२४ घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन- उपत्यका - कान्तिपुर समाचार

२४ घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । दसैँ/तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ ।

छलफलमा नगरकोट सडक तत्काल मर्मत गरि निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहजरुपमा यातायातका साधन सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिए ।

आफूले यहाँ आएपछि जिल्लाका अधिकांश सडक घुम्ने क्रममा सडकको कन्तबिजोग देखेको उल्लेख गर्दै उनले सडकको दुरावस्थाको तस्विर र जनताबाट आएका गुनासाको चाङ देखाएर जनगुनासो नआउने गरि काम गर्न निर्देशन दिए ।

छलफलमा सडक बिस्तार गर्दा विद्युत्‌ले पोल नसारिदिँदा दुर्घटनाको जोखिम बढेको, केबुल र इन्टरनेटका तार लत्रदा दुर्घटना भएको, सडकमा चौपाय र सडक बत्ती नहुँदा राजमार्गमा दुर्घटना बढेको, सडकलाई पार्किङ क्षेत्र बनाइएको लगायत समस्यामाथि छलफल भएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख सल्लाहकार, सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव र जिल्लामा सञ्चालित विभिन्न सडक आयोजनाका प्रमुख, चारवटै सुरक्षा निकायका प्रमुख एवं नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख सदस्य रहने गरी कमाण्ड सेन्टर गठन गरिएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

बालिकाको शिक्षा सुनिश्चित गरौं

शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न, उत्थानशीलतालाई प्राथमिकतामा राख्न र बालिका शिक्षाका मुख्य व्यवधान तथा अवरोधहरू हटाउन सक्ने लैङ्गिक उत्तरदायी कदम वा मापदण्ड बनाई समान रूपले पुनः निर्माण गर्ने एउटा विधि बनाई कार्यान्वयन गर्न जरुरी छ ।
प्रकाश सपुत

आज अन्तर्राष्ट्रिय बालिका दिवस । यो दिवस विश्वका अरु मुलुकमा जस्तै नेपालमा पनि मनाइन्छ । तर यो दिवस मनाउने क्रममा हामीले बालिकाहरूको शिक्षामा पहुँचको लागि के गरिरहेका छौं यो बुझ्न जरुरी छ । विशेषगरी कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरूलाई कसरी सामना गर्दै बालिकाहरूको शिक्षामा पहुँच बढाउने हो यो बुझ्न जरुरी छ । म पेशाले गायक हुँ र आज मलाई यो अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा केही कुरा राख्न मन लागेको छ ।

कोभिड–१९ महामारी फैलिन नदिने प्रयास स्वरूप नेपालले पनि विश्वका अधिकांश देशहरूले जस्तै अस्थायी रूपमा शैक्षिक संस्थाहरू बन्द गरेको छ । नेपालले दुई पटकको बन्दाबन्दी भोगिसकेको छ ।यसबीच अन्य क्षेत्रभन्दा विद्यालय सबैभन्दा बढी बन्द रहे। हालसम्म पहिलो र दोस्रो बन्दाबन्दीले गर्दा नेपालमा ७४ हप्तासम्म विद्यालयहरू पूर्ण र आंशिक रूपमा बन्द भइसकेका छन् । कोभिड–१९ को अत्याधिक संक्रमण देखिएका राष्ट्रहरूमा समेत विद्यालयहरू यति लामो समयसम्म बन्द भएका छैनन्। चीन– २७, युके– २७, ईटली– ३८, जर्मनी– ३८, अस्ट्रेलिया– ४०, पाकिस्तान– ६०, युएसए– ६२, मेक्सिको– ६३, ब्राजील– ६९ ।

तसर्थ, यतिबेला महामारीका कारण बालिकाको शिक्षा पूर्ण अवरुद्ध हुने जोखिम बढेको छ । धेरै बालिकाहरूले विद्यालय बन्द हुँदा घरमै बसेर पढ्न/सिक्न सकिरहेका छैनन् । प्रायजसो विद्यालयहरूले अनलाइन सिकाइका माध्यम प्रयोग गरिरहेका भएतापनि अनलाइन सिकाइ माध्यम प्रयोग गर्ने क्रममा निम्न र मध्यम आय भएका परिवारका बालिकाहरू निकै नै पछाडि देखिन्छन् ।

