कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरीका मोटरसाइकलसहित ३ पक्राउ

काठमाडौँ — चोरीका मोटरसाइकलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका विजय धिताल, मेलम्चीका जीतबहादुर तामाङ र विष्णु तामाङ पाख्रिन छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

चोरी गरेर लगिरहेको अवस्थामा वाग्मती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको मोटरसाइकलसहित धिताललाई पक्राउ गरेको हो । खोटाङ घरभई काँडाघारी बस्ने संजीव राईले बिहीबार आफ्नो मोटरसाइकल हराएको जानकारी दिएको थियो । धितालको अनुसन्धानको क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरसाइकलसहित जीतबहादुर र विष्णु पक्राउ परेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

तारकेश्वर नगरपालिकाका सुमन धितालको प्रदेश ३–०२–००१ प ७२८६ नम्बरको उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ८४९४ बनाई चलाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्न तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।

त्यसैगरी, महाशाखाले उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई शुक्रबार जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन् । महाशाखाका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मोटरसाइकल हराएको भन्दै २ सय ४० वटा निवेदन परेको र १ सय २१ मोटरसाइकल खोजतलास गरी धनीलाई जिम्मा लगाइएको छ । चोरीमा संलग्न १५ जना पक्राउ गरी कारबाही प्रक्रिया थालिएको छ । गत आव ०७७/७८ मा १ हजार ३ सय ५६ मोटरसाइकल चोरीको निवेदन परेको थियो । जसमध्ये ३ सय ९७ खोजतलास गरी धनीलाई जिम्मा लगाएको र मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई कारबाही गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?