स्थानीयको दबाबमा ऐनविपरीत पुनर्निर्माण- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीयको दबाबमा ऐनविपरीत पुनर्निर्माण

जयबागेश्वरी मन्दिरमा रहेको लोकेश्वर शिवलिंग छोप्नुपर्नेमा देखाइयो
दामोदर न्यौपाने

काठमाडौँ — जयबागेश्वरी मन्दिरको पुनर्निर्माणमा परम्परा र प्राचीन स्मारक संरक्षण ऐनविपरीत काम भएको छ । मन्दिरको पश्चिम दक्षिण दिशामा रहेको लोकेश्वर शिवलिंग छोप्नुपर्ने परम्परा रहेकामा स्थानीयवासीको दबाबका कारण देखाइएको मन्दिरका पूर्वपुजारी मृत्युञ्जय कर्माचार्याले बताए ।

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त मन्दिर जगैसम्म भत्काएर पुनर्निर्माण भइरहेको छ । तीनतले मन्दिरभित्र अर्को संरचना भेटिएपछि त्यसलाई जोगाएर मन्दिर पुनर्निर्माण भइरहेको हो । उत्खननका क्रममा मन्दिरको जगमा लोकेश्वर शिवलिंग भेटिएको थियो । उक्त शिवलिंगलाई देखिने गरी पुनर्निर्माण गर्न स्थानीयवासीले दबाब दिएका थिए । ‘पशुपतिनाथको ज्योतिर्लिंग पनि पछि भेटिएको हो । ज्योतिर्लिंगलाई बाहिर राखेर पूजा गरियो भने यहाँ भेटेकालाई किन बाहिर राख्न नहुने ?,’ जयबागेश्वरी टोल सुधार समितिका अध्यक्ष छत्रानन्द वैद्यले भने, ‘कोषले पुर्न लागेको थियो, हामीले दिएनौं ।’

जयबागेश्वरी मन्दिर पुनर्निर्माण सहयोग समितिका संयोजकसमेत रहेका कर्माचार्यका अनुसार ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्राणी, कौबेरी र चामुण्डा अष्टमात्रिकाका रूप हुन् । ‘यही अष्टमात्रिकाको मुनि शिवलिंग हुन्छ,’ कर्माचार्यले भने, ‘यो अदृश्य रूपमा राखिएको हुन्छ । तर यहाँ दबाबले देखाइयो ।’ शिवलिंग गुह्य रूपमा राख्नुको तान्त्रिक महत्त्व रहेको उनको भनाइ छ । ‘शिवले जे पनि खाइदिएको भएर शक्तिबाट विभुख भएर राखिएको हो,’ कर्मचार्यले भने, ‘शिवले कोही बेला हिंसा कर्म पनि गरेको भएर शक्तिभन्दा पृथक् भएर बसेका हुन् ।’

शिवलिंग देखाउनु प्राचीन स्मारक संरक्षण ऐनको समेत विपरीत छ । ‘प्राचीन स्मारक संरक्षण ऐनले पहिला जुन स्वरूपमा छ, त्यही स्वरूपमा संरक्षण गर्नुपर्छ भन्छ,’ अधिवक्ता सञ्जय अधिकारीले भने, ‘छोप्नुपर्ने लिंग देखाउनु परम्पराविपरीत मात्र होइन, ऐनविपरीत पनि छ ।’ मन्दिरको जगभन्दा ६ फिट तल शिवलिंग भेटिएको थियो । अहिले शिवलिंगलाई ‘आर्क’ भित्र देखाएर त्यसमाथि गारो लगाइएको छ । ‘आर्क’ बनाउँदा गारो पनि कमजोर बनाइएको कर्माचार्यको दाबी छ ।

यसअघि मन्दिर माटोले बनेको थियो । तर पशुपति क्षेत्र विकास कोषले चुना सुर्कीले बनाउने गरी लागत इस्टिमेट गरेको थियो । तर त्यसमा प्रश्न उठेपछि अहिले माटोबाटै पुनर्निर्माण गरिरहेको कोषका सदस्यसचिव प्रदीप ढकालले बताए । कर्माचार्यले माटोको गुणस्तर कायम गर्नमा पनि ध्यान दिएको बताए । पशुपतिनाथको मुख्य शक्तिपीठमध्येको जयबागेश्वरी मन्दिरलाई लिच्छविकालीन मानिन्छ । यो मन्दिरको मुख्य विशेषता यहाँका चित्र हुन् ।

क्षतिग्रस्त मन्दिर भत्काउँदा तीन वटा गजुर भएको मन्दिर र त्यसको दोस्रो तलामा भित्ते चित्र भेटिएको थियो । कर्माचार्यका अनुसार भित्ते चित्र गणेश, भैरव र कुमारीका हुन् । दुई तह देखिएको भित्ते चित्रको बीचबीचमा मुसाले खाएर क्षति पुर्‍याएको छ । बाँकी रहेको भागलाई सुरक्षितसँग उत्खनन गर्न पुरातत्त्व विभागले रसायनविद् गृहमानसिंहलाई जिम्मा दिएको थियो ।

