कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकल लेनका लागि बर्सेनि बजेट तर काम शून्य

०७६ मंसिरमा साइकल लेनको थ्रिडी डिजाइन बने पनि काठमाडौं महानगर निर्माण थाल्नेबारे अझै अनिर्णीत
ललितपुरले २२ किमि साइकल लेन बनाए पनि संरक्षणमा छैन चासो
सीमा तामाङ

काठमाडौँ — सडकको सतहभन्दा केही माथि उठेको ट्याक्टाइल पेभिङसहितको बाटो नै साइकल लेन हो । तर कतिलाई त आजसम्म पनि माइतीघर–तीनकुने सडक खण्डमा साइकल लेन छ भन्ने जानकारीसमेत छैन । यो खण्डमा दुईतर्फी गरी २.५ किलोमिटर लामो साइकल लेन छ ।

साइकल लेनका लागि बर्सेनि बजेट तर काम शून्य

सरकारले २०७० मा नै विस्तार गरेको यो साइकल लेनको कुनै नामोनिसान छैन । कतै रुखबिरुवा रोपिएका छन् त कतै निःशुल्क पार्किङ स्थल बनाइएको छ । पैदलयात्रु र फुटपाथ व्यवसायीले पनि प्रयोग गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले यो लेनलाई पुनः प्रयोगका लागि भौतिक संरचनागत सुधार तथा व्यवस्थापन गर्ने भन्दै बर्सेनि बजेट छुट्याउँदै आएको छ तर अहिलेसम्म केही काम भएको छैन । महानगरले आर्थिक वर्ष ०७४/७५ मा ५० लाख, ०७५/७६ मा १ करोड २० लाख, ०७६/७७ मा ५० लाख, ०७७/७८ मा १ करोड रुपैयाँ छुट्याएको थियो । चालु आव ०७८/७९ मा पनि ४ करोड ७५ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म कुनै भौतिक प्रगति छैन ।

महानगरको शहरी योजना आयोगले ०७६ मंसिरमै उक्त लेन विस्तार गर्न थ्रिडी डिजाइन टुंगो लागेको भन्दै सार्वजनिकसमेत गरेको थियो । आयोगका उपाध्यक्ष सरोज बस्नेतले विस्तारित साइकल लेन बनाउन लाग्ने अनुमानित खर्चसहित डिजाइन महानगरको पूर्वाधार विभागमा पठाइसकेको बताए । ‘हाम्रो डिजाइनअनुसार ५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ,’ उनले भने, ‘डिजाइन सकेर पठाइसक्यौं, फिल्डमा काम अर्को विभागले गर्ने हो ।’

तर महानगरको पूर्वाधार विभाग प्रमुख रामबहादुर थापा भने आयोगले प्रस्ताव गरेको डिजाइनअनुसार बढी खर्च लाग्ने देखिएकाले कम खर्चमा बनाउन सकिन्छ कि भनेर छलफल भइरहेको बताए । ‘आयोगले प्रस्ताव गरेको डिजाइनमा बनाउँदा बढी खर्च हुन्छ,’ उनले भने, ‘डिजाइनमा राजमार्गमा प्रयोग गरिने सामग्री राखिएको छ, त्यसरी जाँदा खर्च बढ्छ । साइकल हलुका साधन हो । त्यसको लागि टायल पनि राख्न सकिन्छ । त्यसैले छलफलकै चरणमा छौं ।’

छिमेकी ललितपुर महानगरपालिकाले भने २२ किलोमिटर सडकमा साइकल लेन विस्तार गरिसकेको छ । २०७६ मंसिर १४ मा पहिलो चरणअन्तर्गत १०.५ किमि साइकल लेनको शुभारम्भ गरेको थियो । एकान्तकुना हुँदै पुल्चोक आउने, पुल्चोकदेखि लगनखेल, टंगाल हुँदै मंगलबजार जाने, पुल्चोकबाट गाःबहाल हुँदै मंगलबजारसम्म पुग्ने, कुपण्डोलबाट पुल्चोक हुँदै पाटन दरबारक्षेत्रसम्म पुग्ने गरी साइकल लेन बनेको हो । लेन बनाउनुअगावै महानगरको प्रांगण, जावलाखेल, पाटनढोका, मंगलबजार, लगनखेललगायत १० ठाउँमा साइकल स्ट्यान्डसमेत निर्माण गरिएको छ । साइकल लेन विस्तार गरे पनि महानगरले यसको संरक्षण भने गर्न सकेको छैन ।

