खोप लगाउन बिहान ४ बजेदेखि नै लाम लाग्ने त्यसै फर्किए- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप लगाउन बिहान ४ बजेदेखि नै लाम लाग्ने त्यसै फर्किए

पहुँचवालाले लाइन लाग्नै परेन, स्थानीयलाई छानी–छानी खोप
कान्तिपुर संवाददाता

काठमाडौँ — कैलालीका रमेश विष्ट शनिबार वसन्तपुरस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको केन्द्रमा खोप लगाउन लाममा लागे । तर, उनको पालो आउनै लाग्दा खोप सकियो भन्दै फर्काइयो । उनी आइतबार बिहान ४ बजे नै उठेर खोप केन्द्र पुगेका थिए । उनीभन्दा अगाडि नै निकै मानिसहरू लाममा थिए ।

भक्तपुरको कौशलटारमा आइतबार खोपको पालो पर्खंदै सर्वसाधारण । तस्बिर : मकर श्रेष्ठ/कान्तिपुर


१० बज्नु अगाडि नै २ सयभन्दा बढी खोप लगाउने आशामा पालो पर्खिरहेका थिए । ११ बजेतिर खोप बोकेर आएका स्वास्थ्यकर्मी त्यसै बाहिरिए । अनि सुरु भयो प्रहरी र खोप लगाउन लामा लागेका बीच घम्साघम्सी ।

‘खोपको संख्याभन्दा लगाउने व्यक्ति बढी भएकाले खोप कार्यक्रम नै स्थगित गर्नुपर्‍यो,’ काठमाडौं महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले भने । खोप केन्द्रमा तोकिएको भन्दा कम उमेर समूहकाको भीड धेरै भएका कारण केन्द्र बन्द गरिएको सूचना नै टाँसिएको छ । खोप लगाउन लाममा बसेकाहरू भने नजिकैको अर्को केन्द्रतिर लागे । तर, वडावासीबाहेकलाई खोप नदिने बताएपछि निराश भएर फर्किए । यसरी फर्किनेमा शान्ति निकुञ्जमा शनिबार र आइतबार बिहान लाममा बस्ने ५२ वर्षीय विष्ट पनि थिए । कतै पनि खोप नपाएपछि उनी भौंतारिँदै भीमसेनस्थानस्थित कोठामा गए । शान्ति निकुञ्जबाट त्यसै फर्केको टोलीले नै वडा कार्यालयमा खोप दिइरहेको थाहा पाएपछि उनी फेरि आफन्तसहित खोप केन्द्र पुगे । तर, वडावासीबाहेकलाई खोप नदिइएपछि उनी फर्कन बाध्य भएका हुन् ।

‘स्थानीयलाई छानीछानी लगाए । तर यही वडामा डेरा गरी बस्नेलाई दिइएन,’ विष्टले भने । शान्ति निकुञ्जको फराकिलो ठाउँ छाडेर वडा कार्यालय भएको साँघुरो स्थानमा खोप दिइएको थियो । वडा कार्यालयले मूल ढोका बन्द गरेको थियो । खोप लगाउने सर्वसाधारण भने ढोकामा झुम्मिएर बसेका थिए । नागरिकता हेर्दै वडाका जुनसुकै उमेर समूहकालाई भित्र छिर्न दिइएको थियो तर अन्य स्थानबाट खोप लगाउन पुगेकालाई फर्काइन्थ्यो । भित्र बसेका एक पुरुषले नागरिकता हेर्थे । २० नम्बर वडाका र उनको चिनजान भएकालाई भित्र छिराइन्थ्यो । अरूलाई ढोकामा कुराउँथे । साढे तीन बजेतिर प्रहरी हवल्दारले माइकिङ गर्दै भने, ‘खोप सकियो, तपाईंहरू यहाँ भीडभाड गरेर नबस्नुहोला ।’ लाइन बसेकाहरूले केहीबेर विरोध गरे । तर, गेट लगाएर भित्र बसेकाहरूले हेरिरहे ।

खोप लगाउने भीड नियन्त्रण गर्नै नसक्ने भएपछि वडावासीलाई मात्रै खोप लगाउने निर्णय गर्नुपरेको वडा अध्यक्ष मानन्धरको दाबी छ । बानेश्वरको निजामती अस्पतालमा पनि खोप लगाउनेको लाइन लामै थियो । अत्यावश्यक सेवामा कार्यरत व्यक्तिलाई मात्र खोप लगाउने केन्द्र तोकिएको निजामतीमा लाइनमा बसेका जुनसुकै उमेर समूहकालाई खोप दिइएको थियो । पहुँचवालाहरू लाइन नबसी खोप लगाउँदै फर्किरहेका थिए । अस्पतालले वितरण गरेको कुपन लिनेहरू भने आइतबारको चर्को घाममा लाइनमा बसेका थिए । लाइन मिलाउन प्रहरी निरीक्षक नै खटिएका भए पनि सामाजिक दूरी कायम गरिएको देखिँदैनथ्यो ।

