कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

कोभिड जोखिमबीच तीज

उपत्यकाका धेरैजसो शिवालय प्रवेशमा रोक लगाइएपछि व्रतालुद्वारा बाहिरै पूजाआराधना र नाचगान 
सुशीला तामा‌ङ

काठमाडौँ — कोरोना संक्रमणको जोखिमका बीच यस वर्ष हिन्दु धर्मावलम्बी महिलाहरूले हरितालिका तीज पर्व मनाएका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा महिलाहरू सौभाग्य, पारिवारिक सुख, सु–स्वास्थ्य, श्रीमान्को दीर्घायु तथा अविवाहितहरूले शिवजस्तै वर पाउने कामना गर्दै निराहार उपवास (व्रत) बसी शिवको पूजा आराधाना गर्छन् । द्वितीयाको राति दर खाएर सुरु हुने पर्व पञ्चमीसम्म गरी ४ दिन मनाइन्छ । 

कोभिड जोखिमबीच तीज

दैनिक थपिने कोरोना संक्रमितको संख्या घट्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ । जसका कारण शिवालयहरूमा भक्तजनहरूको चहलपहल बढेको थियो । काठमाडौंस्थित पशुपतिनाथ, बसन्तपुरलगायत मुख्य शिव मन्दिरहरू बन्द रहे पनि भक्तजनहरूले मन्दिरबाहिरैबाट शिवको पूजा आरधाना गरे ।

पशुपति क्षेत्र विकास कोषका अनुसार कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै मुख्य मन्दिरको ढोका खुला गरिएन । तीजमा दर्शनार्थीको निकै घुइँचो हुने वसन्तपुरस्थित पशुपति मन्दिरमा पनि बाहिरैबाट भक्तजनहरूलाई पूजा आराधना गर्ने व्यवस्थापन मिलाइएको पुजारी सुशीलराज उपाध्यायले बताए । ‘पूजा आराधनाका लागि मुख्य मन्दिरको ढोका खोलिएन,’ उनले भने, ‘भक्तजनहरूले बाहिरबाटै पूजा गरे, मखन क्लबका स्वयंसेवकहरूले सकेसम्म भीडभाड व्यवस्थापनको प्रयास गरेका थिए ।’

सरकारले कोरोनाको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घर–घरमा तीज मनाउन अपिल गरेको थियो । तर उपत्यकाका अन्य मुख्य शीव मन्दिरहरू बन्द रहे पनि वरपरका शिवपीठहरूमा अघिल्लो वर्षभन्दा महिलाहरूको भीड बढी थियो । अधिकांश व्रतालु महिलाहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका थिएनन् । मन्दिरवरिपरि महिलाहरूलाई नाचगानलगायतका कार्यक्रम गर्न रोक लगाइए पनि भीडभाड व्यवस्थापन फितलो थियो ।

वसन्तपुरस्थित पशुपति मन्दिरभित्र प्रवेश गर्न नपाए पनि बाहिरबाटै पूजा गरेको डल्लुकी विपना नेपालीले बताइन् । ‘मन्दिर खुल्लै होला भनेर सोचेको थिएँ, बन्द पो रहेछ,’ उनले भनिन्, ‘बाहिरै पूजा गरियो । भित्रै गएर पूजा गरेको जस्तो मन खुल्लाचाहिँ भएन ।’ गरगहना र रातो पहिरनमा सजिएकी उनी शिवको पूजापछि साथीसंगीहरूसँग तस्बिर लिन व्यस्त भइन् ।

मन्दिर प्रवेश गर्न नपाए मन्दिर परिसरको चहलपहल देखेरै रमाइरहेकी थिइन् दोलखा घर भई हाल स्वयम्भू बस्ने मनीषा कार्की । अघिल्लो वर्ष तीज घरका सदस्यहरूसँगै मनाएकी उनले यो वर्ष बाहिर निस्कन पाएकोमा खुसी लागेको सुनाइन् । ‘खाली त्यही कोरोना भनेर घरमा बस्दा–बस्दा दिक्क लागेको थियो । यता रातो सारीमा आउनुभएका दिदीबहिनीहरू देखेर रमाइलो लागेको छ । मज्जाले नाचुँला भनेर रातो सारी लाएर त आएँ । यता नाच्न पो नपाइने रहेछ,’ उनले हाँस्दै भनिन् ।

अघिल्लो वर्ष शिवालयहरू सुनसान थिए भने घरघरमा तीज पर्वको रौनक थियो । यस वर्ष मन्दिर पुगेर तीज मनाउन पाएकोमा मनिषाजस्तै धेरै महिलाहरू प्रफुल्लित देखिन्थे । संक्रमण जोखिमबीच शिव आराधनाका लागि मन्दिरमा महिलाहरू उल्लेख्य संख्यामा सहभागी भएको मखन क्लबका कोषाध्यक्ष सम्झना जोशीले बताइन् । भनिन्, ‘मन्दिर प्रवेश र नाचगान गर्न मात्रै रोक लगाएका थियौं । थोरै सहभागी हुनुहोला भनेर लाइन व्यवस्थापनमा पनि ध्यान दिएका थिएनौं ।’

तीज क्षेत्री र ब्राह्मण समुदायमा विशेष पर्वका रूपमा रहेको सुनाउँदै संस्कृतिविद् रास जोशीले हिन्दु महिलाहरूले शिवको महिमालाई प्राकृत रूपमा नै अंगीकार गर्दै आएको सुनाए । ‘हाम्रो धर्मशास्त्रमा हेर्ने हो भने शिवको महिमा प्राचीन समयदेखि नै छ,’ उनले भने, ‘शिवको नाममा तीजमा क्षेत्री तथा ब्राह्मण समुदायका महिलाहरूले परापूर्वकालदेखि नै पूजा र आराधाना गर्दै आएका छन् ।’

यस पर्वमा उपवास, दतिवनको प्रयोग, मासिक श्राव शुद्धताको नाममा शरीर शुद्धि गर्नेजस्ता कार्यहरू स्वास्थ्य विज्ञान तथा आयुर्वेदसँग जोडिनाले झन् महत्त्व बढेको उनको दाबी छ । मल्लकालीन ग्रन्थमै हरितालिका व्रतबारे उल्लेख रहेको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×