कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातादेखि फोहोर उठेन

वर्षाका कारण सिसडोलसम्म पुग्ने सडक बिग्रिएपछि फोहोर व्यवस्थापनमा समस्या

काठमाडौँ — उपत्यकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल पुग्ने सडक वर्षाले बिगारेपछि फोहोर व्यवस्थापनमा समस्या हुन थालेको छ । झन्डै एक सातादेखि नयाँ बानेश्वर, शखंमूल, बत्तीसपुतलीलगायत मुख्य चोकहरुमा थुप्रिएको फोहोर उठ्न सकेको छैन ।

सातादेखि फोहोर उठेन

यसअघि सिसडोलवासीको विरोधका कारण पटक–पटक फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । ‘सधैंजसो वर्षायाम सुरु भएपछि फोहोर संकलन र व्यवस्थापनमा समस्या हुन्छ,’ काठमाडौं महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्था विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘ल्यान्डफिल साइटसम्म पुग्ने सय मिटर जति बाटो बिग्रेका कारण घाम लाग्दा मात्र फोहोर पुर्‍याउन सकिन्छ ।’ उनका अनुसार दिनहुँ एक सय ५० वटा ट्रकले फोहोर पुर्‍याउने गरेकोमा अहिले मुस्किलले ५० वटा ट्रक मात्रै सिसडोल पुग्न सकेका छन् । यसअघि थुपारिएको फोहोरमाथि नै सडक बनाइएकोले अहिले समस्या भएको उनको भनाइ छ । बिग्रिएको सडकमा ढुंगा बिछ्याउने काम भइरहेकाले केही दिनमा सबै स्थानको फोहोर उठ्ने उनले बताए ।

यसैबीच, नुवाकोटकै बन्चरे डाँडामा निर्माण भइरहेको फोहोर प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन विभागले जनाएको छ । गत जेठको पहिलो साता नै हस्तान्तरण गर्ने भनिए पनि वर्षा र कोभिड–१९ का कारण हुन नसकेको विभागका उपमहानिर्देशक तथा बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट आयोजना प्रमुख कुमारप्रसाद घिमिरेले बताए । उनका अनुसार फोहोर फाल्न २ वटा सेल निर्माण गरिएको छ ।

पहिलो सेल फोहोर विसर्जनका लागि तयार भए पनि फोहोरबाट निस्कने ‘लिचेड’ लाई जम्मा गर्ने पोखरी र दोस्रो सेलको काम भइरहेको उनले बताए । अबको २ महिनामा प्रयोगात्मक रूपमै फोहोर विसर्जन गर्ने गरी व्यवस्था गरिने उनले दाबी गरे । उनका अनुसार ल्यान्डफिल साइट निर्माणका लागि हालसम्म ४४ करोड रुपैयाँ खर्च भइसकेको छ । दुवै सेल गरी २० हजार घनमिटर फोहोर अट्ने यसको क्षमता छ । यहाँ काठमाडौं उपत्यकाका २ महानगर र १६ नगरको फोहोर व्यवस्थापन हुनेछ ।

प्रकाशित : श्रावण ४, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?