काठमाडौंको शान्ति निकुञ्ज मावि केन्द्रमा तोकिएको भन्दा अन्य उमेर समूहका धेरै जना आएपछि खोप लगाउन बन्द गरिएको सूचना । तस्बिर : मकर श्रेष्ठ/कान्तिपुर

स्वास्थ्य सेवा विभागले ५० वर्ष माथिका नागरिक, चालक, सहचालक, प्राध्यापक, शिक्षक र कर्मचारी, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिलाई खोप लगाउने निर्णय गरेको छ । काठमाडौं महानगरले भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइने निर्णय गरेर वडा कार्यालयमा सूचना टाँसिएको छ । तर, १८ वर्षभन्दा माथिका व्यक्तिहरू पनि खोपको लाइनमा बसेका देखिन्थे । काठमाडौंमा जस्तै भक्तपुर र ललितपुरका प्रत्येक वडाका खोप केन्द्रमा सर्वसाधारणहरू स्वास्थ्य मापदण्ड पालना नगरी कोचिएर लाइनमा बसेका थिए ।

काठमाडौंमा ६६ वटा केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइएको भए पनि भीड उस्तै रहेको काठमाडौं जिल्ला खोप समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘अस्पतालमा मात्रै खोप केन्द्र राख्दा भीड भएपछि केन्द्र विस्तार गरेर हरेक वडामा व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘तोकिएको उमेर समूहभन्दा अन्य पनि लाइनमा बसेकै कारण भीडभाड हुने गरेको हो ।’

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले केन्द्र निर्धारण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको खोप समन्वय समितिलाई भएको बताए । ‘हाम्रो काम खोप व्यवस्थापन गर्ने, आवश्यक स्रोत साधन जुटाएर समन्वय गर्ने हो,’ उनले भने, ‘खोप केन्द्र कहाँ कति राख्ने भन्ने निर्णय हामीले गर्ने होइन ।’

खोप लगाउन अग्रिम नाम दर्ता गराउनुपर्ने सूचना जारी गरे पनि कार्यान्वयन नहुँदा समस्या भएको विज्ञहरू बताउँछन् । पोखरेलका अनुसार २५ लाखभन्दा बढीले खोप लगाउन अग्रिम नाम दर्ता गराइसकेका छन् । दर्ता गरेकालाई बेवास्ता गर्दै मन्त्रालयले लाइनमा जो आउँछ, उसलाई खोप लगाउँदा स्वास्थ्य मापदण्ड पालनै गर्न नसक्ने गरी भीडभाड बढेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १ लाख ९५ हजार १ सय ३२ जनाले खोप लगाएका छन् । हालसम्म ५९ लाख ७७ हजार ७ सय ५९ ले खोप लगाइसकेका छन् ।

प्रकाशित : श्रावण १८, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

ज्याकोब्सको जादु

राजु घिसिङ

टोकियो — ओलम्पिक रंगशालाको प्यारापिट खाली नै थियो । खेलाडीकै हुटिङले रंगशालालाई गुन्जायमान बनाएको थियो । ट्र्याक एन्ड फिल्डमा भइरहेका स्पर्धाले विश्व खेलकुदकै ध्यान तानेको थियो । ओलम्पिककै सबैभन्दा प्रतिष्ठित स्पर्धाका रूपमा लिइने पुरुष १ सय मिटरको दौडको रौनक बेग्लै थियो ।

दौडपूर्व करिब ५ मिनेट रंगशाला नै अँध्यारो बनाइएको थियो । फाइनलका आठ धावकको नामलाई ओलम्पिक लोगोसँगै १ सय मिटरको ट्र्याकमा देखाइएको थियो । अनि रंगशालाको बत्ती बालियो र सुरु भयो विश्वकै सबभन्दा तेज गतिका मानिस बन्ने होडको दौड । कोभिड–१९ को चपेटामा परेको ओलम्पिकको सर्वाधिक आकर्षक स्पर्धा ९.८० सेकेन्डमा पूरा गर्दै इटालीका लेमोन्ट मार्सेल ज्याकोब्सले स्वर्ण पदक जिते । उनको सफलता अनुमान गरेभन्दा बिल्कुलै फरक हो ।

