२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सुधारगृहमा नपठाई हिरासतमै

नवराज विक र उनका पाँच साथी मारिएको घटनाको प्रारम्भिक अनुसन्धानमा प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको प्रत्यक्ष संलग्नता प्रहरीले भेटेको छैन ।
कानुनअनुसार नाबालिग उनीप्रति प्रहरी–प्रशासनत संवेदनशील बनेको छैन नै, सामाजिक सञ्जालमा भइरहेका भद्दा टीकाटिप्पणीप्रति अधिकारीकर्मी पनि मौन छन् । प्रेम गरेकै कारण उनलाई अहिल्यै दोषी करार गर्न मिल्छ ?
गोकर्ण गौतम

रुकुम पश्‍चिम — गत वर्ष पुसमा प्रेमिका नवराज विकको घरमा दुईपटक गएकी थिइन् । पहिलो पटक नवराजकी आमा उर्मिला विकले छोरीको साथी हुन् भन्ने मात्र थाहा पाइन् । अर्को पटक आउँदाचाहिँ उर्मिलाले ती किशोरी र आफ्नो छोराबीच प्रेमसम्बन्ध रहेको थाहा पाइन् । त्यतिबेला उनले सोधेकी थिइन्, ‘नानी, तिमी मल्लकी छोरी रहिछेऊ । हामी विक । भोलि अप्ठ्यारो पर्छ । के सोचेकी छ्यौ ?’

सुधारगृहमा नपठाई हिरासतमै

किशोरीले प्रेमसम्बन्ध नकारिनन् । बरु आत्मविश्वासी भएर भनिछन्, ‘ममी, म मल्ल ठकुरीकी छोरी हुँ तर मेरो बुबाआमा बुझ्ने हुनुहुन्छ । बुबा पहिल्यैदेखि माओवादी हो । जातिपातीको कुरा गर्नुहुन्न । हाम्रै आफन्तमा पनि दलितसँग बिहे भएको छ । त्यसैले आत्तिनु पर्दैन । परिवारले मान्नुहुन्छ ।’

उर्मिलाका अनुसार त्यतिबेला ती किशोरीले ‘हामी ८ वर्षपछि बिहे गर्छौ’ भनेकी थिइन् । तर, चार महिना नबित्दै उनले प्रेमी गुमाउनुपर्‍यो । उनले म्यासेज गरेर बोलाइन् । त्यसपछि नवराज आफ्ना १८ जना साथीसहित जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँबाट प्रेमिकाको गाउँ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगेका थिए । फर्कने बेला सोतीका गाउँलेको बर्बर आक्रमणबाट नवराज र उनका पाँच जना साथीको ज्यान गयो । १२ जना घाइते भए । नवराजको शव १० गते राति नै भेरी नदीमा भेटिएको थियो । १३ गते पीडित पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले १२ जनालाई पक्राउ गर्‍यो । त्यसमध्ये एक थिइन्, नवराजकी प्रेमिका । त्यसयताका हरेक रात उनले पश्चिम रुकुम सदरमुकाम मुसिकोटस्थित प्रहरीको हिरासत कक्षमा बिताइरहेकी छन् । उनीमाथि कर्तव्य ज्यानको अभियोग छ ।

ती किशोरी भर्खर १७ वर्ष पुगिन् । प्रचलित कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग मानेको छ । तर, न प्रहरी प्रशासनबाट बालबालिकाको रूपमा उनीप्रति संवेदनशीलता अपनाइएको छ, न सामाजिक सञ्जालमै । फेसबुक, युट्युबमा उनको चरित्र हत्या गरिएकै कैयौं पोस्ट र भिडियो छन् । जब कि उनी आफैं पनि यो घटनाको ‘पीडित’ झैं देखिन्छिन् । प्रेम गरेकै कारण उनलाई अहिल्यै दोषी करार गर्न मिल्छ ?

