गरिखानेलाई उठीबास लगाउँदै महानगर- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गरिखानेलाई उठीबास लगाउँदै महानगर

सडक छेउछाउमा व्यापार गर्नेमाथि कडाइ, अटेरी करदाता वर्षौंसम्म कारबाहीको दायराबाहिर
चार आवमा खाद्यवस्तु तथा पशुपन्छी, सड्नेगल्ने सामान बेच्नेबाट ३५ लाख ७५ हजार जरिवाना संकलन
०७६/७७ मा मात्र जफत फलामजन्य सामग्री लिलाम गरी १८ लाख आम्दानी
सीमा तामाङ

काठमाडौँ — थापाथलीको प्रसूति गृहपछाडि सुकुम्बासी बस्तीमा बस्ने ६१ वर्षीय केदार महतो ठेलागाडामा चिया, चाउचाउलगायतका खिच्रीमिच्री बेचेर गुजारा चलाउँछन् । पाँच जनाको छाक टार्न उनले झन्डै ४० हजार खर्चेर ठेला किनीवरी व्यापार थालेको पाँच वर्ष नाघ्यो । दुःखजिलो गरेर परिवारको पेट पाल्ने केदार यसबीच काठमाडौं महानगरपालिकाको कारबाहीमा दुईपटक परिसके । तीन महिनाको अन्तरालमा दुईवटा ठेला खोसिँदा उनले कैयौं दिनसम्म चैनको सास फेर्न सकेनन् । 

सडक छेउछाउमा जीविकोपार्जनका आधार खोज्ने सहरी गरिबमाथि महानगर कसरी प्रस्तुत हुन्छ भन्ने बुझ्न केदारजस्ता दर्जनौंको कथा काफी छ । घर–कार्यालयसम्म बाजा बजाउँदै कर उठाउन खोज्ने तर अटेरी करदातालाई वर्षौंसम्म कारबाहीको दायरामा ल्याउन नसक्ने महानगर सडक छेउछाउमा व्यापार गर्नेमाथि भने निकै कडा रूपमा प्रस्तुत हुने गरेको छ । केदारले दुःखको भावमा सुनाए, ‘हाम्रो गुजारा गर्ने ठेला लगेर उनीहरू पेट पाल्छन् । हामीभन्दा गरिब रहेछन्, त्यसैले हाम्रो सामान लग्यो ।’

अहिले भएको तेस्रो ठेला केदारले साहुसँग ऋण लिएर किनेका हुन् । दुई ठेला खोसिँदा र तेस्रो किन्दा उनको बहिखातामा ५० हजार रुपैयाँ ऋण थुप्रिइसकेको छ । कान्तिपुरसँगको कुराकानीमा उनी पटकपटक डराए । उनको डर एउटै थियो, ठेला खोसिएको कथा सुनाउँदा फेरि नगर प्रहरीले रिस पो साध्छन् कि ! आवागमन नै अवरोध हुने गरी व्यापार गर्दा ठेला उठाएको भए सायद केदारको मन दुख्ने थिएन । तर, सुकुम्बासीकै जग्गाभित्र ठेला राख्दा पनि महानगरले उठाइदिएकोमा उनीभित्र रिस र गुनासो बढेको छ । ‘ठेलामा व्यापार गरेबापत पैसा तिर्नुपर्छ भने पनि हामी तयार छौं, तर हाम्रो सामान उठाएर नलैजाओस् । उठाए पनि जरिवाना तिर्ने व्यवस्था गरियोस्,’ उनले भने ।

केदारजस्ता जीविका धान्न संघर्ष गरिरहेकाहरूको ठेला र साइकलजस्ता फलामजन्य सामग्री जफत गरेर महानगरले लिलामी गर्छ । जफत गरिएका खाद्यवस्तु तथा पशुपन्छी, सड्नेगल्ने व्यापारिक मालसामान भने जरिवाना लिएर फिर्ता दिन्छ । ०७५ वैशाख १२ को नगर कार्यापालिकाको बैठकले महानगरभित्र सहरी सुव्यवस्था कायम गर्न सार्वजनिक अतिक्रमण गरी राखिएका सामान बरामद गरी लिलाम गर्ने निर्णय गरेको थियो । उक्त बैठकले खाद्यवस्तु तथा पशुपन्छी, सड्ने–गल्ने सामानलाई जरिवाना गर्ने, फलामयुक्त सामग्री र कपडालाई लिलाम गर्ने निर्णय गरेको थियो । जफत गरी ल्याएका समान नगरप्रहरीले आन्तरिक प्रशासन शाखाको कार्यालयमा राख्छन् । त्यहाँ लगत राखेर लिलामका लागि महानगरमा समावेश गर्ने गर्छन् ।