पुल्चोक–मंगलबजार खण्डमा कोरिएका साइकलको चित्र, लेनको रङ नै मेटिएको छ । त्यस्तै अवस्था छ, कुपन्डोलतर्फ पनि । जावलाखेल–लगनखेल खण्डमा भने साइकल लेनमै पार्किङ गरेको पाइन्छ । महानगरले लेन विस्तार गरेसँगै साइकल यात्रुको सुरक्षाको लागि भन्दै साइकल ऐन नै ल्याउने निर्णय गरेको थियो । नेपाल साइकल सोसाइटीले उक्त ऐनको मस्यौदा तयार गरी २०७६ पुसमै महानगरको विधायन समितिमा बुझाएको थियो । ऐनलाई विधायन समितिले अन्तिम रूप दिएपछि नगरसभामा पेस गरी निर्णय गराउने महानगरले जनाएको थियो । तर अहिलेसम्म ऐन बन्न सकेको छैन ।

ललितपुर–३ का अध्यक्षसमेत रहेका विधायन समिति संयोजक श्रीगोपाल महर्जनका अनुसार संघ र प्रदेश दुवै सरकारले हालसम्म साइकलसम्बन्धी ऐन निर्माण नगरेकोले यहाँ विलम्ब भएको हो । ‘ट्राफिक महाशाखा, सडक विभाग, यातायात विभागसँग बसेर पटक–पटक छलफल गर्‍यौं, छलफलबाट निर्णय भने गर्न सकेनौं,’ उनले भने, ‘तीनवटै निकायले संघीय कानुनमा व्यवस्था छैन, प्रदेश सरकारसँग समन्वयमा जानू भन्ने सुझाव दिएका छन् ।’

साइकल लेन प्रयोग गर्दा यात्रुले अन्य सवारी साधनसँग मिलेर चलाउनुपर्छ । साइकल यात्रु भएको बेलामा अन्य सवारी साधनले साइकललाई नै प्राथमिकता दिनुपर्छ । यद्यपि साइकल नभएको खण्डमा सवारी साधनले पनि उक्त लेन प्रयोग गरिरहेका छन् । साझोदारी साइकल लेन भएकाले लेनमा साइकल चालकलाई प्राथमिकता नदिई अन्य सवारी चलाएको अवस्थामा १ हजार रूपैयाँ र चालकलाई बाधा पुग्ने गरी लेनमा पार्किङ गरे १५ सय रूपैयाँ जरिवाना हुने मस्यौदामा उल्लेख छ । त्यस्तै, साइकल चालकले पनि क्षमता (२ जना) भन्दा धेरै यात्रु बोक्न नहुने, साइकलमा अगाडि–पछाडि चम्किलो, टल्किने स्टिकर टाँस्नुपर्नेजस्ता नियम पालना गर्नुपर्ने उल्लेख छ ।

अर्न्तराष्ट्रिय प्रयोग र मान्यताका आधारमा साइकल लेनको चौडाइ कम्तिमा पनि १.२ मिटरदेखि २ मिटरसम्मको हुनुपर्छ । यो लेन अन्य सवारी साधनले प्रयोग गर्ने लेनभन्दा बाहिर हुनुपर्ने नियम हो । अन्तर्राष्ट्रिय प्रयोगका हिसाबमा सडकको अवस्था हेरी ३ तरिकाले साइकल लेन छुट्याउन सकिन्छ । जसमा डेडिकेटेट, कन्ट्राफ्लो र एडभाइजर पद्दति छन् । ललितपुर महानगरले बनाएको साइकल लेन एडभाइजर पद्धतिको हो । जुन त्यति प्रभावकारी र व्यावहारिक मानिँदैन । भएकै सडकलाई साझेदारीको रूपमा प्रयोग गर्ने पद्धति भएकाले अन्य सवारीसाधनले साइकल लेन मिच्ने र साइकल यात्रीको सुरक्षासमेत कमजोर हुने मानिन्छ ।

प्रकाशित : मंसिर १०, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?