कोभिड–१९ ले विशेषगरी पुनः विद्यालय नजाने सम्भावनाका कारण विपन्न बालिकालाई निकै पछाडि पार्न सक्छ ।गत वर्ष निम्न आधारभूत (प्राथमिक) तहका २ लाख भन्दा बढी (२,२३,२०१) बालिकाहरूले विद्यालय निरन्तर रुपमा गएनन् भने उच्च आधारभूत (निम्नमाध्यमिक) तहका झण्डै १ लाख र आधारभूत – माध्यमिक) तहका करिब ३ लाख ७० हजार बालिकाहरूले विद्यालय निरन्तर रुपमा नगएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको प्रतिवेदनले देखाएको छ । यदि यो तथ्याङ्क बढ्दै जाने हो भने र बालिकाहरू पुनः विद्यालय नजाने हो भने यसले बालिकाको जीवनमा धेरै समस्याहरू निम्त्याउँछ । जस्तै सानै उमेरमा हुने विवाह,जबर्जस्ती विवाह तथा यौन दुर्व्यवहारका घटना आदि । नेपाल जस्तो विपन्न परिवार र बालबालिकाको सीमित निगरानी गरिने देशमा बस्ने बालिकाको हकमा यी जोखिमहरू उच्च हुने गर्छन् ।

कोभिड–१९ ले सिर्जित यस अवस्थामा बालिकाहरूलाई हानिबाट सुरक्षित राख्न, बालिकाको निरन्तर सिकाइ सुनिश्चित गर्न सामान्य प्रविधिको प्रयोग, वा अन्य माध्यम, सामान्य प्रविधि र अन्य प्रविधिको प्रयोगमार्फत् मिश्रित विधि लागू गर्न, बालिकालाई अन्य माध्यममार्फत निरन्तर पढ्न/सिक्न प्रोत्साहित गर्न, विद्यालय बन्द हुँदा बालिकाहरूको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइ सुनिश्चित गर्न, विद्यालय बाहिर हुँदा बालिकामाथि आइपर्न सक्ने सानै उमेरमा हुने विवाह, हिंसा र दुर्व्यवहार जस्ता जोखिम बारे प्रचारप्रसार गर्न, बालिकालाई सुरक्षित राख्न सक्ने उपायहरू प्रवर्द्धन गर्न, विद्यालय बाहिर रहेका सीमान्तकृत र बहिष्कृत बालिकाको आवाजलाई थप सशक्त बनाउन जस्ता धेरै कार्यहरू गर्न जरुरी छ ।

अहिलेको अवस्थामा बालिकाका आवश्यकता समेटिएको र उनीहरूलाई पुनः विद्यालय जान मद्दत गर्ने गरी कोभिडविरुद्ध शैक्षिक प्रतिकार्य तथा पुनर्उत्थान योजना बनाई कार्यान्वयन गर्न जरुरी छ ।विद्यालय बन्द भएको बेला सिकाइको निरन्तरता सुनिश्चित गर्ने र सुरक्षित, लैङ्गिक उत्तरदायी तथा बालमैत्री तरिकाले पुनः विद्यालय सुचारु गर्न विस्तृत, समयानुकूल तथा तथ्यमा आधारित योजना बनाउन धेरै कार्यहरू गर्न जरुरी छ ।बालिकाको पढाइ/सिकाइ छुटेको छैन भनेर सुनिश्चित गर्नपुर्छ । यदि विद्यालय बन्द भइरहेका छन् भने उपलब्ध र सम्भव भएका सबै माध्यम अपनाएर निरन्तरत सिकाइका लागि बालिकालाई सहयोग गर्नुपर्छ । बालक र बालिकाबीच कम्प्युटर, मोबाइल फोन र इन्टरनेटको पहुँचमा रहेको अन्तर हटाउनुपर्छ । बालिकाका लागि डिजिटल पहुँच र सीप प्रवर्द्धन गर्नुपर्छ ।