महानगरको यस्तो निर्णयको मारमा पर्नेमा केदार एक्लो छैनन् । रौतहट स्थायी घर भई वाग्मतीछेउको सुकुम्बासी बस्तीमा बस्दै आएकी ६५ वर्षीया मिठु मगर ठेलामा चटपटे र पानीपुरी बेजेर गुजारा चलाउँछिन् । सुकुम्बासी बस्तीभित्रकै जग्गामा ठेला राखेर व्यापार गर्ने भए पनि उनलाई नगरप्रहरीको डर छ । नहोस् पनि किन, कोभिड महामारीअगावै नगरप्रहरीले २० हजार रुपैयाँ हालेर किनेको ठेला लगिदिएपछि कैयन् दिनसम्म उनको रोजीरोटीको बाटो छुट्यो । ठेला फिर्ता पाइने आसमा उनी टेकु धाइरहिन् तर उनको बिन्ती कसैले सुनेन ।

निषेधाज्ञापछि उनले १६ हजार रुपैयाँ ऋण काढेर नयाँ ठेला किनिन् । ठेला किन्दाको ५/६ हजार ऋण तिर्नै बाँकी छ । उनका ७० वर्षीय श्रीमान् पहिले त ज्यामी काम गर्थे । तर बुढ्यौलीले छोप्दै लगेपछि र महामारीयता काम पाउन मुस्किल भएपछि गुजारा चलाउन ठेला नगुडाई धर छैन ।

महानगरले चार आर्थिक वर्षमा खाद्यवस्तु तथा पशुपन्छी, सड्नेगल्ने सामान बेच्ने ४ हजार ७ सय ६२ जना व्यापारीबाट जरिवानाबापत् ३५ लाख ७५ हजार २ सय रुपैयाँ उठाएको छ । आव ०७४/७५ मा सबैखाले व्यापारीलाई जरिवाना मात्र गर्ने व्यवस्था रहेको आन्तरिक प्रशासन शाखाका प्रमुख लीलाराज गाछामगरले बताए । ‘जनप्रतिनिधि आएपछि ०७५ वैशाखमा मात्र सामान जफत र लिलामी गर्ने व्यवस्था भएको हो,’ उनले भने, ‘त्यसैले पहिलो आवमा राजस्व धेरै उठेको देखिन्छ ।’ सामान हेरेर २ सयदेखि ५ सय रुपैयाँसम्म जरिवाना गर्ने उनले जानकारी दिए ।

महानगरले ०७५/७६ मा फलामजन्य सामग्री लिलाम गरी ५ लाख ७ सय र ०७६/७७ मा १८ लाख रुपैयाँ संकलन गरेको थियो । गत वर्षको कपडाजन्य सामान मात्र १ लाख ३ सय ५० रुपैयाँको प्रस्तावित लिलाम गर्न महानगरलाई बुझाइएको छ । महानगर प्रवक्ता ईश्वरमान डंगोलले ठेलागाडा व्यापारीले लगाएको आरोप आधारहीन रहेको बताए । फुटपाथमा बसी ठेलागाडा तथा साइकलमा सामान बेच्न नपाइने उनको तर्क छ । ‘सहरी सौन्दर्य र सुव्यवस्था कायम गर्नकै लागि साइकल, गाडामा गरिने व्यापारलाई जफत र कारबाही गर्ने गरिएको हो,’ उनले भने, ‘मर्निङ, इभिनिङ र नाइट मार्केट सञ्चालन गर्न महानगरले छलफल गरिरहेको छ ।’ फुटपाथ व्यवसायीकै लागि भनेर तत्काल कुनै योजना नरहेको उनले बताए ।

प्रकाशित : आश्विन ५, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्

रिङबाहिरका ‘राजा’

