कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाटीपौवामा पसल

ललितपुरले संरक्षण अभियान चलाइरहँदा काठमाडौं महानगर भने उदासीन 
सीमा तामाङ

काठमाडौँ — ललितपुरको पुल्चोकस्थित दुई सय वर्षभन्दा पुरानो समय् फल्चा (पाटी) को गत भदौमा पुनर्निर्माण सुरु भयो । २०२९ सालमा भत्काइएको उक्त फल्चाको पुनर्निर्माण लामो मुद्दामामिलापछि सुरु भएको हो ।यससँगै ललितपुर महानगरले अन्य फल्चाको संरक्षण पनि सुरु गरेको छ ।

पाटीपौवामा पसल

त्यसका लागि पहिलो चरणमा त्यहाँ रहेका पसलहरू हटाउन थालिएको छ । महानगरले आफ्नो क्षेत्राधिकारभित्रका सत्तल, फल्चा तथा मन्दिर परिसरमा संस्था तथा व्यक्तिले सञ्चालन गरेका पसलहरूले सांस्कृतिक सम्पदाको सौन्दर्य बिगारेको भन्दै हटाउन थालेको हो ।

ललितपुर महानगरले फल्चालगायत ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष चासो देखाइरहँदा छिमेकी काठमाडौं महानगर भने त्यस्ता सम्पदाको संरक्षणप्रति गम्भीर देखिँदैन । कामनपाका सत्तल, फल्चा, मन्दिरदेखि सडकसम्ममा पसल राखिएका छन् । महानगरका मरु गणेस्थान, असन, इन्द्रचोक, महाबौद्धलगायत भित्री सहरका सांस्कृतिक सम्पदा पसलले नै भरिएको छ । काठमाडौंस्थित इन्द्रचोकको वंशेश्वर मन्दिरको वरिपरि पछ्यौरालगायत जाडो महिनाका सामान बेच्ने व्यवसायी छन् । मन्दिर र महानगरका नगर प्रहरीलाई भाडा तिरेर नै पसल राखेको व्यवसायीहरू बताउँछन् ।

‘यहाँबाट नहटाउने भनेर महानगरसँग सम्झौता भइसक्यो,’ एक व्यवसायीले भने, ‘महानगरलाई मासिक तीन हजार र मन्दिरलाई व्यापार हेरेर बुझाउनुपर्छ ।’ वंशेश्वर मन्दिरमा मात्र होइन, त्यहाँ वरिपरिका सबै मन्दिर परिसरमा पसल छन् । त्यस्तै वसन्तपुरस्थित मरु गणेस्थान परिसरमा पनि मन्दिरमै व्यवसायीले पसल राखेका छन् । मरु गणेस्थानस्थित लक्ष्मीनारायण सत्तलमा पसल सञ्चालन गरिरहेकी सुनिता श्रेष्ठ भन्छिन्, ‘९० सालदेखिको पसल हो, त्यसैले कसैले केही भन्दैनन् ।’ उनले मासिक भाडा गुठीलाई तिर्छिन् । ‘जोशीहरूको गुठी छ, त्यसैले मासिक भाडा तिर्छु,’ उनले भनिन् ।

मन्दिर परिसरमा पसल चलाउने व्यवसायीहरूले छुट्टाछुट्टै समिति, संस्था तथा व्यक्तिलाई भाडाबापतको पैसा तिर्ने गरेका छन् । केही व्यवसायीहरू त पसल राखेबापत काठमाडौं महानगरका नगर प्रहरीले ‘पैसा’ बुझ्ने गरेको आरोप लगाउँछन् । मासिक रूपमा नगर प्रहरीलाई पैसा दिने भएकाले ढुक्कसँग पसल राखेको एक व्यवसायीले बताए । तर, महानगरका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटा भने पैसा लिएको कुरा अस्वीकार गर्छन् । ‘पाटीपौवा, सत्तललगायत फुटपाथमा पसल राख्नेहरूसँग सम्झौता पनि भएको छैन, पैसा पनि लिएको छैन,’ उनले भने, ‘पैसा लिएको भए रसिद र सम्झौताको पत्र माग्नुहोस् ।’

