कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौमती बजाएर पनि उठेन कर

७२ ठूला करदाताको नाम सार्वजनिक गरिएकोमा १५ जनाले मात्रै तिरे 
स्वास्थ्य राज्यमन्त्रीकै जनमैत्री अस्पतालले आंशिक मात्रै कर बुझायो
फोहोर व्यवस्थापनमा भएको ढिलाइले कर असुली प्रभावित : महानगर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले साउन १६ र २५ गते सूचना जारी गर्दै घरजग्गा/सम्पत्ति कर नतिर्ने ठूला करतादाको नाम सार्वजनिक गर्‍यो । ७२ ठूला करदाताको नाम सार्वजनिक गरेसँगै कर तिर्न ३० दिने अल्टिमेटमसमेत दियो ।

नौमती बजाएर पनि उठेन कर

करदातालाई सूचित गर्न घरघरमा गएर माइकिङ गर्ने, सूचना टाँस्ने काम भयो । भदौ ९ मा त महिला समूह नै लगाएर नौमती बाजासमेत बजाइयो । तर महानगरले अनुमान गरेजस्तो कर उठ्न सकेन । अहिलेसम्म १५ जना करदाताले मात्र कर तिरेका छन् । जसमध्ये ८ जनाले आंशिक र ७ जनाले पूरा कर चुक्ता गरेको महानगरअन्तर्गतको राजस्व विभागले जनाएको छ ।

महानगरले सार्वजनिक गरेको सूचीमा कर तिरिसकेको सूचीमा अम्बे कम्प्लेक्सको पनि नाम समावेश थियो । पछि विभागले भूलवश अम्बे कम्प्लेक्सको नाम समावेश भएको भन्दै प्रस्टीकरण दिएको थियो । विभागका अनुसार आइतबारसम्ममा जिग्मी सिग्मी पर्वल विष्ट, बुद्ध महल, केशा प्रोपर्टिज प्रालि, सुरज आर्केड, बैसाली होटल प्रालि, राजेन्द्रकुमार काँवरा, होटल मर्स्याङ्दीले पूरा कर चुक्ता गरेका छन् ।

त्यस्तै, एनआरटी क्लब, युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, काठमाडौं इन्जिनियरिङ कलेज, एलआरआई बोर्डिङ स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी, स्टार मल, केजे प्रोपर्टिज प्रालि (गोपालजी प्रोपर्टिज) ले आंशिक कर तिरेका छन् । त्यसबापत ३ करोड ९४ लाख ९ हजार ६ सय ९८ रुपैयाँ कर संकलन भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले नै आंशिक मात्रै कर बुझाएको छ ।

महानगरको राजस्व ऐनको दफा १२ (३) मा उपदफा २ बमोजिम कर रकमको वार्षिक १० प्रतिशत जरिवाना, सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायत कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकीसरह असुल गर्न सकिने व्यवस्था छ । तर महानगरले आफैंले बनाएको ऐनअनुसार पनि कर असुल गर्न सकेको छैन । महालेखा परीक्षकको प्रतिवेदनले महानगरले १ सय ६३ करदाताबाट २५ करोड १९ लाख ४१ हजार ६ सय ७८ रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनअनुसार सबैभन्दा बढी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिबाट ०७६/७७ सम्मको ४ करोड ४५ लाख २६ हजार ४ सय ६० असुल गर्नुपर्ने औंल्याएको छ ।

महानगरले कर असुलीलाई तीव्रता दिन गत वर्ष असोजदेखि अनलाइन भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । विभागका अनुसार उक्त प्रणालीमा हालसम्म २ लाख ५ हजार करदाता जोडिएका छन् । तर पनि पुरानो बक्यौता असुली सन्तोषजनक नभएको भन्दै नौमती बाजा अभियान नै चलाइएको थियो ।

तर त्यसको पनि परिणाम उत्साहजनक देखिएन । विभाग प्रमुख डा. शिवराज अधिकारीले फोहोर व्यवस्थापनमा भएको ढिलाइले महानगरप्रति स्थानीयहरूमा नकारात्मक धारणा बनेका कारण पनि कर असुली अभियानले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको दाबी गरे । ‘फोहोर र कर उठाउने विभाग नै फरक छ । आ–आफ्नो जिम्मेवारी हुन्छ तर महानगबासीले दुवैलाई एकै ठाउँमा राखेर हेर्दा कर उठाउन सकेनौं,’ उनले भने ।

प्रकाशित : भाद्र २८, २०७८ ०५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?