कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

रुकुम घटना : वडाध्यक्षको हातमा लाठी र ढुंगा

आरोपपत्रमा प्रमुख योजनाकारमध्येका एक भनी चित्रित गरिएका वडाध्यक्ष डम्मरबहादुर मल्लले संयमता अपनाएको र गाउँलेहरूलाई नियन्त्रणमा लिएको भए घटना हुँदैनथ्यो र मृतकको ज्यान जोगिन्थ्याे भन्ने अनुसन्धानबाट खुल्छ ।

काठमाडौँ — ‘भेरी नदीको पहिलो भँगालो तरी बीच टापुमा पुग्दा वडाध्यक्ष, केटीका बाबुु, दाइ, सन्तोष मल्लसहितले नवराज र अन्य केटाहरूलाई नियन्त्रणमा लिएर लाठी र ढुंगासमेतले कुटिरहेका थिए ।’ यो बयान रुकुम पश्चिमको सोतीगाउँ घटनाका प्रतिवादी हर्कबहादुर मल्लको हो ।

रुकुम घटना : वडाध्यक्षको हातमा लाठी र ढुंगा

बयानलाई आधार मान्ने हो भने रुकुम पश्‍चिमको चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल घटनामा लाठी र ढुंगासहित प्रत्यक्ष रूपमा उत्रिएको खुल्छ । जनप्रतिनिधिसमेत रहेका उनको भूमिका ठीक विपरीत खालको भेटिन्छ । आक्रोशित भीडलाई सम्झाउनुपर्ने र संयमित तुल्याउनुपर्नेमा आफैं लाठी र ढुंगा बोकेर ज्यानमाराको अभियोग खेप्न उद्यत देखिन्थे ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा पनि वडाध्यक्ष मल्लको भूमिकामाथि गम्भीर प्रश्न उठाइएको छ । गृहले ‘सार्वजनिक पद धारण गरेको र जनप्रतिनिधिसमेत रहेको व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरू गाउँ छिरे भन्ने बहानामा गाउँलेलाई एकत्रित गराएको उल्लेख छ । गाउँबाट भागेर ४ किलोमिटर टाढा गइसकेको अवस्थामा पीडितहरूलाई लखेटेर हानेको तर प्रहरीलाई गुमराहमा राखेको भन्दै गृहले उनीलगायतहरूमाथि कारबाही प्रक्रिया अघि बढेको जनाएको हो ।

अरू धेरैले पनि डम्मरबहादुर मल्लको नाम पोलेका छन् । लिपेन्द्रकुमार मल्लले उक्त घटनाका दिनमात्रै होइन, त्यसअघि पनि डम्मरबहादुरसहितको टोलीले नवराजलाई कुटेर प्रहरीमा बुझाएको बयान दिएका छन् । तिलक चन्दले त नवराज र उनका साथीलाई छेको हालेर कुटेको र वडाध्यक्ष, केटीका बुबालगायतले मारेरै नदीमा बगाएको देखेको बताएका छन् । यस्तो स्विकार्नेमा इन्द्रबहादुर ठकुरी र दीपेन्द्र चन्दलगायत छन् ।

आरोपपत्रमा भएका बयान हेर्ने हो भने वडाध्यक्ष डम्मरबहादुर मल्लबाहेक सबैजसोले घटना स्विकारेका छन् । किशोरीकी आमाले आफूले नवराजको समूहलाई जातीय भेदभावयुक्त गालीगलौज गरेको स्वीकार गर्दै त्यसपछि गाउँले एकत्रित पारेको बताएकी छन् । वडाध्यक्षको नाम अधिकांश आरोपित र घाइतेहरूले पोलेका छन् । घाइतेहरूको बयानलाई आधार मान्ने हो भने त भीडको नेतृत्व गर्ने र आक्रमणको नेतृत्व गर्ने नै मल्ल हुन् ।

अरू प्रतिवादीहरूले एकआपसमा नाम पोल्दै आफूहरूले कुटपिट गरेको बताएका छन् । तर वडाध्यक्ष मल्लले भने आफू घटनास्थलमा पुगेको, प्रहरी आएपछि लकडाउन उल्लंघन गर्ने केटाहरूलाई जिम्मा लगाएको बताउँदै पछि मात्रै आफूले थाहा पाएको दाबी गरेका छन् ।

पोस्टमार्टम रिपोर्ट भन्छ, ‘डुबेर मरे’

नवराज र उनका पाँच साथीको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । अभियोगपत्रमा उल्लेख भएअनुसार, सन्जु विक, टीकाराम नेपाली र गणेश बुढामगरको डुबेर मृत्यु भएको हो । नवराज, लोकेन्द्र सुनार र गोविन्द शाहीको हकमा मृत्युको कारण किटान गरिएको छैन । मृत्युको कारणमा ‘सम्भवत: डुबेर’ लेखिएको छ ।

लोकेन्द्रको टाउकाको अघिल्लो भागमा डाम परेको, दुवै खुट्टाको ददारिएका घाउहरू देखिएको छ । सन्जु विकको नदीमा खस्ने क्रममा टाउकाको विभिन्न भाग र आँखीभौंमा चोटपटक लागेको उल्लेख छ । नवराजको शरीरको बाहिरी तीन भागमा दाहिने र देब्रे कुहिनो ददारिएको अनि टाउकामा रड वा लाठीजस्तै केहीले हानेका घाउहरू देखिएको छ । टीकारामको टाउको र मुखलगायत घाँटी र दुवै खुट्टाका विभिन्न भागहरूमा रडजस्तै केहीले हानेको घाउहरू देखिएका छन् ।

गणेश बुढामगरको पोस्टमार्टम रिपोर्टमा लेखिएको छ– ‘दुवै हात, घुँडा र खुट्टाका औंलाहरूमा ददारिएका घाउहरू छन्, जुन जमिनमा खस्ने कारण भएको हुन सक्छ । तर, मृत्युको हुने जतिको गम्भीर होइन ।’ त्यस्तै, गोविन्द शाहीको शरीरको बाहिरी तीन भाग दायाँ तिघ्रा, देब्रे घुँडा र गोलीगाँठामा चोटपटक देखिएको छ ।

आरोपितहरूले लखेट्दै जाँदा नवराजलगायतको टोली भेरीमा हामफालेको र बगेर ज्यान गएको दाबी गरेका छन् । तर घटनास्थलको प्रकृति, बयान र अन्य वस्तुस्थितिले मारेर वा मरणासन्न हुने गरी कुटेर पानीमा फालेको पुष्टि हुने रुकुम पश्चिमको जिल्ला अदालत स्रोतले बतायो ।

दुईलाई बालसुधार गृहमा

रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाउँको सामूहिक हत्याकाण्डमा मुछिएका दुई जनालाई बालसुधार गृहमा पठाउन आदेश दिएको छ । आइतबार आरोपपत्र दर्ता भएपछि मुद्दाको थुनछेक सुनुवाइ गर्दै जिल्ला अदालतले सोमबार उनीहरूलाई सुधार गृहमा पठाउन आदेश दिएको हो ।

अदालतले आदेश दिएका दुई जनामध्ये एक नवराजकी प्रेमिका भनिएकी किशोरी हुन् भने अर्का किशोरमाथि घटनामा संलग्न भएको आरोप छ । अब उनीहरूलाई नजिकको बालसुधार गृह नेपालगन्जमा पठाउनुपर्नेछ । उनीहरूको ‘उमेर नपुगेकाले’ बालबालिकासम्बन्धी ऐनअनुसार सुनुवाइ भएको हो ।

सम्बन्धित समाचार :

प्रकाशित : असार २, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?