रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

सोतीका गाउँलेको कुटाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्यान गएको र घटना साम्य भएपछि उनीहरूको शव भेरीमा बगाइएको आरोप पीडित पक्षले लगाएको छ ।
भेरी किनारमा ठूलो समूहले आक्रमण गर्दा घाइतेहरूले पनि नवराजलगायत मृतकलाई नदेखेकाले माथि नै गाउँमा मरणासन्न बनाएर भेरीमा फालिएको वा मारेरै फालिएको हुन सक्ने अनुमान गरेका छन् ।
भीमबहादुर सिंह, कृष्ण ज्ञवाली

जाजरकोट, काठमाडौं — प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए । 

२०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।

खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घरनजिकै पुगे ।

जाजरकोटको खलंगाबाट कालेगाउँनजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एक/डेढ घण्टा उकालो हिँडेर उनीहरू युवतीको घरनजिकै पुगे ।

नवराजसँगै गएका अनि आक्रमणपछि भागेर ज्यान जोगाएका एक जनाको बयानअनुसार साँझ ५ बजेतिर उनीहरू केटीको घरनजिक पुगेका रहेछन् । साथीहरूले ‘लफडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए । नवराज विश्वकर्मा र उनका साथीहरूलाई देख्नेबित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘तँ...लाई कुटाइ अझै पुगेन ?’ भन्दै गालीगलौज गरिन् । उनैले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गुहार मागिन् र गाउँलेलाई बोलाउन लगाइन् ।

गाउँले आउने थाहा पाएपछि केही नबोली उनीहरू खलंगातिर ओरालो लागे । युवाहरू सोतीदेखि करिब १० मिनेटको बाटो हिँडेर करिब एक किलोमिटर तल गैरीनाउला भन्ने ठाउँमा पुगे । पानी मागेर खाए । नाउलामा रहेका केही अपरिचितले ‘बाबुहरू बस्नुहोस्, काफल खानुहोस्’ भन्दै अलमलाउन खोजे । उनीहरूको व्यवहारमा शंका लागेपछि नाउलामा नरोकिई उनीहरू अगाडि बढे ।

घाइते सरोज खड्काका अनुसार उनीहरू नाउलाबाट १० मिनेट हिँडेर करिब २ किलोमिटर तल रहेको मध्यपहाडी लोकमार्गनजिक पुगेका मात्रै के थिए, एक्कासि ६०/७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा बर्साए । ‘हामीलाई ढुंगामुढा, हँसिया र चिर्पटले हान्दै भेरीको किनारसम्म पुर्‍याए,’ उनले भने, ‘त्यसपछि को कतातिर लाग्यो, पत्तै भएन ।’

तम्तयार बसेजस्तो देखिने केटी पक्षकाले कसरी योजना बनाए भन्नेमा अनेक आशंका छ । पीडित परिवारले घटनाको एउटा तथ्य भित्रभित्रै लुकाउने खेल भएको आरोप लगाएको छ । पीडित पक्षको दाबीअनुसार ती युवतीको फोन नियन्त्रणमा लिएर दाइले नै म्यासेज गरेर बोलाएका हुन् ।

आक्रमण भएको ठाउँबाट भेरी नदी तलै छ । सोतीका गाउँलेको हूलले भाग्दै गरेका उनीहरूलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म लखेटेका थिए । पुल छेकेर अर्को समूह बसेकाले बाँचेका घाइतेले बगरैबगर गएर भेरी तर्ने प्रयास गरेको घटनास्थल पुगेका अधिकारकर्मीहरू बताउँछन् । गाउँलेको कुटपिट तथा लखेट्याइँमा परेका १९ युवामध्ये एक जना फुत्किएर भागे र घर आउन सफल भए ।