यहाँ हरेक १२ वर्षमा चित्रको रङ फेर्ने गरिन्छ । यसलाई कलेबर फेर्ने भनिन्छ । कलेबर फेर्दा माटोका प्राचीन मूर्तिसमेत फेरिन्छ । जयबागेश्वरी मन्दिरको मुख्य विशेषता देवीका चित्र र मूर्ति हुन् । पशुपति क्षेत्रका संस्कृतिकर्मी मुकुन्दराज वैद्यका अनुसार जयबागेश्वरीलाई महाकाली, महालक्ष्मी र महासरस्वतीको संयुक्त रूप मानिन्छ । यी सबैका मूर्ति माटोका छन् । भित्तामा पनि यिनै देवीका चित्र छन् । पुनर्निर्माण गर्दा यी चित्र पनि जस्ताको तस्तै बनाइने छन् ।

‘हामीले माटोले बनाउनुपर्छ भनेर अडान लिएका थियौं,’ वैद्यले भने, ‘भनेको जस्तै भयो, खुसी छौं ।’ पशुपति क्षेत्र विकास कोषका योजना महाशाखा प्रमुख भरत मरासैनीले पनि यसअघिको संरचना र त्यसको स्थानमा फेरबदल नहुने गरी बनाउने प्रतिबद्धता जनाए ।

प्रकाशित : श्रावण १७, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

दुई महिनामा कोभिड अस्पताल

विप्लव महर्जन

सल्यान — दार्मा गाउँपालिकाले वडा नं. ३ थुम्केसल्लीमा दुई महिनामा १५ शय्याको अस्थायी कोभिड अस्पताल भवन निर्माण गरेको छ । कोरोनाको तेस्रो लहर बढ्दै गएकाले त्यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न ६० दिनमा कोभिड अस्पताल निर्माण गरिएको हो ।

सल्यानको दार्मा गाउँपालिकाले निर्माण गरेको १५ शय्याको अस्थायी कोभिड अस्पताल भवन र आइसोलेसन केन्द्र । तस्बिर : विप्लव महर्जन/कान्तिपुर

कोभिड अस्पताल तथा आइसोलेसन निर्माणका लागि कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ अनुदान दिएको थियो ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भवन निर्माण गरेपछि महामारी नियन्त्रण, बहिरंग तथा आकस्मिक सेवा प्रवाहमा समेत सहज हुने बताए । कोरियन प्रविधिको अस्पताल तथा आइसोलेसन भवन यही साता तयार भएको उनको भनाइ छ ।

कोरोना संक्रमितलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान र चौरजहारीस्थित मिसन अस्पतालमा पठाइँदै आएको थियो । अब जटिल समस्याका बिरामीबाहेक अरूलाई दार्मामै उपचार गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिको अहिले जनता मावि फारुलाको भवनमा आइसोलेसन सञ्चालन गरिरहेको छ । ‘अब हामी छिट्टै नयाँ अस्पताल भवनबाट सेवा प्रदान गर्नेछौं,’ अध्यक्ष केसीले भने, ‘यसका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन पनि हुँदै छ ।’ कोरोनालाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले करार सेवाका एक डाक्टरसहित दुई स्टाफ नर्स पठाएको थियो ।

अहिले करार अवधि सकिएकाले उनीहरू फर्किर्एका छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञबहादु बस्नेतले डाक्टरसहित स्वास्थ्यकर्मीको व्यवस्था भएपछि स्तरीय स्वास्थ्य सेवा प्रवाह हुने बताए । ‘अहिले कोरोनाको तेस्रो लहर आउने सम्भावनासँगै हामीले पूर्वतयारी स्वरूप कोभिड अस्पताल भवन निर्माण गरेका हौं,’ उनले भने, ‘सरकारले चिकित्सकसहित स्वास्थ्यकर्मी पठायो भने सहज हुनेछ ।’

कोभिड अस्पताल तथा आइसोलेसन सञ्चालनका लागि गत आर्थिक वर्षमै अक्सिजन कन्सन्ट्रेटरलगायत सामग्री व्यवस्था गरिएको छ । थप स्वास्थ्य उपकरण जुटाउन प्रदेश सरकार र दातृ निकायसँग सहयोग मागिएको स्वास्थ्य संयोजक बस्नेतले बताए । गाउँमै अस्पताल बनेपछि स्थानीय खुसी छन् । स्थानीय झुपलाल रोकायाले अस्थायी कोभिड अस्पताल तथा आइसोलेसन निर्माणपछि गाउँघरमै सेवा पाइने विश्वास व्यक्त गरे ।

प्रकाशित : श्रावण १७, २०७८ ११:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×