बक्सिङको दुर्दशा या आफ्नै स्वास्थ्य अवस्थाले मदन गुरूङको अनुहार अझै खुलेको छैन । बर्मा छोडेर नेपाल आएपछि उनी २–३ पटक मात्र उता फर्किएका छन् ।
विनोद पाण्डे

काठमाडौँ — सातदोबाटोस्थित सुटिङ रेन्जको छेउमा अवस्थित बक्सिङ हल छरपस्ट थियो । पानी चुहिएको थियो, मर्मतसम्भार केही थिएन । पञ्चिङ ब्यागहरू निकै पुराना देखिन्थे । डोरी चुँडिएर भूँइमा झर्लाजस्तो देखिन्थ्यो । धेरैपछि त्यहाँ पुगेका मदनकुमार गुरुङ बक्सिङको त्यस्तो अवस्था देखेर एकाएक भावुक हुन पुगे ।

उनमा यो स्तरको निराशा छाउनु स्वाभाविक नै थियो । आफ्नो बुबाको जन्मभूमिका लागि केही गर्छु भनेर उनी बर्मा छाडेर नेपाल फर्किएका थिए । तर, उनले प्रशासकीय र व्यवस्थापन हिसाबमा बक्सिङको परिवर्तन महसुस गर्न सकेका छैनन् । सातदोबाटोस्थित बक्सिङ रिङको अवस्थाले उनलाई झन भक्कानिने बनायो ।

पोखराबाट बसमा ४५ मिनेट जतिको यात्रा गरेपछि बरेल डाँडा गाउँ आउँछ । यो ठाउँबाट मनिलाल गुरुङ ब्रिटिस आर्मीमा भर्ती हुन छनोट भएका थिए । दोस्रो विश्वयुद्धमा जापानसँग लड्न बर्माको जंगल पुगेका थिए । ६ महिना युद्धमै बित्यो । त्यसपछि जापानले पक्रेर थुनेर उनलाई ६ महिना सुंगुरको खोरमा राखिदियो । ‘प्रिज्नर अफ वार’ अन्तर्गत जापानले सजायस्वरुप उनलाई थुनेर राखेको थियो ।

बर्माको यही लडाइँलाई आधार मानेर ब्रिटिसह्ले जापानीसँग कसरी लडेका थिए भनेर ‘ब्रिज ओभर द रिभर क्वाई’ फिल्म बनाएका थिए । दास्रो विश्वयुद्धका क्रममा जापानी युद्ध कैदीद्वारा सन् १९४० देखि १९४४ सम्म निर्माण गरेको त्यो ऐतिहासिक पुल निर्माण गर्दा झन्डै ९० हजार मान्छे मरेका थिए । मर्नेहरूमा दक्षिणपूर्वी एसियाका मानिस र १२ हजार जापानी युद्धकैदी थिए । धेरैलाई श्रमशोषण गरिएको थियो ।

जापानी सेनालाई त्यो पुलबाट भारततर्फ छिर्न नदिन आफ्नो पिताले साहसपूर्वक लडेको भनेर मदन र उनका छोरा समिर गर्वसाथ सुनाइरहेका थिए । विश्वयुद्धमा मनिलालको बहादुरीबाट आङ साङ निकै प्रभावित थिए । आधुनिक म्यानमारमा ‘फादर अफ नेसन्स’ मानिएका साङले नै ‘तपाईं वीर गोर्खालीहरू यता बस्नुपर्छ भनेर जग्गा जमिन दिएर’ राखेपछि मनिलाल बर्मामै अडिए ।

तीन छोरामध्ये कान्छो मदन उतै जन्मिए । तीन दिदीबहिनी मदनको परिवारमा छन् । आफ्ना पिताजस्तै मदनमा पनि लडाकुपन देखियो । शत्रुलाई ढाल्न मदन पनि पछाडि परेनन् । बक्सिङको रिङमा उनले कसैलाई बाँकी राखेनन् । अर्थात मदनले बिना हतियारको युद्ध रोजे । बक्सिङ खेल्न थाइल्यान्ड पुगिरहन्थे उनी । कम्ब्याट स्पोटर््समा थाइल्यान्ड विश्वमै परिचत थियो । ओलम्पिक स्वर्ण पदक विजेता खेलाडीहरू निकाल्ने सगरा वान र सगारा टुसँग थाइल्यान्डमा सिक्ने अवसर पाएपछि उनी मुवाँथाईमा ७५ केजीमा स्टार खेलाडी भइसकेका थिए । उनले एकपल्ट किंग्स कपको तेस्रो चरणमा ओलम्पिक पदकधारीलाई नकआउट हानेका थिए ।