स्थलगत प्रतिवेदनअनुसार ‘तम्तयार अवस्थामा रहेका डम्बरबहादुर मल्लसहितको ठूलो डफ्फा १९ जनाको निःशस्त्र टोलीमाथि जाइलाग्यो । दलित मुक्ति संगठनका तर्फबाट स्थलगत अध्ययनमा गएका पूजन विश्वकर्माका अनुसार भीरबाट हामफालेर भेरीमा पुग्ने अवस्था घटनास्थलमा देखिँदैन । ‘मान्छे त के, त्यहाँ एउटा गाडी नै फाले पनि भेरीमा नपुग्ने खालको ठाउँ छ,’ विश्वकर्माले कान्तिपुरसँग भने, ‘त्यसले घटना झनै रहस्यमय बनेको छ ।’

कुटपिटबाट घाइते भएका १२ जना भेरी नदीको सानो भंगालो तरेर बीचको बगरमा घेराबन्दीमा परे । तीमध्ये ५ जना भेरीको ठूलो भंगालोमा हामफालेर वारिपट्टि आइपुगे । सात जना दुवैतिर भंगालोबीचको बगरमै अड्किए । भेरीमा हामफाल्न नआटेका ७ जनालाई सोतीका गाउँलेले बगरमै आएर कुटपिट गरिरहे । लाठी र दाउराले आफूलाई कुटेको बताउने ती पीडितका अनुसार कुटाइपछि बेहोस भएका उनी ब्युँझँदा प्रहरी नियन्त्रणमा चौरजहारी अस्पतालमा थिए । आक्रमण गर्ने अर्को समूह एक किलोमिटरमाथिको झोलुङ्गे पुल तरेर कालेगाउँपट्टि गएर बसिसकेको रहेछ । भेरी तरेका पाँच जनालाई पनि २०/२५ जनाको समूहले कुटपिट गर्दै फर्काएर पारिपट्टि घटनास्थल लिएर गए ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद घर्तीले स्थलगत अध्ययन टोलीलाई बताएअनुसार ‘सोतीगाउँका व्यक्तिहरूले नवराज विश्वकर्मालगायतलाई लखेटेर, भेरी नदीको दुवैतिरबाट घेरा हालेर कुटपिट गरी मारेर नदीमा फालेका हुन् । प्रहरी घटनास्थलमा नपुगेको भए बाँकी १२ जनाको पनि ज्यान जान सक्थ्यो ।’

अर्का प्रत्यक्षदर्शी इन्द्रजंग शाहका अनुसार कुटपिटबाट ज्यान गुमाएका पाँच र बेपत्ता एक जना भेरी नदी किनारमा आएकै थिएनन् । गाउँलेको आक्रमणमा परेका नवराज लगायतहरू कुन ठाउँमा थिए ? कसरी नदीमा परे भन्ने खुलेको छैन । पीडित पक्षले सोतीका गाउँलेको कुटाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्यान गएको र घटना साम्य भएपछि उनीहरूको शव भेरीमा बगाइएको आरोप लगाएका छन् । भेरी किनारमा ठूलो समूहले आक्रमण गर्दा घाइतेहरूले नवराजलगायत मृतकहरूलाई नदेखेकाले माथि नै गाउँमा मरणासन्न बनाएर भेरीमा फालिएको वा मारेरै फालिएको हुन सक्ने अनुमान गरेका छन् ।

मूकदर्शक प्रहरी

घटनास्थल भनिएको कालेगाउँ पारिपट्टिको गैरीदेउला चौरजहारीदेखि भेरी किनारैकिनार माथिपट्टि पर्छ । घटनास्थलको सबैभन्दा नजिकको प्रहरी घटनास्थल पुगेको देखिन्छ । चौरजहारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मसिंह विष्टले अनुगमन टोलीलाई बताएअनुसार अघिल्लो रात नै प्रहरी टोली सोतीगाउँमा पुगेको रहेछ । सडकको विवाद मिलाउन खोलागाउँमा गएको प्रहरी टोलीलाई वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेका रहेछन् ।

लगत्तै प्रहरी सहायक निरीक्षक सन्तोष लामिछानेको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुग्यो । त्यहींबाट प्रहरीले नवराजको साथमा गएका महेश कार्की र डिल्ली विश्वकर्मालाई नियन्त्रणमा लिएको देखिन्छ । ‘घटनास्थल पुग्दा वडाध्यक्ष मल्लसहित करिब ५० जना बारीको डिलमा उभिएका रहेछन्,’ प्रहरी निरीक्षक विष्टको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, पश्चिम रुकुम स्रोतले कान्तिपुरसँग भन्यो, ‘ढुंगा र लाठीले पिट्दै गएको देखेपछि प्रहरीले उनीहरूलाई रोकेझैं गरेको हो ।’