सय मिटरमा ओलम्पिक स्वर्ण जित्ने पहिलो इटालियन भएपछि ‘मिक्स जोन’ मा भेटिएका उनले भने, ‘पहिलो ओलम्पिक स्वर्ण जित्छु भनेको थिएन । जित्ने सोचेको थिएन । अब ओलम्पिक च्याम्पियन भन्न सक्ने भएको छु । मेरो जित सबैलाई आश्चर्य लागे पनि मैले यो दिनका लागि धेरै मिहिनेत गरेको छु ।’

महान् जमैकन धावक उसैन बोल्टको युगपछि ओलम्पिक स्वर्ण कसले हात पार्ने भन्ने ठूलै बहस थियो । बोल्टले सय मिटरमा लगातार तीन ओलम्पिक (बेइजिङ २००८, लन्डन २०१२ र रियो २०१६) स्वर्ण जितेका थिए । उनले २ सय मिटरमा पनि ह्याट्रिक गरेका थिए । उनलाई तीनै ओलम्पिक र एक दशकसम्म विश्व च्याम्पियनसिपमा चुनौती दिने तीव्र गतिका धावक देखिएनन् । डोपिङको दलदलमा फसेका बेला एथलेटिक्सलाई धान्ने र यसको लोकप्रियतालाई कायम राख्ने काम बोल्टले गरे । ओलम्पिकमा ८ स्वर्ण, विश्व च्याम्पियनसिपमा ११ स्वर्णसहित १४ पदक जितेका उनले चार वर्षअघि संन्यास लिएका थिए ।


त्यसैले बोल्टबिनाको टोकियो ओलम्पिकमा सबैभन्दा तेज गतिका धावक को बन्ने भन्ने प्रतिस्पर्धाले सबैको ध्यान खिचेको थियो । यो स्पर्धामा अफ्रिकी र अमेरिकी धावकको चर्को प्रतिस्पर्धा हुने गरेको छ । ओलम्पिक ट्रायल जितेका अमेरिकी ट्रेयभोन ब्रोमेललाई सम्भावित विजेता मानिएको थियो । उनी सेमिफाइनल चरणबाटै बाहिरिए । जस्टिन ग्याटलिनले एथेन्स २००४ मा स्वर्ण जितेयता १ सय मिटरमा अमेरिकाले सफलता पाएको छैन । क्यानडाका आन्द्रे डे ग्रेस र दक्षिण अफ्रिकी अकनी सिम्बिनेलाई पनि स्वर्णको दाबेदार मानिएको थियो । यी सबै अनुमानलाई गलत सावित गर्दै २६ वर्षीय ज्याकोब्सले करिअरकै उत्कृष्ट समय निकाल्दै स्वर्ण जिते ।

अमेरिकी बुबा र इटालियन आमाका सन्तान हुन् ज्याकोब्स । उनी टेक्सासमा जन्मिएका थिए । आमासँगै इटाली गएका उनी सेमिफाइनलबाटै सीधै फाइनल प्रवेश गरेका थिएनन् । हुन त उनले सेमिफाइनलमा ९.८४ सेकेन्डको युरोपेली रेकर्ड बनाएका थिए । उनी आफ्नो समूहमा तेस्रो भए र तीन समूहका शीर्ष दुईमा नपरेका धावकमध्ये कम समयका आधारमा दुई जनाभित्र पर्दै स्वर्णका लागि प्रतिस्पर्धा गर्ने होडमा उभिए । आठ धावकको फाइनल दौडमा भने उनले सुरुबाटै गति लिए, जुन स्वर्णमा पुगेर टुंगियो ।

विश्व वरीयतामा आठौं स्थानका उनी विश्व च्याम्पियनसिप २०१९ मा १९ औं भएका थिए । डायमन्ड लिग (स्टकहोम) मा दोस्रो हुनु उनको सिजनकै उत्कृष्ट नतिजा थियो । यी तथ्यले उनलाई २९ वर्षयता पहिलोपल्ट ओलम्पिक स्वर्ण जित्ने युरोपेली धावक हुनबाट रोकेन । अमेरिकी फ्रेड केरलीले ९.८४ सेकेन्डसहित रजत हात पारे भने क्यानेडियन ग्रेसले ९.८९ सेकेन्डसाथ कांस्य प्राप्त गरे ।

सेमिफाइनलमा ९.८३ सेकेन्डको एसियाली कीर्तिमान बनाएका सु बिङतियान १ सय मिटरको फाइनलमा दौडने पहिलो चिनियाँ भए । फाइनलमा भने त्यही गतिलाई निरन्तरता दिन सकेनन्, ९.९८ सेकेन्ड लगाएपछि छैटौंमा रहे ।

प्रकाशित : श्रावण १८, २०७८ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×