कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रुकुम घटना : मृतकका आफन्तद्वारा शवगृहमा आगजनी

पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ । सो क्रममा ६ जना घाइते भएका छन् ।
भीमबहादुर सिंह

जाजरकोट — पोस्टमार्टम रिपोर्टमा जालझेल भएको भन्दै सोती हत्याकाण्डका मृतकका आफन्तले जिल्ला अस्पतालमा तोडफोड गर्नुका साथै शवगृहमा आगजनी गरेका छन् । सो क्रममा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।

रुकुम घटना : मृतकका आफन्तद्वारा शवगृहमा आगजनी

सोमबार दिउँसो ४:३० बजेतिर मृतकका आफन्तहरू अस्पताल पुगेर गेट तोडफोड गर्नुका साथै शवगृहमा आगो लगाएका थिए । सम्भावित जोखिमलाई ख्याल गर्दै स्थानीय प्रशासनले आइतबार साँझबाटै अस्पतालमा सुरक्षाकर्मी खटाएको थियो । ‘डाक्टरहरूले दबाबमा परेर पोस्टमार्टम रिपोर्ट कमजोर बनाएर पठाएको थाहा पायौं,’ मृतक गणेश बुढाका बुबा पदमबहादुरले भने, ‘हामी पीडितमाथि चारैतिरबाट पीडा थप्ने काम भएको छ ।’ आफूले शव हेर्दा टाउको, मुख र शरीरका विभिन्न ठाउँमा घाउचोट देखेको भए पनि रिपोर्टमा ती कुरा उल्लेख नभएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी जनक पन्तले सुरक्षा व्यवस्था कडा बनाइए पनि गोली हान्न आदेश नदिइएको बताए । ‘हामी सुरक्षा बैठकमा थियौं, त्यहाँ (अस्पतालमा) झडप भएछ,’ उनले भने, ‘गोली हान्नका लागि हामीले आदेश नदिएकाले त्यसबारे थाहा भएन ।’ प्रहरीसँगको झडपमा पदमबहादुरसहित उनकी श्रीमती राधिका, सञ्जीव विककी आमा लक्ष्मी र अन्य ४ जना तथा प्रहरी निरीक्षक महेश आचार्य र एक जवान घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमै उपचार गरिएको छ ।

प्राप्त पोस्टमार्टम रिपोर्टमा भने नवराज विकको टाउकोमा चोट लागेको उल्लेख गरिएको छ । हातमा २ सेन्टिमिटरदेखि २८ सेन्टिमिटरसम्म लामो धसारिएको घाउ रहेको उल्लेख छ । रिपोर्ट हेरेपछि एक चिकित्सकले धारिलो हतियारले हानेको भन्नेचाहिँ उल्लेख नगरिएको बताए । ‘टाउको र हातमा घाउ भएको त देखिन्छ, तर त्यो घाउलाई अदालतले कसरी व्याख्या गर्छ भन्नेमा भर पर्छ,’ ती चिकित्सकले भने, ‘एक जनाको रिपोर्टमा भने डुबेर मरेको भन्ने लेखिएको छ ।’ मृतकको श्वासनलीमा बालुवा देखिएको र पेट (आमाशय) मा पानी भने नदेखिएको उनले बताए ।

सोती हत्याकाण्ड संघर्ष समितिका संयोजक नगेन्द्र शाहले शवको यथार्थ अवस्था लुकाएर दोहोरो अर्थ लाग्ने रिपोर्ट दिइएपछि पीडित झन् आक्रोशित भएको बताए । उच्चस्तरीय दबाबबाट प्रहरी–प्रशासनदेखि डाक्टरसम्म प्रभावित भएको उनको आरोप छ । पीडकलाई उम्काउनका लागि भएका षड्यन्त्रविरुद्ध संघर्षका थप कार्यक्रम अघि बढाइने उनले बताए ।

प्रकाशित : असार १, २०७७ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?