घटनाको जानकारी पाएपछि प्रहरी चौकी हुलुखोला जाजरकोटबाट पनि दुई जना प्रहरी घटनास्थल नजिकको झोलुङ्गे पुलमा पुगे । ‘प्रहरी आए पनि साम्य पार्न केही पहल गरेनन्, सिटी फुकेर हेरिरहे,’ घाइते सरोज खड्काले भने, ‘सोतीका गाउँलेले प्रहरीकै अगाडि हामीलाई अन्धाधुन्ध कुटेका थिए ।’

प्रादेशिक प्रहरी कार्यालय स्रोतका अनुसार चौरजहारी प्रहरीले भीडलाई नियन्त्रणमा लिन नसकेको स्विकारेको छ । त्यत्रो घटनामा पुलिसले ‘सिट्टी’ सम्म बजाएको थियो, स्थिति साम्य पार्न आफूले सक्ने जति काम नगरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । पीडित पक्ष र दलित अधिकारकर्मी लगायतले घटनास्थलमा पुगेर पनि युवालाई बचाउन वास्ता नगर्ने प्रहरीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । उपचार नपाउँदा घाइते खड्कालगायतको टाउको, हात, पाखुरा, पिठ्युँ लगायतमा लागेको चोट निको भएको छैन ।

घाइतेहरूका अनुसार गाउँलेले भेरी नदीमा हामफालेका ५ जनालाई पनि नदीमै पुगेर ढुंगा, चिरपटलगायतले हानेका थिए । सोतीका स्थानीयले भेरी नदीको दुई भंगालोबीचको बगरमा रहेका ७ जना र कालेगाउँबाट नियन्त्रणमा लिएका ५ जना गरी १२ जनालाई लकडाउन उल्लंघन गरी गाउँमा केटीलाई जबर्जस्ती ल्याउन खोजेको भन्दै चौरजहारीबाट आएको प्रहरी टोलीको जिम्मा लगाएका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले नवराजलगायतको खोजी गरेन । उल्टै घाइते युवालाई नियन्त्रणमा लिएर इप्रका चौरजहारीको हिरासतमा राख्यो । तर प्रहरीले उनीहरूको उपचार गरिएको दाबी गरेको छ ।

घटनास्थलमा रहेका प्रहरीमाथि केन्द्रीय टोलीले सोधपुछ गरेको छ । सोधपुछका क्रममा प्रहरीले लखेटिएका केही युवा भेरीमा हाम्फालेको बताएका थिए । तर पीडित पक्षले भेरी तर्न खोजेकाहरू मात्रै हाम्फालेको र उनीहरू जोगिएको प्रतिक्रिया दिएका छन् । हाम्फालेकाहरू नै मरेको हुन सक्ने आशय पुष्टि हुने गरी प्रहरीले विवरण बनाउन थालेको पीडितको आरोप छ ।

त्यत्रो ठूलो झडप देखेको प्रहरीले माथि गाउँदेखि नै नवराजहरूको समूह लखेटिएको र कुटाइ खाएको थाहा पाएन । कसैलाई पक्राउ नगरी भेरीको भंगालोमा अलि बढी कुटाइ खाएकाहरूलाई मात्रै लिएर प्रहरीको गाडी चौरजहारीतिर गयो । मारपिटको घटना मिलेमतोमा गुपचुप राख्न खोजिएको पीडितको आरोप छ । तर प्रहरीले अरू विवरण थाहा नभएको दाबी गर्दै भेरी किनारमा नवराजको शव भेटिएपछि मात्रै अरूलाई पक्रेको प्रतिक्रिया दिएको छ । अधिकारकर्मीहरूका अनुसार भागदौड देखेका गैरीदेउलाका अधिकांश स्थानीय बासिन्दा घटनाबारे बोल्न मान्दैनन् ।

स्थलगत प्रतिवेदन के भन्छ ?

