कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सापारू (गाईजात्रा) पर्व औपचारिकतामा सीमित गर्ने निर्णय

कान्तिपुर संवाददाता

भक्तपुर — कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेको छ ।

सापारू (गाईजात्रा) पर्व औपचारिकतामा सीमित गर्ने निर्णय

उपत्यकामा भदौ ८ गतेदेखि १२ बजेसम्म खुला रुपमा सभा, सम्मेलन, जात्रा, भोजभतेर गर्न जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञासमेत जारी गरिएको अवस्थामा यस वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) पर्वलाई सामान्य औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए । गाईजात्रा अवधिमा हुने घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरू नगर्न नगराउन अनुरोध गरेको छ ।

मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाको क्रममा बढीमा २० जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खल:लगायत सबैमा अनुरोध गर्ने निर्णय समेत गरेको छ । शुक्रबार नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिसहितको बैठकले उक्त निर्णय गरेको हो ।

जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गतवर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाई र क्लोरिन छर्कनुपर्ने सुझाव दिएका छन् । भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत पार्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयंसेवकहरू परिचालन गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

उपत्यकामा गाईजात्रा पर्व ८ रात ९ दिनसम्म मनाइने प्रचलन छ । भक्तपुरमा गाईजात्रा पर्व विशेष किसिमले मनाइने गरिन्छ ।

प्रकाशित : श्रावण २९, २०७८ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?