्तरणका लागि भनेर गरिएको जनयुद्धको उद्गम थलो रुकुम पश्चिममै जातीय अहंकारका कारण ६ जनाको निर्मम हत्या भयो तर त्यतिबेलाका क्रान्तिकारीहरू अहिले पीडकको पक्षमा बोलिरहेका छन्,’ कांग्रेस स्थानीय नेता छवि पन्त भन्छन्, ‘उहाँहरूको अभिव्यक्तिले घटना ‘ट्वीस्ट’ हुन थालेको पीडितले आभास गरेका छन् । जनार्दन शर्मा बोलेपछि यताका पूर्वमाओवादी चुप भए । जाजरकोटका सांसदसमेत खुलेर बोलेका छैनन् ।’

पूर्वमाओवादी र पूर्वएमालेबीचको कतिसम्मको कटुतापूर्ण स्थिति छ भन्ने चौरजहारी र भेरी नगरपालिकाका मेयरको सम्बन्धबाट पुष्टि हुन्छ । घटनाको पन्धौं दिन बितिसक्दा पनि चौरजहारीका मेयर विशाल शर्मा र भेरीका घर्तीबीच फोन सम्पर्कसमेत भएको छैन । अनुसन्धानमा सघाउन होस् वा पीडितलाई न्याय दिलाउन, दुई मेयरबीच समन्वय आवश्यक हुन्छ तर पार्टी एउटै भएर पनि उनीहरूबीच बोलचाल नै छैन । घर्ती भन्छन्, ‘म पीडित भएकाले उहाँको फोन कुरिरहेको छु ।’ आइतबार अधिकारकर्मीको टोलीले समन्वय अभावबारे प्रश्न राख्दा चौरजहारीका मेयर शर्माले जवाफ दिएका थिएनन् ।

यस हत्याकाण्डको अध्ययन गर्न जाजरकोट आइपुगेका पूर्वसांसद तथा राष्ट्रिय दलित पत्रकारसँगका केन्द्रीय अध्यक्ष विनोद पहाडी पनि जाजरकोट र रुकुमको राजनीतिक खिचातानीले पीडितलाई न्याय दिलाउने मामला केही न केही प्रभाव पर्ने देखिएको बताउँछन् । ‘पीडित सामाजिक र आर्थिक हिसाबले कमजोर छन्, राजनीतिक र प्रशासनिक पहुँच छैन । त्यसैले पीडितको समस्या उठाउनेभन्दा ढाकछोप गर्न शक्ति केन्द्र लागिपरेका छन्,’ पहाडीले भने । उनी आफैं पनि तत्कालीन माओवादीबाट सांसद भएका थिए ।

तीनै तहका सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त नगरिएको, किरिया खर्चसमेत उपलब्ध नगराएको, घाइतेको उपचारमा ध्यान नदिएको पहाडीको आरोप छ । भन्छन्, ‘पीडितका लागि राज्य नै छैन । १२ जीवित साक्षीको सुरक्षा र स्वास्थ्य उपचारमा समेत राज्यको चासो देखिन्न । त्यसैले अपेक्षाअनुसार अनुसन्धान हुँदैन भन्ने चिन्ता हो ।’

कान्तिपुरसँगको कुराकानीमा पीडित तथा अधिकारकर्मीले रुकुम पश्चिम, त्यसमाथि पनि चौरजहारी जनार्दन शर्माको ‘पकेट एरिया’ भएकाले पीडक जोगाउन उनको भूमिका हुने बारम्बार संशय व्यक्त गरेका थिए । रुकुम पश्चिममा २६ प्रतिशत दलित समुदाय छन् । नेकपानिकट दलित अधिकारकर्मी पहाडी घटना ढाकछोप भयो भने चुनावी फेरबदल आउने आकलन गर्छन् । ‘दोषीले उन्मुक्ति पायो भने जोकोहीले त्यसको कारण अनुमान लगाउन सक्छ । यसको प्रभाव चुनावमा देखिन्छ,’ पहाडीले भने ।

त्यसो त जाजरकोटका पीडितमध्ये अधिकांश नेकपाकै मतदाता छन् । ‘आफ्नो नेता’ ले वास्ता नगरेकामा उनीहरूको मन दुखेको छ । कति पीडित ‘भो नेताको कुरा नगर्नुस्’ भनेर सुरुमै पन्छिन्छन् । उपचार नपाएका घाइते सुदीप खड्काले कान्तिपुरसँग भने, ‘नेताको काम भोट माग्नेमात्र रहेछ । हामीलाई आपत् पर्दा वास्तै नगर्दा रहेछन् । अर्कोपटक पनि भोट माग्न आउलान् नि !’

पीडितको यो आक्रोश/असन्तुष्टि मेयर घर्तीले नबुझ्ने कुरै भएन । यही कारण हुनुपर्छ, उनी स्थानीयको विश्वास जित्ने प्रयासमा देखिन्छन् । ‘मानव सभ्यताकै नरसंहारका रूपमा यो घटनाका दोषीलाई उन्मुक्ति दिने दुष्प्रयास गर्छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ,’ नेकपाभित्रकै पूर्वएमालेका अन्य नेता चुप बसिरहँदा घर्ती भन्छन्, ‘कसैले दोषीलाई उन्मुक्ति दिन खोज्यो भने म खुलेरै घोर विरोध गर्छु ।’

प्रकाशित : जेष्ठ २६, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?