घटनाको केही दिनपछि १० जना दलित अगुवा एवं अधिकारकर्मीहरूको टोली घटनास्थल पुग्यो । उनीहरूले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार केटीपक्षको समूहले सबैतिरबाट घेरा हालेर सांघातिक आक्रमण भएको हो । आक्रमणमा संलग्नहरूले नवराजको समूहलाई घरेलु हतियारले प्रहार गरेको र शव नदीमा फालेको पुष्टि हुने घटनास्थल पुगेर फर्किएका दलित अधिकारकर्मी धर्मलाल रोकायाले कान्तिपुरलाई बताए । ‘घटनाको स्थलगत अध्ययन गर्ने हो भने भेरीमा हाम्फाल्ने अवस्थै हुँदैन, हाम्फालेकै भए पनि बुट्यानका कारण मानिस बीचैमा अड्किन्छ,’ प्रतिवेदनबारे रोकायाले भने, ‘भाग्दा हाम्फालेर मरे भन्ने कुरा कुनै हालतमा पनि पुष्टि हुँदैन ।’

रोकायालगायत १० जना अधिकारकर्मीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पनि यस्तै दाबी छ । प्रतिवेदनमा छ, ‘घरेलु हतियार हँसिया, खुकुरी, लाठी लगायतका ढुंगाले एक्कासि आक्रमण गर्दै लखेट्दै लखेट्दै भेरी नदीको बगरमा दुवैतिरबाट घेरा हालेर नवराज विश्वकर्मा र उनका अरू पाँच जना साथीहरूको हत्या गरी भेरीमा शव फालिदिए ।’

छानबिन प्रतिवेदनलाई पुष्टि गर्ने केही स्थलगत तथ्यहरू पनि छन् । घटनास्थल आसपास भेरी नदीमा खोंच छैन । जंघार परेको समथरमा करिब ६/७ फिट गहिरो छ । हामफाल्ने खालको ढिस्को वा पहरो छैन । किनारमा गएर पौडी खेलेर तर्ने खालको फराकिलो बहाव छ । घटनास्थलदेखि माथि एक किलोमिटरको दूरीमा एउटा पुल छ भने २/३ किलोमिटर तल अर्को पुल छ । मृतक र बेपत्ता भएका साथीहरू भेरी नदीमा पौडी खेल्दै आएकाले उनीहरू बगेर मर्ने अवस्था नभएको उनीहरूका साथी बताउँछन् ।

फोन सम्पर्क भएको अनुमानित समयको आकलन गर्दा घटनाको एक/दुई घण्टाभित्रै साँझ साढे ६ बजे जाजरकोटतिर भेरी किनारमा उनको शव भेटियो । त्यो दिन हराएका पाँचमध्ये चारको शव १५ गतेसम्म भेरी किनारामै भेटिएको छ भने एक जनाको अवस्था अज्ञात छ । प्रारम्भिक बयानमै नवराजको साथमा गएका ती साथीहरूले केटीको घरबाट केही वरपट्टि आउनेबित्तिकै ढुंगामुढा भएको बताएका छन् । घटनास्थल पुगेको प्रहरीले काठमाडौंबाट गएको टोलीलाई बताएअनुसार नवराजका साथै अरू घाइतेहरू निःशस्त्र थिए । यतिसम्म कि, उनीहरूको साथमा पैसा थिएन । प्रहरी निरीक्षक धर्मसिंह विष्टले ‘जातीय भेदभाव र जातीय छुवाछूतकै कारण कुटेर हत्या भएको’ भन्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन् ।