घटनाको भोलिपल्टैबाट फेसबुकमा ती किशोरीलाई अपराधको जडका रूपमा प्रतिविम्बित गर्न थालियो । ६ जनाको हत्या भएको घटना असाध्यै निन्दनीय छ, यसको कारण जातीय अहंकार रहेकोमा सन्देह छैन तर पीडितलाई न्याय दिलाउन प्रशासन र राज्यलाई प्रभावकारी दबाब दिनुको सट्टा एउटा तप्का ती किशोरीमाथि नै असहिष्णु शैलीमा प्रस्तुत भएको छ ।

उनको असली नाम मात्र लेखिएन, अनेक मनगढन्ते र अतिरञ्जित पोस्ट छरपस्ट पारियो । उनको नाम टाइप गर्दा आधा दर्जनभन्दा धेरै फेसबुक एकाउन्ट भेटिन्छ । ती पहिल्यैबाट थिए वा घटनापछि खोलिएका ‘फेक’ हुन, त्यतातिर कसैको ध्यान छैन । बरु त्यही भिन्न एकाउन्टको ‘स्क्रिनसट’ राख्दै उनको चरित्रमाथि प्रश्न उठाइएको छ । कतिले नामै तोकेर ‘पैसाका लागि नवराजको पछि लागेको’ समेत भन्न भ्याएका छन् । उनको फोटोको कमेन्टमा अपशब्द र गालीको वर्षा छ ।

ती किशोरीमाथिको घृणा र अपमान यत्तिमै सीमित छैन । उनले नवराजसँग गरेको भनिएका गोप्य च्याट र फोन कुराकानीसमेत फेसबुक र युट्युबमा ‘भाइरल’ बनाइएको छ । उनको तस्बिरलाई तोडमोड गरेर अपलोड गरिएको छ । उनको बेइज्जत हुने ‘टिक–टक’ भिडियो छ्याप्छ्याप्ती भेटिन्छन् । तर, उनको यो अपमानबारे महिला र बालअधिकार अधिकारकर्मीसमेत मौन देखिन्छन् । अभिनेत्री रेखा थापाले भने यसबारे आवाज उठाएकी छन् । ‘समाजविरुद्ध अन्तरजातीय प्रेम गर्ने साहस भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ? यसले जातिवादी सोचलाई झन् धेरै बालबालिकामा स्थापित गर्ने देखिन्छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘१७ वर्षीया किशोरीलाई मानसिक र सामाजिक उत्पीडन किन ? दोषी भए कारबाही गरियोस् ।’

यो स्टाटस लेखेपछि रेखामाथि पनि सामाजिक सञ्जालमा हमला भयो । ‘अपराधी जोगाउन खोजेको,’ ‘पीडितको पक्ष नलिएको’ जस्ता आरोप लगाइयो । तैपनि रेखाले किशोरीमाथिको ‘साइबर बुलिङ’ बारे बोलिरहेकी छन् । ‘एउटी किशोरीको जीवन बर्बाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोलि कसैलाई माया गर्ने छैनन्,’ रेखाले फेसबुकमा लेखेकी छन् ।

सामाजिक सञ्जालको प्रभावकै कारण हुनुपर्छ, जाजरकोट र रुकुम पश्चिममा भेटिएका अधिकांशले ‘उनले लभ गरेकै कारण ६ जनाको हत्या भएको’ प्रतिक्रिया दिए । जब कि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता भेटिएको छैन । नेपाल मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी ती किशोरीको संरक्षण गर्न राज्य चुकेको बताउँछिन् । ‘उनीमाथि सोसल मिडियामा बुलिङ भइरहेको छ । यस्ता असंवेदनशील र चरित्रहत्या गर्ने कन्टेन्ट हटाउन सरकारले युट्युब वा सम्बन्धित निकायलाई चिठी लेख्न सक्छ,’ अन्सारी भन्छिन्, ‘सामाजिक सञ्जाल अनुशासनमा राख्ने र अनाश्यक कन्टेन्ट हटाउने सरकारको जिम्मेवारी हो ।’