सापकोटाका अनुसार मठमन्दिर, पाटीपौवाको संरक्षण गर्ने जिम्मेवारी महानगरको मात्र भए पनि पूर्ण रूपमा हस्तक्षेप गर्न नसकिने बताउँछन् । ‘महानगरभित्रका मठमन्दिर, पाटीपौवाको संरक्षण, सौन्दर्यकरण गर्न त्यहाँ सञ्चालित पसलहरू हटाउनुपर्छ,’ उनले भने, ‘ती सबै क्षेत्र महानगरभित्र पर्छन । तर गुठी संस्थान, मन्दिरका समिति तथा स्थानीयले वर्षौंदेखि भाडामा लगाउनेलगायत विविध कार्य गरिरहेका छन् । त्यसलै महानगरले हस्तक्षेप गर्न मिल्दैन ।’ जुन संरचना जे प्रयोजनका लागि बनाइएको हो, त्यसबाहेक अन्य कामका लागि प्रयोग गर्न नमिल्ने महानगरको पनि भनाइ रहेको नगर प्रहरी प्रमुख सापकोटाले बताए । ‘पाटीपैवा, सत्तललगायतमा सञ्चालित पसल हटाउन खोजेका हौं, तर सबै महानगरको क्षेत्राधिकारभित्र पर्दैन,’ उनले भने ।

काठमाडौं महानगरले यसो भनिरहँदा ललितपुर महानगरले भने सम्पदा संरक्षणका लागि ठोस योजना बनाएर अभियान नै चलाएको छ । ललितपुरले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरी भाडामा लगाएका सम्पदामा सञ्चालित पसलहरू हटाउन थालेको छ । महानगर क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमण हुँदै आएकोमा त्यसलाई रोक्न अभियान नै चलाइएको ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन् ।

लामो समयदेखि यस्ता सार्वजनिक स्थानका फल्चा, मन्दिर परिसरमा कपडा पसल तथा फलफूल र तरकारी पसल सञ्चालन हुँदै आएका थिए । उक्त फल्चामा स्थानीय समिति तथा व्यक्तिले आफूखुसी भाडामा लगाउने गरेको पाइएको हाछेथुले बताए । उनका अनुसार मंगलबजार, टंगाल, थटी टोल, इटी टोलका फल्चा तथा मन्दिर पेटीमा राखिएका एक दर्जनभन्दा बढी पसल हटाइएको छ । ऐतिहासिक सम्पदाहरू हेर्न नमिल्ने गरी पसल राखिँदा पर्यटन र ऐतिहासिक स्थलको महत्त्व घट्ने भएकाले हटाउन अभियान नै सुरु गरिएको ललितपुरका मेयर चिरिबाबु महर्जनले बताए । ‘पहिला हामीसँग नगर प्रहरीमा जनशक्ति अभाव थियो, त्यसकारण गराउन सकेनौं,’ उनले भने, ‘गुठी संस्थान मातहतका बाहेक पाटीपौवा, मन्दिरमा सञ्चालित पसल हटाउन सुरु गरेका छौं ।’

सम्पदाविद् राजु मानन्धर मठमन्दिर, पाटीपौवा भाडामा लगाउने र कमाउने भाडो बनेको बताउँछन् । ‘काठमाडौं शहर विकसित हुँदाको असन, इन्द्रचोक, लगनखेल क्षेत्र परापूर्वकालका व्यापारिक मार्ग हुन् । भोट जाने व्यापारीहरू पहिला यही बाटो हुँदै व्यापार गर्न जान्थे । उनीहरूको लागि असन, इन्द्रचोक क्षेत्रका पाटीपौवा, सत्तल निःशुल्क होटलका रुपमा थिए । तर, अहिले ती पाटीपैवा, सत्तल, मन्दिर पैसा कमाउने भाँडो बनेका छन्,’ उनले भने ।

त्यहीँका स्थानीय बासिन्दाले कब्जा गरेकै कारण महानगर पनि विवादमा आउन नखोजेको उनको भनाइ छ । ‘तर, महानगरले यस्ता सांस्कृतिक सम्पदाको जगेर्ना र संरक्षणको लागि पहल गर्नुपर्छ । यदि बाहिरबाट आएर अरु व्यक्तिले कब्जा गरेको भए पहल गर्थ्यो होला । स्थानीय भएकाले केही नगरेको हो,’ उनले भने ।

प्रकाशित : कार्तिक २३, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?