दुवैको प्रेमबारे मल्ल परिवारभित्र र नजिकका नातेदारहरूमाझ पनि कुरा चलिरहेको विभिन्न छानबिनले पुष्टि गर्छ । नवराजका बाबुलाई ती युवतीका ठूलाबाबु इन्द्रबहादुर मल्लले मल्लको सम्धी बन्ने इच्छा छ भनी सोधेका थिए । जाजरकोट खलंगामा व्यापार गरी बस्ने उनैले नवराजकी दिदीलाई घटना भएको दिन ‘नवराज घर पुग्यो कि पुगेन ?’ भनेर सोधका थिए । दिदीले किन सोधेको भनी जिज्ञासा राखेपछि जवाफमा इन्द्रबहादुरले ‘नवराजले केटाहरूको हूल लिएर कता हिँडेको थाहा पाएको’ भन्ने जवाफ दिएको पीडित परिवारको भनाइ छ । दिदीले साढे ५ बजेतिर नवराजसँग फोन सम्पर्क गरेकी थिइन्, त्यो नै उनीहरूबीचको अन्तिम गफ बन्यो ।

घटनाको एक सातापछि कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त, जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा र रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहितको टोली घटनाको एक सातापछि शनिबार घटनास्थल पुगेको छ । टोलीले घटनाका मृतकका परिवारका साथै स्थानीयवासीसँग भेटघाट गरेको छ । गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले पनि शनिबारै घटनास्थल पुगी स्थलगत अध्ययन गरेको छ ।

यसरी सुरु भएको थियो प्रेम

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विश्वकर्मा विभिन्न खेलकुदमा सक्रियतापूर्वक भाग लिन्थे । उनसँग ‘प्रेमसम्बन्ध’ मा रहेकी युवती चौरजहारी नगरपालिका–८ सोतीगाउँकी हुन् । भेरी नदीले छुट्याएको वल्लोपल्टो गाउँका उनीहरूबीचको प्रेमसम्बन्ध तीन वर्ष भएको नवराजकै बाबुआमाले केहीअघि मात्रै थाहा पाए ।

२०७५ साल जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलो पटक दुवैबीच भेट भएको थियो । त्यही नै उनीहरूबीच चिनाजान पनि भयो । त्यसपछि उनीहरू नियमित सम्पर्कमा थिए । २०७६ साल पुसमा जाजरकोटको खलंगा मेलामा ती युवती नवराजको घरमा गएर चार दिन बसेकी रहिछन् । केटाका बाबुले ‘ती युवतीलाई उमेरले पनि सानी भएको र जातका आधारमा पनि ठकुरीकी छोरी हामीसँग मिल्दैन’ भनेर सम्झाउन खोजेका थिए ।

जवाफमा केटीले ‘अंकल तपाईं कस्तो कुरा गर्नुहुन्छ ? हामी माओवादी हौं, हामीले जातभात मान्दैनौं । हामी दुवैजना साथी हौं । हामीले आठ वर्षपछि बिहे गर्ने हो’ भनेर जवाफ दिएको नवराजका बाबुले स्थलगत अध्ययन टोलीसँगको कुराकानीमा बताएका छन् । केही दिनमा नै ती युवती नवराजको भाइ (सानीआमाका छोरा) को जन्मदिनका अवसरमा घरमा आई तीन दिन बसेर फर्केकी थिइन् ।

उनीहरूबीच नियमित फोन र एसएमएसदेखि फेसबुक र म्यासेन्जरमा कुराकानी भइरहेको साथीहरूले बताएका छन् । त्यस्तैमा लकडाउन सुरु भएको केही दिनमा गत चैत १७ गते ती युवतीले नवराजलाई आफ्नो घरमा भेटघाटका लागि बोलाएकी थिइन् । त्यही दिन केटीको घरपरिवारले अपशब्द प्रयोग गरी कुटपिट गर्नुका साथै इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएको खुलेको छ । एक रात हिरासतमा राखेपछि प्रहरीले भोलिपल्ट नवराजका बाबुलाई झिकायो । बाबु शारीरिक रूपमा अशक्त भएकाले जान नसकेकामा आमा गएर छोरा बुझेर घर लगिन् ।