किशोरीको तस्बिर, नाम सार्वजनिक हुँदा भोलि समाजमा पुनस्थापित हुन गाह्रो हुने उनले बताइन् । ‘अदालतबाट निर्दोष सावित भयो भने फर्कने यही समाजमा हो । अहिले यसरी बेइज्जत हुँदा भोलि विवाह नहुन सक्छ । शिर उठाएर बाँच्न सक्ने स्थिति नबन्न सक्छ,’ उनी भन्छिन्, ‘किशोरीले तिरस्कार, अपमान र घृणा सहनुपर्छ, त्यतिबेला उनको साथमा राज्य हुन्न ।’

अधिवक्ता सुवास आचार्यका अनुसार ती किशोरी अनुसन्धानको क्रममा छिन्, अपराधी करार भइसकेको होइन । उनी घटनाको कारण हुन्, कर्ता होइनन् । उनको इज्जत र प्रतिष्ठाको कानुनले संरक्षण गर्छ । ‘कसैको चरित्रहत्या गर्ने कन्टेन्ट, प्रकाशन र प्रकाशन गर्न पाइन्न । छापाबाट आयो भने गाली बेइज्जतीको कसुर हुन्छ । अनलाइनबाट आउछ भने साइबर क्राइम हुन्छ,’ अधिवक्ता आचार्यले भने । उनीमाथि भइरहेको चरित्रहत्याको उनका वकिल वा आफन्तले उजुरी दिन सक्ने आचार्यले बताए । उनको आमा, बुबा र दाजु पनि पक्राउ परेका छन् । आचार्य भन्छन्, ‘किशोरीले आफ्नो चरित्रहत्या भएको महसुस गरिन् भने हिरासतबाट छुटेपछि पनि मुद्दा चलाउन पाइन्छ ।’

एकातिर सार्वजनिक गालीगलौज, अर्कातिर अनुसन्धानकै क्रममा उनीमाथि प्रहरीको व्यवहार पनि कानुनविपरीत छ । अपराध संहिता, २०७४ र बालबालिकासम्बन्धी ऐन, २०७५ मा १८ वर्षमुनिका बालबालिकालाई अनुसन्धानका क्रममा पनि वयस्कलाई झैं हिरासत कक्षमा राख्न पाइन्न, बालसुधार गृहमा राख्नुपर्छ । तर, रुकुम पश्चिम प्रहरीले नवराजकी प्रेमिकालाई हिरासत कक्षमै राखेको छ । ‘नाबालिगलाई बालसुधार गृहमा राख्नुपर्छ, प्रहरी हिरासतमा राख्न मिल्दैन,’ अधिवक्ता आचार्य भन्छन्, ‘अनुसन्धान गर्नुपर्ने जिल्लामा बालसुधार गृह छैन भने अन्यत्र पठाउनुपर्छ ।’

रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसी किशोरीलाई उनकी आमाको साथमा राखिएको बताउँछन् । ‘उनको विषयमा घटना घटेकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको हो,’ केसीले भने, ‘उनलाई आमासँगै राखिएको छ ।’ यही घटनामा अनुसन्धान गर्न रुकुम पश्चिम खटिएका एसएसपी पोषराज पोखरेलले पनि विकल्प नभएर आमा–छोरीलाई सँगै राखेको बताए । ‘यहाँ बालसुधार गृह छैन । त्यसैले महिला सेललाई नै सुधार गृह बनाएर किशोरीलाई आमासँगै राखिएको छ ।’ तर, यसो गर्दा बालअधिकार हनन भएको र किशोरीलाई मानसिक तनाव हुन सक्ने विज्ञ बताउँछन् । ‘आमा वा अन्य आफन्त, कोहीसँग पनि बालबालिकालाई हिरासतमा राख्न पाइन्न । राम्रो खान दिए पनि, मखमली बिछ्यौनामा सुताए पनि त्यो हिरासतले नै हो,’ अधिवक्ता आचार्यले भने ।

