२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

सिंहध्वाका दरबार पुनर्निर्माणमा अन्योल

लिला श्रेष्ठ

भक्तपुर — भूकम्पले क्षति गरेको ६ वर्ष भइसक्दा पनि विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबारक्षेत्र परिसरको ऐतिहासिक सिंहध्वाका दरबार (हाल राष्ट्रिय कला संग्रहालय) को भवन पुनर्निर्माण हुन सकेको छैन । दरबार कुन शैलीमा बनाउने भन्नेमा पुरातत्त्व विभाग र भक्तपुर नगरपालिकाबीचको विवादका कारण पुनर्निर्माण अन्योलमा परेको हो ।

सिंहध्वाका दरबार पुनर्निर्माणमा अन्योल

नगरपालिकाले लाल बैठकसहितको दरबार पुराना प्रमाणहरूका आधारमा मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने अडान राखेको छ । विभागले भने हालकै शैलीमा पुनर्निर्माणका लागि २०७५ भदौ मसान्तभित्र सक्ने गरी ठेक्कासमेत दिएको थियो । तर नगरपालिकाको अनुरोधमा विभागले ठेक्का नै रद्द गरेको थियो ।

अन्ततः २०७५ भदौ ८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने निर्णय गर्‍यो । सोहीअनुसार पुनर्निर्माण गर्न युनेस्कोको प्रधान कार्यालय पेरिसमा अनुमतिका लागि विभागमार्फत अनुरोध पठाउने निर्णय पनि भयो । यस्तै, पुरातत्त्व विभागद्वारा ठेक्का भएको मालती चोकको पश्चिमतर्फको भवन पुनर्निर्माण गर्ने र अगाडिपट्टिको भाग युनेस्कोको स्वीकृति प्राप्त भएपछि नगरपालिकामार्फर्त पुनर्निर्माण गर्ने पनि निष्कर्ष निकालियो ।

उक्त निर्णयअनुसार विभागले ड्रइङ, डिजाइनसहितको पत्र युनेस्को पठायो । युनेस्कोले भने मौलिक शैलीमा बनाउनुपर्ने आशयसहित एचआईए (हेरिटेज इम्प्याक्ट एसेसमेन्ट) को रिपोर्ट माग्यो । अहिले एचआईए गर्ने विषयमा पुरातत्त्व र नगरपालिका दुवै मौन छन् । ‘नगरपालिकाले पुरानो सहरलाई नै मौलिक शैलीमा निर्माण गर्ने प्रयास गरेको छ,’ नगर प्रमुख प्रजापतिले भने, ‘पुरातत्त्वसँग सिंहध्वाका मल्लकालीन शैलीमा बनाउने कि राणाकालीन भन्नेबीच कुरा मिलेन । त्यसपछि न नगरपालिकाले काम गर्न मिल्यो, न पुरातत्त्वले गर्‍यो ।’ सिंहध्वाका पुनर्निर्माण गर्न भ्याटसहित ६ करोड ९३ लाख ६९ हजार २ सय ४९ रुपैयाँ विनियोजनसमेत भएको थियो ।

हाल राष्ट्रिय कला संग्रहालय रहेको भवनको छानाबाट पानी चुहिन्छ । भूकम्पअछि प्रदर्शनमा राखिएका पौराणिक प्रस्तर कला, चित्रकला, धातु र काष्ठकला दत्तात्रयमा राखिएको संग्रहालय भक्तपुरका प्रमुख मोहनसिं लामाले बताए । जसले गर्दा पर्यटकहरूले पौराणिक, ऐतिहासिक कला अवलोकन गर्न पाएका छैनन् । ‘संग्रहालयका कतिपय सामग्री पश्चिमपट्टिको भवनमा स्टोर गरेका छौं,’ उनले भने । सिंहध्वाका दरबार नेपाल सम्वत् ८१८ मा राजा भूपतीन्द्र मल्लले निर्माण गरेका हुन् ।

सिंहध्वाकालाई ‘न्हयकं झ्याः’ दरबारको नामले पनि चिनिन्छ । सिंहध्वाका दरबार प्रवेशद्वारमा रहेको जोडा सिंहबाट पश्चिमतर्फ मल्लकालीन शैली र पूर्वतर्फ अर्थात् स्वर्णद्वारतर्फ चुनले पोतेको राणाकालीन (निओ क्लासिक) शैलीको दरबार (लाल बैठक) गरी दुई खण्डमा विभाजित छ । दरबारको मूलद्वारमा देवताको मूर्तिमा अभिलेखसहित ढुंगाको एक जोडी सिंह, ढुंगाको हनुमान र नरसिंहको मूर्ति अवस्थित छ । भूकम्पले लाल बैठकमा ठूलो क्षति पुगेको छ । हाल दरबारको कला संग्रहालय र लाल बैठक भागलाई टेकोको भरमा अड्याइएको छ ।

प्रकाशित : श्रावण २६, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?