घटनाको दिन जेठ १० गते ती युवतीले नवराजलाई माइती पक्षले अर्कै केटासँग विवाह गराउन लागेको खबर गरिन् । आफूलाई भागेर लैजान भन्दै उनले साथीहरूले लिएर आउन ‘म्यासेज’ गरिन् । त्यसैअनुसार साथीहरू लिएर सोतीगाउँ पुगेका नवराजको शव केही घण्टामै सेती किनारमा भेटियो । स्थलगत अध्ययनमा गएका एक अधिकारकर्मी त्यो अन्तिम म्यासेज युवतीले नै पठाएकोमा शंका व्यक्त गर्छन् । ‘फोनमा कुरा भएको होइन, म्यासेज हो,’ एक अधिकारकर्मीले कान्तिपुरसँग भने, ‘उनको फोन कब्जामा लिएर दाइले नै केटालाई घरमा बोलाएको, अनि त्यस्तो घटना भएको आशंका छ ।’ प्रकाशित : जेष्ठ १८, २०७७ ०७:१५

प्रतिक्रिया
पठाउनुहोस्

अधिकांश संक्रमितमा लक्षण छैन

चिकित्सकहरूका अनुसार बाहिरी लक्षण नदेखिएकाहरूलाई ‘होम क्वारेन्टाइन’ मै राख्दा हुने भए पनि सतर्कताका लागि अस्पतालको आइसोलेसनमा पठाउने गरिएको हो ।
अतुल मिश्र

काठमाडौँ — मुलुकमा हालसम्म कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८० प्रतिशतलाई कुनै पनि लक्षण देखिएको छैन । स्वास्थ्य अवस्था सामान्य रहेकै अवस्थामा उनीहरूमा संक्रमण देखिएको छ । संक्रमणको लक्षण देखिएकामध्ये केहीलाई मात्र सामान्य रुघाखोकी लागेको पाइएको छ ।

विशेषज्ञहरुका अनुसार अधिकांश व्यक्ति एसिम्प्टोम्याटिक अर्थात् लक्षण नदेखिएका संक्रमित हुन् भने स्वास्थ्य समस्या देखिएकामा समेत अत्यन्त सामान्य लक्षण देखिएको हो ।

कोरोनाबाट मृत्यु भएका ६ जनामध्ये आधाजतिमा ‘निमोनिया’ देखिएको छ । मृत्यु भएका अधिकांशमा पहिलेदेखि अन्य जटिल स्वास्थ्य समस्या थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म कोरानाले १ हजार ४ सय १ जना संक्रमित हुनुका साथै ७ जनाको मृत्यु भएको हो । कोरोनाले मृत्यु हुनेमा ५ पुरुष र १ जना महिला छन् । कोरोना संक्रमितको मृत्युदर ०.५ प्रतिशत छ । शनिबारसम्म २ सय १९ जना निको भएर घर फर्किसकेका छन् ।

‘हाम्रो प्रारम्भिक आँकलनअनुसार अधिकांश कोरोना संक्रमित अर्थात् करिब ८० प्रतिशतभन्दा बढीलाई एसिम्प्टोम्याटिक अर्थात् कुनै लक्षण देखिएको छैन,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘मधुरो लक्षण देखिने संक्रमितलाई सुक्खा खोकी, मध्यम ज्वरो, अलि गति कमजोरी मुख्य रूपमा देखिएको हो ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हरेक दिन पत्रकार सम्मेलनमा थोरै मात्र लक्षण देखिएको केस रहेको बताउँदै संक्रमितहरूको अवस्था जटिल नरहेको औंल्याउने गरेका छन् । वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार अस्पतालमा शुक्रबारसम्म भर्ना भएका कोरोनाका १ सय ११ जना बिरामीमध्ये कसैलाई पनि लक्षण देखिएको छैन । ‘हामीकहाँ भर्ना भएका कोरोनाका सबै एसिम्प्टोम्याटिक (लक्षणविहीन) बिरामी हुन्,’ उनले भने, ‘उहाँहरूमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, पेटसम्बन्धी समस्या देखिए पनि कोभिडको कुनै लक्षण देखिएन ।’

यस्तै कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.संगीता मिश्रले विराटनगरको कोभिड उपचार केन्द्रमा उपचारार्थ आएका ६४ जना संक्रमितमध्ये ६२ जना एसिम्प्टोम्याटिक (लक्षणविहीन) रहेको जानकारी दिइन् । संक्रमितमध्ये २ जनामा अत्यन्त सामान्य श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताउँदै उनले भनिन्, ‘उनीहरूमा कोभिडको कारण वा पहिलेदेखि नै श्वासप्रश्वासमा समस्या देखिएको थियो भन्नेबारे हामी थप जानकारी लिँदै छौं ।’