पुनः विद्यालय खुले पछि बालिकाहरू पुनः विद्यालय जान सक्ने सम्भावना कम छ । बालिकाहरूलाई सुरक्षित साथ पुनः विद्यालय पठाउने कार्यमा लाग्न जरुरी छ । अवस्था सुरक्षित भएलगत्तै बालिकालाई पुनः विद्यालय पठाउन जोड दिन जरुरी छ । त्यसैले बालिकालाई पुनः विद्यालय पठाउन परिवार र समुदायका अन्य सदस्यलाई प्रेरित गर्न जरुरी छ । देशको नीति आवश्यकता अनुसार परिवर्तन गर्दै छुटेको पाठ पुनः पठाउने र वित्तीय सहयोगको व्यवस्था लगायतका कदम चालेर सिकाइमा बालिकाको पहुँच छ भनेर सुनिश्चित गर्नुपर्छ । शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न, उत्थानशीलतालाई प्राथमिकतामा राख्न र बालिका शिक्षाका मुख्य व्यवधान तथा अवरोधहरू हटाउन सक्ने लैङ्गिक उत्तरदायी कदम वा मापदण्ड बनाई समान रूपले पुनः निर्माण गर्ने एउटा विधि बनाई कार्यान्वयन गर्न जरुरी छ ।

शिक्षा/विद्यालय भनेको बालिकाका लागि नभई नहुने र सफलताको एउटा महत्त्वपूर्ण आधार हो । तसर्थ, पुनः विद्यालय खुले पछि पुनः विद्यालय पठाउने बालिकाहरू विद्यालय गइरहेका छन् भनेर सुनिश्चिन गर्नुपर्छ । सुरक्षित साथ पुनः विद्यालय जाने क्रममा बालिकाहरूलाई मद्दत गर्नुपर्छ । यदि कुनै बालिकाको पढाइ छुटेको छ वा विद्यालय गएका छैनन् भने उनीहरूको पहिचान गरी नजानुको कारण पत्ता लगाउने र पुनः विद्यालय पठाउने गर्नुपर्छ । कोभिड–१९ पछि पुनः विद्यालय खुलेपछि हरेक बालिका विद्यालय जानुपर्छ किनभने यो उनीहरूको अधिकार हो । सबै बालिकाहरू पुनः विद्यालय गएपछि मात्रै यो संकट पूर्ण रूपमा अन्त्य भएको मान्नुपर्छ ।

१७ वर्षमुनिका सबै बालिकाले प्राथमिक शिक्षा हासिल गर्ने हो भने कम उमेरमै गर्भाधान हुने बालिकाको संख्या १०% प्रतिशतले घट्ने संयुक्त राष्ट्रसंघ र युनेस्कोको विश्वव्यापी शैक्षिक सहकार्यमा सदस्यको रूपमा आबद्ध संघ–संगठनहरूको अनुसन्धानले देखाएको छ । सो अध्ययनले सबै बालिकाहरूले प्राथमिक शिक्षा पूरा गर्ने हो भने भविष्यमा आमा बन्दा बालिकाहरू माथि सकारात्मक प्रभाव पर्छ र मातृ मृत्युदर घट्छ भन्ने देखाएको छ । साथै यदि महिलाले माध्यमिक शिक्षा पूरा गर्ने हो भने ज्यान गुमाउने शिशु तथा बालबालिकाको संख्या घट्छ र माध्यमिक शिक्षाले बालिकाका लागि घर बाहिर समेत आयआर्जन गर्ने अवसर/सम्भावना बढाउँछ ।थप एक वर्ष शिक्षा हासिल गर्दा बालिका वयस्क बनेपछि उनीहरूले गर्ने आयआर्जनमा २०% प्रतिशतसम्मले वृद्धि हुने उक्त अनुसन्धानले देखाएको छ ।

तसर्थ, सबै बालिकाहरू सुरक्षितसाथ पुनः विद्यालय जान सक्ने अवस्थालाई सुनिश्चित गरौँ ।शिक्षाको हक/अधिकार शिक्षा कानुनद्वारा संरक्षित विश्वव्यापी मानव अधिकार हो । हरेक बालिकासँग शिक्षाको अधिकार छ ।

प्रकाशित : आश्विन २५, २०७८ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×