२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रुकुमको सोतीगाउँ घटना : के छ आरोपपत्रमा ? 

वडाध्यक्ष डम्बरबहादुर मल्ल भन्छन् : ‘केही पनि थाहा पाइनँ’
किशोरीकी आमा भन्छिन्– 'हो, मैले (...) भनेर गाली गरेकी हुँ '

काठमाडौँ — रुकुम पश्चिमको सोतीगाउँमा तीन साताअघि नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सुरु भइसकेको छ । चौरजहारी नगरपालिका– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न भएको आरोपपत्रमा उल्लेख छ ।

रुकुमको सोतीगाउँ घटना : के छ आरोपपत्रमा ? 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा आइतबार तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता भएको हो । आरोपपत्रमा के छ ? यसबारे विभिन्न कोणबाट चिरफार गरिएको छ ।

को–को छन् प्रतिवादी ? के छ आरोप ?

प्रहरीले ३४ जनामाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग गरेको र जातीय छुवाछुत गरेको आरोप लगाएको छ । मुलुकी अपराध संहिताको दफा १७७ अनुसार ज्यान मार्ने काम गरेकाले जन्मकैदको मागदाबी छ । त्यसमा सरकारी वकिलको कार्यालयले क्रुरतापूर्वक हत्या गरेको आरोप समेत समावेश गरेको छ भने अपहरण गरी वा शरीर बन्धक लिई हत्या गरेको आरोप पनि एकसाथ छ ।

क्रुरतापूर्वक हत्या र अपहरण वा शरीर बन्धक बनाई हत्या गरेको अभियोगमा जन्मकैदको सजाय हुनेछ । बाँकी घाइतेहरुका हकमा ज्यान मार्ने प्रयास गरेको अर्को अभियोग छ । यो अभियोग स्थापित भएमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

नवराजकी 'प्रेमिका'को बयान : ‘मेरो बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास लाग्छ’

अनि सबैमाथि जातीय भेदभाव तथा छुवाछुतको अभियोग समेत छ । यो अभियोग पुष्टि भएमा तीन महिनादेखि ३ वर्षसम्म कैद अनि ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । सबै आरोप पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुर नै कार्यान्वयन हुनेछ । उनीहरुबाट मृतकका आफन्त र घाइतेलाई क्षतिपूर्ति दिलाउने मागदाबीसमेत छ ।

आरोपपत्रका अनुसार प्रतिवादीहरु

  • डम्बरबहादुर मल्ल (वडाध्यक्ष)
  • डिल्लीमल्ल ठकुरी
  • तुलबहादुर मल्ल
  • प्रेमबहादुर ठकुरी
  • सन्तोष मल्ल
  • मोहन पुन मगर
  • मानबहादुर मल्ल
  • टोलबहादुर मल्ल
  • सविन पुन
  • इन्द्रबहादुर मल्ल
  • तिलक चन्द
  • इन्दबहादुर ठकुरी
  • लिपेन्द्रकुमार मल्ल
  • हर्कबहादुर मल्ल
  • बिनोद मल्ल
  • दिपेन्द्र चन्द
  • नेतबहादुर मल्ल
  • रेशमबहादुर मल्ल
  • धनराज राना
  • नवीनकुमार घर्ती मगर
  • बिराज पुन मगर
  • भिमबहादुर पुन
  • रमित पुन मगर
  • विष्णु मल्ल

फरार रहेकाहरु

  • तुलाराम घर्ती
  • डिल्ली घर्ती
  • लोकेन्द्र घर्ती
  • सौरभ पुन
  • भीमबहादुर बुढा

नाम गोप्य राखिएकाहरु

  • युवती– ५४ रुकुम पश्चिम ३६

उनका परिवारका सदस्यहरु

  • युवती– ५४ रुकुम पश्चिम ३६

युवतीका परिवारका सदस्यहरु

  • ५४ रुकुम पश्चिम (३६) १
  • ५४ रुकुम पश्चिम (३६) २
  • ५४ रुकुम पश्चिम (३६) ३

वडाध्यक्ष डम्बरबहादुर भन्छन्, ‘केही पनि थाहा पाइनँ’

चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ललाई प्रहरीले घटनाको प्रमुख योजनाकारको रुपमा प्रस्तुत गरेको छ । उनले प्रहरीसँगको बयानका क्रममा भने आरोप इन्कार गरेका छन् ।

उनले बयानमा भनेका छन्–म त्यस दिन धानको बीउ राख्न खेतबारीमा गएको थिए । काम सकेर क्वारेन्टाइन व्यवस्थापनमा खटिएको टोलीसँग सल्लाह भएको थियो । मलाई स्थानीयले लकडाउनको बेलामा पारि गाँउबाट केटाहरु आएको भनी सूचना दिएपछि चौरजहारी प्रहरीमा खबर गरेको थिएँ । म घटनास्थल जाँदा प्रेम मल्ल र डिल्ली मल्लले उनीहरुलाई नियन्त्रणमा लिएको देखेको हुँ । अरु केटाहरु मभन्दा अगाडि बगरतिर गइसकेका रहेछन् ।

मैले एउटा केटालाई नियन्त्रणमा लिएकोमा प्रहरी आएपछि जिम्मा लगाएको हुँ । अरु सात जना केटाहरुलाई समाएर प्रहरीलाई जिम्मा लगाएको हो । तीमध्ये केही केटालाई मुखमा चोटपटक लागेको देखेको हुँ । म भेरीमा पुगेपछि तीन जना केटाहरु बगे भन्ने कुरा प्रतिवादीहरु प्रेमबहादुर मल्ल र तुलबहादुर मल्लले भनेपछि सुनेको हुँ । मैले कसैलाई कुटपिट गरेको होइन । मृतक नवराज विकसमेत ६ जनालाई कसले मार्‍यो, मलाई थाहा भएन ।

किशोरीकी आमा भन्छिन्– हो, मैले (...) भनेर गाली गरेकी हुँ

प्रहरीले घटनाको सूत्रधार र प्रमुख योजनाकारको रुपमा ती किशोरीकी आमालाई अभियोग लगाएको छ । नवराज विश्वकर्मासहितको टोली देख्नासाथ उनले जातिय अपहेलना हुनेगरी गाली गरेको र आक्रमणको योजना बनाएको आरोपपत्रमा उल्लेख छ । प्रहरीको दाबीअनुसार, उनले सबै आरोप स्विकारेकी छन् । उनले बयानमा भनेकी छिन् :

त्यो दिन नवराजलगायतका केटाहरु मेरो घरनजिक आएपछि मैले गाली गरेको हुँ । उनीहरुलाई मार्ने पूर्व योजनाअनुसार मेरो श्रीमान र डम्बरबहादुर मल्लसमेतका व्यक्ति बोलाएर पिछा गर्न थालेका हुन् । उनीहरुलाई तल जिउला भन्ने ठाँउमा फेला पारेपछि घेरा हालेर ढुंगा, हसियासमेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्‍याएर मारेर भेरी नदीमा बगाएको हो ।

मेरो छोरी र नवराजबीच फेसबुकमार्फत चिनाजान भएको रहेछ । पटकपटक नवराज समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ । मेरो भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरी (यही नाम पीडित किशोरी भनी कतिपय युट्युब च्यानलहरुमा आएका छन्) ले नवराजले मेरी छोरी घरबाट थुतेर लैजान केटाहरु लिएर जान्छु भनेको कुरा बताएकी हुन् । केटाहरु लिएर आए मारिदिने भनी घरपरिवारले सल्लाह गरेर योजना बनाएका हौं । पछि मात्रै मरेको थाहा भएको हो ।

प्रकाशित : असार १, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?