९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न दूरसञ्चारको निर्देशन- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न दूरसञ्चारको निर्देशन

रासस

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जिएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।

टेलिकमले यसअघि सिडिएमएमा प्रयोग हुँदैआएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जिएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो । त्यसमध्ये ९७४ मा आधारित भएर जिएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार सञ्चालक समितिले टेलिकमले स्वीकृतबिना नम्बर वितरण गरेकाले एक पटकका लागि सचेत गराउने र आगामी दिनमा सोही प्रकारका कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुनेछ ।

यस्तै सञ्चालक समितिले टेलिकमलाई पुनःनम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो ।

नम्बर प्रयोगकर्तालाई वितरण भएपछि उक्त नम्बर दीर्घकालीन रूपमा प्रयोग हुने भएकाले अस्थायी रूपमा प्रदान गरिएको नम्बरिङ रेञ्ज ९७६ स्थायी रूपमा प्रदान हुनेछ । सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । नेपामा हाल करिब तीन लाख २० हजार सिडिएमए प्रयोगकर्ता छन् ।

फाइभजी परीक्षणको जिम्मा

प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीको परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिएको छ । कात्तिक २९ गते बसेको प्राधिकरण बोर्डले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ बमोजिम हुनेगरी टेलिकमलाई फाइभजीको ट्रायलका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

परीक्षणका लागि आवश्यक पर्ने उपकरण जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई जानकारी गराउने शर्तमा थप फ्रिक्वेन्सी व्याण्डविथ आवश्यक भएमा पछि उपलब्ध गराइने गरी हाललाई २६०० मेगाहर्ज ब्याण्डमा २५००–२५६० मेगाहर्ज फ्रिक्वेन्सी व्याण्डविथ एक वर्षका लागि निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित : मंसिर ८, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्

सन्दर्भ विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर

रासस

काठमाडौँ — तिलगंगा आँखा प्रतिष्ठानले आँखामा मधुमेहको असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विश्व मधुमेह दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । ‘मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले' मूल भावका साथ प्रतिष्ठानले नि:शुल्क उपचार सेवा पनि प्रदान गरेको छ ।

यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउन अस्पतालको हाताभित्र बुधबार जानकारीमूलक विभिन्न सामग्री वितरण, आमसञ्चारका विभिन्न माध्यममा सामग्री प्रचारप्रसार तथा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । यस क्रममा ९९ जनाले निःशुल्क परीक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक तीनमध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको बताइन्छ । मधुमेह लागेका व्यक्तिमा हृदयरोगको जोखिम सामान्य मानिसमा भन्दा तीनगुना बढी हुन्छ । मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुणा बढी हुन्छ ।

संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाइरहेका छन् । प्रत्येक दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोपचारका माध्यमबाट सजिलै ५० प्रतिशतभन्दा बढीमा रोकथाम गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ । संसारमा कूल अन्धोपनामध्ये ४.८ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ ।

मधुमेहको आँखामा असर ‘डायबेटिक रेटिनोपेथी’ सम्बन्धी जनचेतना जगाउन सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोपेथी दिवस’ मनाउँदैआएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ २१:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×