थाइल्यान्डका राजाको छोरासँग बसेर तत्कालीन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव शरदचन्द्र शाहले उनको खेल हेरिरहेका थिए । जब मदनकुमार गुरुङ विजेता भनेर घोषित भयो शाह अचम्मित नै भए । गुरुङ त नेपाली हुनुपर्ने कसरी अर्को देशबाट खेले भनेर शाह सिधै गुरुङलाई भेट्न चेन्जिङ रूममा पुगे । ‘शुद्ध गोर्खाली, ब्रिटिस गोर्खाली बाउको छोरा हुँ म,’ शाहले तिमी गोर्खाली हो भनेर सोध्ने नपाउँदै उत्तर फर्काएको मदन सम्झन्छन् । शाहले नेपालमै आएर सिकाउन अनुरोध गरेपछि बर्मालाई बिट मार्दै उनी नेपाल आएका थिए । मदनको नेपाल आउन लालयित हुनुमा यहाँ आएर फुपु भेट्न पाउनु पनि थियो ।

नेपालमा पनि बक्सिङ छ र ? शाहलाई मदनले सोधेका थिए । नेपाल आएर नागरिकता बनाउँदै त्यसको दुई वर्षपछि २०४० सालमा राखेपमा प्रशिक्षकको रूपमा छिरेका उनले गत वर्ष वरिष्ठ अधिकृत भएर अवकास लिए । २०३१ सालमा भैरहवामा बक्सिङको पहिलो राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसको ९ वर्षपछि मदन नेपाल आउँदा बक्सिङ खेल त खेलिन्थ्यो तर एकदमै सीमित मात्रामा । शाहले भने जस्तै नेपालमा बक्सिङ त थियो, तर मदनले सोचेजस्तो नाम मात्रको । उनी सबैलाई केही न केही उपनाम राखिदिन्थे । शाहलाई उनी ‘नेप्टे राजा’ भन्थे, सायद होचो कद भएर होला । प्रकाश थापालाई उनी मोटे भनेर बोलाउँछन् ।

अवकास जीवनको मन बहलाउन मदन तीन साताअगाडि सातदोबाटो बक्सिङ रिङमा पुग्दा खेलाडी र प्रशिक्षक तयारीमा व्यस्त थिए । त्यही तयारीले नारिका राई, स्वस्तिका तिवारी र छिरिङ वाङदी शेर्पालाई दुबई एएसबीसी च्याम्पियनसिपमा कांस्य पदक दिलाएको थियो । मदन उनीहरूलाई चिन्दैनन् । खेलाडीहरूले पनि उनलाई चिन्दैन । उनी कहिल्यै बक्सिङका मुख्य प्रशिक्षक भएनन् । तर, आफूले प्रशिक्षण गराएर अन्तर्राष्ट्रिय खेलाडी बनाएको १ सय ३१ जनाको सूची उनीसँग छ ।

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारीहरू स्व. दलबहादुर रानामगर, चित्रबहादुर गुरुङ, स्व. पुष्करध्वज शाही, प्रकाश थापामगर, बक्सिङ संघका वर्तमान अध्यक्ष राम अवाले सबै मदनसँग सिक्दै हुर्केका हुन् । दोहोरो स्वर्ण पदक विजेता दलबहादुर भर्खर पुलिसमा आएका थिए । बक्सिङमा आधारभूत मात्र ज्ञान बोकेका उनी प्रहरीमा सिपाही थिए । मदनले पुलिसमा २० वर्ष प्रशिक्षण गराउँदा दलबहादुरले राम्रो निखारिनै मौका पाए । प्रकाशको बुबासँग उनको राम्रो चिनजान थियो । उनले छोराहरूलाई बक्सिङ प्रशिक्षणमा पठाइदेऊ भनेर भनेपछि प्रकाश र उनका भाइ रामचन्द्र थापाले बक्सिङ खेल्न सुरु गर्दै सन् १९९९ को आठौं सागमा स्वर्ण जितेका थिए ।

