जग्गा खरिद गरिदिने भन्दै १ करोड ६६ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ — जग्गा खरिद गरिदिने भन्दै पैसा लिएर जग्गा बैना गरेर नामसारी नगरी १ करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभा घर्मदेवी नगरपालिका–२ घर भई काठमाडौं महानगर–६ बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी छन् ।
रकम लिई जग्गा बैना गरी नामसारी नगरी चेकबाट पैसा र्फिता लिनु भनी खातामा पैसा नभएको चेक दिएर ठगी गरेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार कागेश्वरी मनोहरा नगरपालिका थलीबाट पक्राउ गरेको हो ।
भण्डारीले ८ जनाबाट १ करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । भण्डारीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखेको प्रहरीले जनाएको छ ।
प्रकाशित : पुस ६, २०७८ २०:१४प्रतिक्रिया