हिरासतमा आमासँगै राख्दा किशोरी ‘होस्टायल’ (मुद्दामा डर वा लोभमा परी झूटो कुरा गर्ने) हुन सक्ने मानवअधिकार आयोगकी आयुक्त अन्सारीले बताइन् । दबाब वा प्रभावमा किशोरीले यथार्थ कुरा लुकाउन वा तोडमोड गर्ने सम्भावना हुन्छ । भन्छिन्, ‘उनी घटनाको ठूलो प्रमाण हुन्, उनलाई होस्टाइल हुनुबाट जोगाउनु राज्यको दायित्व हो ।’ उनका अनुसार नेपाल प्रहरीको सम्बन्धित युनिटले हेडक्वार्टरसँग बच्चालाई हिरासतमा राख्न नसक्ने अडान राखेर बालसुधार गृहमा लैजानुपथ्र्यो ।

एकातिर प्रेम वियोग र अर्कातिर सार्वजनिक बेइज्जती भोगिरहेकी ती किशोरी यसरी बालसुधार गृहमा बस्न पाउने अधिकारबाट पनि वञ्चित छन हुन पुगेकी छन् । मुद्दामा उनको बयान महत्त्वपूर्ण प्रमाणका रूपमा लिइनेछ, तर आमासँगै बसेका कारण उनी होस्टाइल हुने जोखिम पनि उत्तिकै बढेको छ ।

‘किशोरीलाई पक्राउ गरेको २४ घण्टाभित्र बयान लिएर बालसुधार गृहमा लैजानुपथ्र्यो । हिरासत कक्षमा त प्रहरीले नै गलत नजरले हेर्न सक्छन्,’ अन्सारीले चिन्ता व्यक्त गरिन् । तर, उनीसँग बयान पनि ढिला लिइयो । १३ गते पक्राउ परेकी किशोरीको २५ र २६ गते बयान लिइएको थियो । अपराध संहिताको दफा ४५ तथा बालबालिकासम्बन्धी ऐनको दफा ३६ बमोजिम १६ वर्ष वा सोभन्दा माथि र १८ वर्ष वा सोभन्दा कम बालबालिकाको हकमा उमेर पुगेको कसुरदारलाई हुने सजायको दुई तिहाइ सजाय मात्र हुन्छ । त्यस्तै, अपराध संहितामा १८ वर्षभन्दा कम उमेरका बालिकाको मञ्जुरी लिएर यौनसम्पर्क भए पनि त्यो जबर्जस्ती करणी हुने उल्लेख छ ।

सामाजिक सञ्जालमा किशोरीको स्वास्थ्यलाई लिएर अनेक टीकाटिप्पणी र दाबी भइरहेका छन् । त्यसमा पनि उनको गोपनीयताको हनन भएको छ । डीएसपी केसी भन्छन्, ‘बाहिर अफवाह चलेअनुसार किशोरीको स्वास्थ्यमा कुनै समस्या छैन । उनी स्वस्थ छिन् ।’ केसीले किशोरीमाथि भइरहेको गालीबेइज्जतीको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको र यो घटना अदालती प्रक्रियामा पुगेपछि त्यसउपर छानबिन गर्ने बताए । ‘किशोरीको चरित्रहत्या गर्नेलाई अहिल्यै पक्राउ गर्दा विषयान्तर गरेको आरोप लाग्न सक्छ । त्यसैले समय आउनासाथ हामी कारबाही सुरु गर्छौं । त्यस्ता कन्टेन्ट र प्रयोगकर्तामाथि हामीले निगरानी गरिरहेका छौं,’ केसीले भने ।

प्रकाशित : जेष्ठ २९, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?