स्वास्थ्य मन्त्रालयका अधिकारीले कोरोनाबाट मृत्यु भएकाहरूमा खासगरी निमोनिया देखिएको बताएका छन् । ‘मृत्यु भएका आधाजतिमा अन्य रोग भए पनि पछि निमोनियासमेत देखिएको हो,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले भने, ‘मृतकहरूमा निमोनिया प्रमुख कारणका रूपमा देखिएको छ ।’

विभिन्न कारणले बिरामी परेर अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरूमा पहिलेकै विभिन्न स्वास्थ्य समस्याले गर्दा शरीर कमजोर बनाइरहेको भ्रम पनि छ । ‘उहाँहरू आफू पहिलेदेखि नै विभिन्न स्वास्थ्य समस्याले गर्दा कमजोरी अनुभव गरेको ‘डालिमा’ मा देखिनुहुन्छ,’ डा.अधिकारी भन्छन् ।

हाल करिब ५ जना संक्रमितमध्ये ४ जनालाई कोरोनाको कुनै लक्षण नदेखिएको जनाउँदै डा. अधिकारीले अधिकांश संक्रमित अस्पतालमा खासै उपचार गराउने आवश्यकता नपर्ने धेरै सामान्य लक्षण देखिएका औंल्याए । तर हाल संक्रमणको दर बढ्ने सुरुवात मात्र भएकाले प्रभावितहरूबाट अन्य व्यक्तिमा रोग नसरोस् र समाजमा त्रास कम हुने वातावरण बनाउन अस्पताल भर्ना गरिएको उनले बताए ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सामान्यतः कुनै पनि व्यक्ति भाइरसको सम्पर्कमा आएको २ देखि १४ दिनपछि कोभिड–१९ को लक्षण देखिन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ज्वरो, सुक्खा खोकी र थकाइ कोरोनाको मुख्य लक्षण हो । योबाहेक केही बिरामीलाई सामान्य नरहेको लक्षण देखिन्छ ।

यसअन्तर्गत एकहोरो दुखाइ र दुखाइ, नाक बन्द हुनु, टाउको दुखाइ, आँखा दुखेर सुन्निने (कन्जक्टिवाइटिस), घाँटी दुख्नु, पखाला, स्वाद वा गन्ध थाहा नपाउनु, छालामा बिमिरा, हात वा खुट्टाका औलाको रंग परिवर्तित हुनु आदि समस्या देखिन्छ ।

सीडीसीले कोरोनाका बिरामीहरूमा देखिने अन्य लक्षणमा ‘चिसो लाग्नु’ का साथै अन्य कम सामान्य लक्षणमा पेट र आन्द्रा (ग्यास्ट्रोइन्टेस्टाइनल) सम्बन्धी लक्षणजस्तै वाकवाकी, बान्ता र पखालासमेत रहेको उल्लेख गरेको छ ।

डब्लूएचओका अनुसार कोरोना संक्रमितमध्ये करिब ८० प्रतिशत बिरामी अस्पतालको उपचारबिना नै आफैं निको हुन्छन् । तर संक्रमित ५ मध्ये एक जना गम्भीर रूपले बिरामी पर्छन् र सास फेर्नमा समस्या देखिन्छ । ज्वरो र सुक्खा खोकीसँगै सास फेर्न समस्या भएका, छाती दुखाइ/दबाब, वा बोल्न नसक्नु वा हिँड्डुल गर्न नसक्ने स्थिति देखिए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । वृद्घ, उच्च रक्तचाप, मुटु र फोक्सोसम्बन्धी समस्या, मधुमेह, क्यान्सरलगायत विभिन्न चिकित्सा समस्या भएकाहरू कोरोना संक्रमणले गम्भीर रूपले बिरामी हुन सक्ने जोखिम उच्च हुन्छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×