कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

जोखिममा चाँगुनारायण

लगातारको माटो, बालुवा उत्खननले जमिन भासिने, धाँजा फाट्ने र भूक्षय हुने क्रम बढ्दो
लिला श्रेष्ठ

भक्तपुर — २०७२ वैशाखको भूकम्पका कारण चाँगुनारायण मन्दिर परिसरको उत्तर–पश्चिम (किलेश्वर महादेव पुजारी पाटी) सँगैको क्षेत्र भासियो । भूक्षय नियन्त्रण नगरी चौघेरा सत्तल (पाटी) मन्दिर पुनर्निर्माण गर्न सक्ने अवस्था रहेन । पुरातत्त्व विभागले टेको र पर्खाल लगाएपछि मात्र चौघेरा सत्तलको पुनर्निर्माण थालेको छ । अझै उक्त क्षेत्र भूक्षयको जोखिममा छ ।

जोखिममा चाँगुनारायण
  • काठमाडौं र भक्तपुरको सीमा भएर बग्ने मनोहरा खोलाको कटानले चाँगुनारायण नगरपालिका–४ कुइँकेल गाउँ, मगर गाउँका करिब २ सय घर नै बग्ने अवस्था बन्यो । प्रत्येक वर्ष कटानले बस्ती जोखिममा परेपछि २०७५ मा खोलाको प्राकृतिक बहाव नै परिवर्तन गर्ने जनप्रतिनिधिसहितको सर्वपक्षीय भेलाले निर्णय गर्‍यो ।
  • डेढ दशकअघिसम्म चाँगुनारायण वरपर ऐतिहासिक महत्त्वका ९ पोखरी थिए । शंख दह , धनचादह, सिन्हः पुखु, ग्वाल्दह, बांदह, तेपोवुंग्वा दह, अजिमादह, फादह, कालीदहमध्ये अधिकांश पोखरीको अहिले अवशेष मात्र बाँकी छ । माटो र बालुवा उत्खननका क्रम बढेपछि यस क्षेत्रको जमिन भासिने, धाँजा फाट्ने र पोखरी पनि सुक्दै गएका हुन् ।
  • चाँगुनारायण–४ हलचाप, नवाङगाल, तामाङ गाउँ खोरियाको विभिन्न स्थानमा जमिन भासिने, चिरा पर्ने समस्या बढ्दो छ । तामाङ गाउँ खोरियाका ६५ घर पहिरोको उच्च जोखिममा छन् । खोरिया गाउँका जिराबहादुर तामाङको घर भूकम्पले भत्कियो । निर्माणाधीन घर पनि भूक्षयको जोखिममा परेको उनी बताउँछन् । ‘जमिन चिरा परेको छ, भित्रभित्रै दबिँदै गएको छ,’ उनले भने, ‘करिब एक दशकमा झन्डै ३० फिट जमिन भासिइसक्यो । पहिले यो क्षेत्र समतल थियो ।’ खोरियामै रहेको श्रीकृष्ण आधारभूत विद्यालयलगायत बस्ती पहिरोको जोखिममा परेको नगरकार्यपालिका सदस्य दिनेश खनालले बताए । ‘केही वर्षदेखि शंखदह वरिपरि भ्वाङ पर्दै गएको छ, सल्लाघारीमा पनि ठाउँ/ठाउँमा सुरुङ बनेको छ,’ उनले भने ।

शंखदह क्षेत्र भासिँदै जानु र चाँगु क्षेत्रको विभिन्न स्थानमा भूक्षय हुनु, धाँजा फाट्नुले मन्दिरसहितको पूरा क्षेत्र जोखिममा रहेको देखाउँछ । यसमा प्रमुख कारण कमजोर भूसतह, २०७२ को भूकम्पको धक्का र माटो, बालुवाको उत्खनन बढ्नुलाई मानिएको छ । पूर्वजनप्रतिनिधि जिराबहादुर तामाङका अनुसार मनोहरा खोला, नारायण टार, ज्योर्तिलिंगेश्वरलगायत क्षेत्रमा लगातार उत्खनन गरिँदा जमिन भासिने क्रम बढेको हो । ‘२०४९/५० देखि नै जथाभावी माटो, बालुवा निकाल्न थालियो,’ तामाङले भने, ‘त्यसअघि भासिने, पहिरो खस्ने समस्या थिएन ।’

२०७२ को भूकम्पपछि भएका अध्ययनले पनि विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर भूक्षयको उच्च जोखिममा रहेको देखाएको छ । कारण हो यहाँको भूसतह । भूकम्पपछि चाँगुनारायण क्षेत्रका विभिन्न स्थानको माटो संकलन गरी इटालीका भूगर्भ वैज्ञानिकद्वय क्लाउडियो मार्गोटिनी र डेनियल स्पिजिचिनोले अध्ययन र परीक्षण गरेका थिए ।

अध्ययनपछि सार्वजनिक प्रतिवेदनमा चाँगुनारायणको पूरा क्षेत्र नै जोखिममा रहेको उल्लेख छ । यहाँको माटो बलौटे, कमजोर र बग्ने किसिमको पाइएको प्रतिवेदनको निष्कर्ष थियो । भिरालो संरचना भूक्षय र पहिरोबाट जोगाउन तत्काल माटो, बालुवाजन्य वस्तु उत्खनन रोक्नुपर्ने, बायो इन्जिनियरिङ टेक्नोलोजी अपनाउनुपर्ने र ठाउँ–ठाउँमा रिटेनिङ वाल, ग्याबिन वाल बनाउनुपर्ने सुझावसमेत दिइएको छ । प्रतिवेदन उनीहरूले पुरातत्त्व विभाग र युनेस्कोको कार्यालयलाई बुझाएका थिए । तर कुनै पनि निकाय त्यसमा गम्भीर देखिएका छैनन् ।

स्थानीय तहले त्यस ठाउँको अध्ययन नै नगरी खेल मैदान निर्माणको नाममा माटो, बालुवा उत्खनन गरिरहेको छ । मनोहरा खोलाबाट बालुवा निकाल्न भारी उपकरणको प्रयोग भइरहेको छ । तीनै सरकारको समन्वयमा यस क्षेत्रलाई समेटेर स्मार्ट सिटीको अवधारणासमेत अघि सारिएको छ । ‘मनोहरा खोला भासिँदै गएको छ, खोला भासिनु भनेको चाँगुनारायणको माटो भासिनु हो,’ पुरातत्त्वविद् मोहनसिं लामाले भने, ‘यहीअनुसार माटो कटान हुँदै गए स्थिति भयावह हुन सक्छ ।’

‘स्मारक होस् वा यहाँका अन्य कुनै पनि संरचना जोगाउन सर्भे हुनु जरुरी छ,’ विभागकी भक्तपुर प्रमुख अरुणा नकर्मीले भनिन्, ‘बालुवाको टापु चाँगुनारायणलाई ख्याल नै नगरी माटो, बालुवा उत्खनन गर्ने, हेभी मेसिनको प्रयोगबाट वासिङ उद्योग सञ्चालन गर्नु नै दुर्घटना निम्त्याउनु हो ।’

नगर प्रमुख सोमप्रसाद मिश्रले यो समस्या केही वर्षअघिदेखि नै देखिएको भए पनि दीर्घकालीन समाधानको उपाय अपनाउन नसकेको स्वीकारे । भूक्षय र पहिरो रोकथामका कार्य भइरहे पनि भूसर्वेक्षण गर्ने क्षमता नगरसँग नभएको उनले स्पष्ट गरे ।

प्रकाशित : भाद्र १८, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?