केशव स्थापित राखेप सदस्यसचिव हुँदा २०५२ मा मदनलाई मुख्य प्रशिक्षकको प्रस्ताव गरिएको थियो । उनले आफूभन्दा वरिष्ठ सुरेशसिंह आलेमगर भएकाले उनकै नाम मुख्य प्रशिक्षकका लागि सुझाएपछि त्यो जिम्मेवारी आलेले पाएको मदन सुनाउँछन् । युवराज लामा सदस्यसचिव हुँदा उनलाई फेरि मुख्य प्रशिक्षक बन्ने प्रस्ताव आयो । उनले मानेनन् । बरू आफू बुढो भएको भन्दै केशवकुमार विष्टको पालामा आफ्नै चेला प्रकाश थापामगरलाई मुख्य प्रशिक्षक बनाउन उनले नै नाम दिएछन् ।

नेपाल आएपछि उनले मेचीदेखि महाकालीसम्म गएर बक्सिङ प्रशिक्षण दिए । विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टलाई उनले कञ्चनपुरमै भेटेका थिए । विष्णुबहादुरले ओलम्पिकमा एक फाइट जितेपछि यो खबर दरबारसम्म पुगेको थियो । मदनले छोटो समय त्रिभुवन आर्मी क्लबका खेलाडीलाई पनि प्रशिक्षण दिए । उनी प्रहरीमा हुँदा प्रहरी र आर्मीमा हुँदा आर्मी नै च्याम्पियन बन्थ्यो । उनकै प्रशिक्षणमा प्रकाश र ओम मास्केले स्वर्ण जितेपछि नेपाल अल इन्डिया च्याम्पियनसिपमा पहिलो भएको थियो ।

त्यसबाहेक उनी दक्ष जज पनि हुन् । उनले थाइल्यान्डको किंग्स कपमा निरन्तर जज भूमिकामा रहे । अन्तर्राष्ट्रिय बक्सिङ संघ (एमेच्योर) मा एसियाली क्षेत्रमा उनी नम्बर एकजस्तै रहेको प्रकाश सुनाउँछन् । ‘मैले किंग्स कपमा आफैंले खेल्दा देखेर आएको थिएँ, पहिलो बाउट तत्कालीन राजाको सामुन्ने हुँदा सबैभन्दा राम्रो रेफ्री भनेर मदन गुरुलाई नै राखिने गरिएको थियो,’ प्रकाशले भने, ‘नेपालीले पनि यस्तो गराउन सक्छन् भन्ने शंका धेरैमा थियो त्यहाँ, उहाँले ढुक्कका साथ खेलाउनुहुन्थ्यो ।’ मदन जिस्किन्छन्, ‘थाइल्यान्डमा खेल्दा पनि जज बन्दा पनि मै राजा थिएँ ।’

सन् १९९७ मा उनलाई ब्रेन ह्यामरेज भएको थियो । त्यसयता उनले विगत धेरै बिर्सिएका छन् । २००२ मा उनले नेपाल बक्सिङ एकेडेमी भनेर खोले । तर रोगले च्यापेपछि उनले स्मरण शक्ति गुमाउँदै जाँदा एकेडेमी अगाडि बढ्न सकेन । सन् २०११ मा उनलाई नर्थ अमेरिकन बक्सिङ संघले अमेरिकामा प्रशिक्षण गर्ने निम्तो दिएको थियो । मदनले छोरा समिरलाई पनि बक्सिङ खेलाए । उनले धेरै खेलेनन् । अहिले उनी बुबाकै हेरचार गरेर बसेका छन् । मदनलाई गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । बक्सिङको दुर्दशा या आफ्नै स्वास्थ्य अवस्थाले उनको अनुहार अझै खुलेको छैन । बर्मा छोडेर नेपाल आएपछि उनी २–३ पटक उता फर्किएका छन् । एकपल्ट बर्मा पुगेर नेपाल आउन पाएँ भने आफू अझै ‘फ्रेस’ हुने उनलाई लागिरहेको छ । तर, स्वास्थ्य अवस्थाले गाह्रो छ ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

प्रकाशित : आश्विन ५, २०७८ ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×