कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चःमतीमा वृद्ध विश्राम भवनसहित पार्क

काठमाडौँ — काठमाडौं महानगरपालिका–१५ स्थित चःमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण भएको छ । बुधबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वडा–१५ का अध्यक्ष ईश्वरमान डंगोल र सांसद जीवनराम श्रेष्ठले संयुक्त रूपमा पार्कको उद्घाटन गरेका हुन् । 

चःमतीमा वृद्ध विश्राम भवनसहित पार्क

स्थानीयवासीको जग्गा योगदानबाट प्राप्त भएको १ रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क १ करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको हो । पार्क सामान्य अवस्थामा मनोरञ्जनका लागि र विपत्का समयमा आश्रय स्थलका रूपमा प्रयोग गरिन्छ । पार्कलाई ज्येष्ठ नागरिकमैत्री बनाउन ठाउँ–ठाउँमा देवीदेवताका मूर्ति राखिएका छन् । यसरी राखिएका मूर्तिमा महामञ्जुश्री, हारती माता, महादेव, वसुन्धरा देवी, बुद्ध, महांकाल, लुकु महाद्यः, गणेश, कुमार, लक्ष्मीनारायणलगायत छन् ।

यस्तै चैत्य र ४ वटा ढुंगेधारा पनि राखिएका छन् । पार्क निर्माणमा महानगरपालिका, स्थानीयवासी र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत सासंद श्रेष्ठको संसद् कोषको लागत रहेको छ । यसका लागि चमति नेवाः खलसँगको सहकार्यमा स्थानीयको ३० लाख, महानगर र संसद् कोषबाट १ करोड २० लाख रुपैयाँमा पार्क बनेको हो ।

यसअघि आयोजना क्षेत्रका पार्क कसले निर्माण गर्ने भन्नेमा अन्योल रहेको मेयर शाक्यले बताए । ‘आयोजनाको काम नसकिएका कारण स्थानीयवासीले करिब २० वर्षदेखि दुःख पाइरहनुभएको थियो,’ उनले भने, ‘व्यवस्थित विकासका लागि उहाँहरूको पहलमा हामी पनि साथमा भनेर पार्क बनाउन हामीले लगानी गरेका हौँ ।’

संघीय संसद् सदस्य जीवनरामले, सकिँदै गएको खुला ठाउँ बचाउन आजैबाट प्रयत्न थालिनुपर्ने बताए । ‘स्थानीयको जग्गा योगदान पार्क निर्माणको सबल पक्ष हो, यसमा हामीले सघाउन पायौँ,’ उनले भने, ‘सबैको संयुक्त प्रयासबाट एउटा देखाउन मिल्ने योजना सम्पन्न भयो ।’

प्रकाशित : आश्विन ७, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?