कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

अस्पतालको फोहोर पनि टेकुमा

वर्षौंदेखि दुर्गन्ध खेपिरहेका टेकुवासीमा कोरोना र अन्य संक्रामक रोग फैलिने चिन्ता
सीमा तामाङ

काठमाडौँ — सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने सडक भत्किँदा काठमाडौं उपत्यकाको फोहोर टेकु ट्रान्सफर स्टेसनमै थुप्रिएको छ । फोहोरलाई छुट्याएर समयमै सिसडोलसम्म पुर्‍याउन नसक्दा टेकुवरपरको क्षेत्र दुर्गन्धित बनेको छ ।

अस्पतालको फोहोर पनि टेकुमा

महानगरले पछिल्ला दिनहरूमा घरबाट निस्केको फोहोर मात्र नभई अस्पतालबाट निस्कने पीपीई, सिरिन्ज, पन्जालगायत फोहोर पनि स्टेसनमा ल्याउन थालेपछि दुर्गन्ध खेपिरहेका टेकुवासीमा कोरोना र अन्य संक्रामक रोग फैलिएला भन्ने चिन्ता पनि थपिएको छ ।

‘अहिले विभिन्न अस्पतालबाट निस्किएको फोहोर पनि टेकुमै ल्याउन थालिएको छ । जैविक र अजैविक फोहोर छुट्याउने काम व्यवस्थित नहुँदा ३ सय घरधुरी दुर्गन्ध खेप्न बाध्य छन्,’ स्थानीय राजु मजर्हनले भने, ‘अर्कोतिर कोरोना महामारी र अन्य संक्रमक रोग फैलिने त्रासमा बाँच्नुपरेको छ ।’ अहिले प्रसूति गृह, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताललगायतबाट निस्कने फोहोर टेकु पुर्‍याउने गरिएको छ । यस्तो फोहोरलाई सोझै सिसडोल लैजानुपर्ने स्थानीयको माग छ ।

महानगरले वर्षायाम सुरु भएसँगै विभिन्न बाहना बनाई टेकु स्टेसनमा फोहोर थुपार्ने र स्थानीयलाई समस्यामा पार्ने गरेको उनीहरूको आरोप छ । ‘लकडाउनमा पनि अस्पतालहरूबाट फोहोर ल्याइएको थियो, अन्य फोहोरको पनि रास थियो,’ अर्का स्थानीय सुजन नापितले भने, ‘हाम्रो विरोधपछि त्यसबेला हटाइएको थियो । अहिले फेरि त्यस्तै अवस्था छ । कोरोनाको अर्को लहरमा पनि उस्तै अवस्था हुँदैन भन्न सकिन्न ।’

टेकुवासीले यो स्टेसनमा अस्पतालको फोहोर खसाल्न नदिन विगतदेखि नै विरोध गर्दै आएका छन् । अघिल्लो साता मात्रै उनीहरूले स्टेसनको गेटमै ताला लगाइदिएका थिए । स्टेसनका कर्मचारीले एक साताभित्र सबै फोहोर लैजाने प्रतिबद्धता जनाएपछि ताला खोलिएको थियो । तर महानगरले त्यसलाई बेवास्ता गरेका कारण आफूहरूले फोहोर खसाल्न फेरि रोक लगाउन बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् । स्थानीयवासीहरूले ट्रान्सफर स्टेसनबाट फोहोर बाहिर लैजान दिए पनि स्टेसनमा फोहोर कम भएको छैन । झन् दिनप्रतिदिन अस्पतालको फोहोर आउने क्रम बढ्दै गइरहेको नापितले बताए ।

‘मानव बस्तीनजिकै अस्पतालको फोहोर थुपार्नु मानवीय काम होइन,’ स्थानीय ज्ञानीबाबु सिहंले भने, ‘अन्य फोहोर ल्याए पनि अस्पतालको फोहोर ल्याएर राख्ने र छान्ने काम गर्नु भएन ।’ तीन/चार पटक संघर्ष समिति बनाएर फोहोर हटाउन प्रयास गरे पनि वार्ता हुने, केही दिन फोहोर उठ्न सुरु पनि हुने तर केही समयमै समस्या दोहोरिने गरेकाले अब कानुनी प्रक्रिया अपनाउनेबारेमा छलफल भइरहेको उनले बताए ।

वर्षायाम सुरु भएपछि फोहोर संकलन र व्यवस्थापन दुवैमा समस्या हुने भएकाले सडक र ट्रान्सफर स्टेसनमा फोहोर थुप्रिएको काठमाडौं महानगरका वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले स्विकारे । त्यसमाथि वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने सय मिटरजति बाटो बिग्रिएकोले घाम लाग्दा मात्र फोहोर पुर्‍याउनुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘सुरु–सुरुमा सिसडोलको मुख्य विसर्जन क्षेत्रसम्म पुग्ने सडकमै फोहोर विसर्जन गरिन्थ्यो । अहिले त्यही फोहोरमाथि नै सडक भएकाले समस्या भएको हो,’ उनले भने । अस्पतालको फोहोर निर्मलीकरण गरेपछि मात्रै टेकु ल्याउने गरिएको उनको दाबी छ ।

टेकुस्थित स्टेसनमा जम्मा गरिएको फोहोरको थुप्रोमा कबाडी संकलन गर्न दिइएकाले दुर्गन्ध थप बढेको स्थानीयको भनाइ छ । केही सातायता वर्षात्का कारण नियमित फोहोर नउठे पनि अन्य बेला समयमै उठ्ने गरेको महानगर प्रवक्ता ईश्वरमान डंगोलको दाबी छ ।

प्रकाशित : श्रावण २१, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?