ईडीभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ३ पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईडीभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ३ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — ईडीभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ३ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–२९ जुगेडी घर भई कलंकी बस्ने ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका–३ का ३१ वर्षीय नविन दराई र रौतहट चन्द्रपुर नगरपालिका–९ सिंदुरेघारी घर भई कोटेश्वर बस्ने ३२ वर्षीय शिव रोक्का छन् ।

ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरूले भिसा प्रयोजनको लागि १२ कक्षाको नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा नविन दराई र शिव रोक्कालाई महाराजगञ्जबाट पक्राउ गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये नविन दराईसँग जीवन कार्की १ लाख ७० हजार रुपैयाँ लिई कक्षा १२ को शैक्षिक प्रमाणपत्र बनाएर दिएको प्रहरीले जनाएको छ ।

नक्कली प्रमाण पत्र बनाउने कार्यमा संलग्न जीवन कार्की कलंकीबाट पक्राउ परेका हुन् । उनीहरुलाई लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।

प्रकाशित : आश्विन १३, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् । 

नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारिक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो ।

समितिको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन् । यस्तै, सदस्यहरूमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजू, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रञ्जन श्रेष्ठ छन् ।

नेपाल ओलम्पियन्स संघको विधानमा २ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना निर्वाचित भएकी हुन् भने अर्को एक उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष विष्टले ओलम्पियन र ओलम्पिक मुभमेन्टलाई गर्व हुने खालको काम बताए । उनले नेपालमा ओलम्पिकलाई धेरै हेपाह पाराले हेर्ने गरिएको र पदकधारी खेलाडीलाई मात्रै मान्ने परम्परा आफू निर्वाचित कार्यसमितिले तोड्ने बताए । उनले संघमा आफू राजनीति गर्न नआएको भन्दै यो समितिले काम गरेर देखाउने प्रण गरे ।

प्रकाशित : आश्विन १३, २०७८ १९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×