अदालतबाट जरिवना ठहर भएका गुरुङ पक्राउ- उपत्यका - कान्तिपुर समाचार

अदालतबाट जरिवना ठहर भएका गुरुङ पक्राउ

रासस

काठमाडौँ — नेपाल प्रहरीले अदालतबाट २० लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई बिहीबार पक्राउ गरेको हो । 

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम २० लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई बिहीबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी गुरुङले आफ्नो एनआईसी एशिया बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।

उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । गुरुङलाई आजै जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।


प्रकाशित : मंसिर ९, २०७८ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्

मंसिर २४ देखि तामाङ सेलो संगीत महोत्सव 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल तामाङ कलाकार संघले यही मंसिर २४ र २५ गते तामाङ मौलिक सेलो संगीत महोत्सव गर्ने भएको छ । महोत्सव बौद्धस्थित होटल हायातको खुल्ला मैदानमा हुने कलाकार संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले महोत्सव आयोजना गरेको संघको बतायो । महामारीका कारण अघिल्लो वर्ष भने संघले महोत्सव गर्न सकेन ।

संघका अध्यक्ष विश्व दोङले डम्फू अर्थात् ताम्बा संस्कृतिसँगै आउने तामाङ सेलो संगीतमार्फत तामाङ जातिको पुर्खा, इतिहास, पहिचान तथा सभ्यताको जगेर्ना गर्न सेलो संगीत महोत्सव गर्दै आएको बताए । ‘डम्फू संस्कृति हाम्रो विधि, विधान र संस्कृतिको एउटा कानुन हो’, दोङले भने,‘डम्फूले हाम्रो जन्मदेखि मृत्युसम्मको सबै विधिको ऐतिहासिक कुरा गर्छ । यो तामाङ समुदायको दर्शन पनि भएकोले यसलाई जोगाउन अति आवश्यक छ ।’ डम्फूको तालमा गाउने तामाङ सेलोमा म्हेन्दोमाया, खन्दोके, फापरे गीतहरु समुदायमा प्रचलित रहेको सुनाउँदै महोत्सवमा ती सबैलाई समेटिने उनले सुनाए ।

महोत्सवमा मूल आकर्षकका रुपमा ताम्बा संस्कृति रहनेछ । ताम्बाहरुद्वारा डम्फूको महत्वमाथि समेत परिचर्चाहरु हुनेछन् । दोङका अनुसार ताम्बा तथा मौलिक सेलो गीतहरुको समेत प्रस्तुति रहने महोत्सवले समग्रमा तामाङ समुदायको सभ्यता र संस्कृतिको झल्को दिनेछ ।


प्रकाशित : मंसिर ९, २०७८ २१:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×