कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्मे

ढल, खानेपानी, बिजुलीका तार बिछ्याउन खनेर त्यत्तिकै छोड्नाले मात्र होइन, जनप्रतिनिधि र अन्य सरकोरवालाको बेवास्ताले करिडोर, भित्री सडक तथा गल्लीहरुको दुरवस्था छ
विद्या राई

काठमाडौँ — नयाँ बानेश्वर बस्ने नवीना तामाङ मनोहरा करिडोर हुँदै जडीबुटी जाँदै थिइन् । बालकुमारी पुलमुनि पुगेपछि स्कुटरको झ्याप्पै ब्रेक लगाइन् । ‘आफ्नै सुरमा जाँदै थिएँ, खाल्डाखुल्डीमा पानी जमेको रहेछ, धन्न स्कुटर फसेन, ठूलो दुर्घटना टरेझैं लाग्यो,’ उनले सुनाइन् ।

पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्मे

आउजाउका लागि छिटो र सहज हुने तथा मुख्य सडकमा जाम र जोखिम कम गर्न भन्दै करिडोरको योजना ल्याइए पनि निर्माणको काम पूरा नहुँदा चालक र यात्रुले वर्षात्मा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नुपर्छ ।करिडोरका ठाउँ–ठाउँमा कालोपत्र नगरी छोडिएको छ । बालकुमारी पुलमा जस्तै धोबीखोला करिडोर भएर आवतजावत गर्नेहरू बिजुलीबजार पुलमुनि पुग्दा उस्तै हिलो र खाल्डाखुल्डीमा फस्ने गरेका छन् ।

‘सट्ट बाटो कट्छ भनेर गयो, बिजुलीबजारमुनि थेग्नै नसकिने हिलो र पानी जमेको हुन्छ,’ प्रवीन राईले भने, ‘पुलमाथिको बाटोमा जाम नहोस्, दुर्घटनाबाट जोगियोस् भनेर मुनिको बाटो प्रयोग गर्ने हो नि, तर पानी परेका बेला सवारीसाधन फसेर लामो जाम हुन्छ, चिप्लिएर लड्ने र अर्को सवारीसँग ठोक्किने जोखिम पनि हुन्छ ।’

निकै व्यस्त हुने थापाथलीस्थित परोपकार प्रसूति गृहबाहिरको सडकको हालत पनि उस्तै छ । यसै मार्गमा नर्भिक अस्पताल पनि छ । तर महिनौंअघि उप्काइएको सडक अझै कालोपत्र नगरिँदा गर्भवती, सुत्केरी तथ अन्य बिरामी बोकेका एम्बुलेन्स, अन्य सवारीसाधन तथा सडक पेटीमा हिँड्नेलाई पनि जोखिम र सास्ती छ । ‘साह्रै गाह्रो बाटो, कुन दिन लडेर अस्पतालको गेटैमा आमा र बच्चाले ज्यान फाल्नुपर्ने हो ?’

सुत्केरी बुहारीको कुरुवा बसेकी अस्मिता शाहीले बताइन् । यहाँ पानी पर्नासाथ सडक हिलो र चिप्लो तथा सुके बुङबुङती धूलो उड्छ । दिनहुँ सानातिना दुर्घटना पनि भइरहेका छन् । ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा सडकको नाजुक अवस्थाकै कारण काठमाडौं, ललितपुर र भक्तपुरका सडकमा १ सय २७ वटा दुर्घटना भएका छन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले थापाथली–प्रसूति गृह सडक, मनोहरा र धोबीखोला करिडोरका उल्लिखित समस्याबारे ध्यानाकर्षण भएको बताए । ‘प्रसूति गृहअघिको सडकका बारेमा सडक डिभिजन काठमाडौंमा बुझ्न लगाएको छु,’ उनले भने, ‘करिडोर क्षेत्रमा खासगरी उपत्यका विकास प्राधिकरणले काम गर्ला भन्ने थियो, अहिलेसम्म नभएपछि हामीले नै कतैबाट समाधान गर्ने प्रयासमा छौं ।’ तर खाल्डाखुल्डी पुर्दै गए पनि नयाँ थपिँदै जाने र पानी परेपछि बढ्दै जाँदा यी समस्या बर्सेनि दोहोरिने उनको भनाइ छ ।

उनका अनुसार मनसुन सुरु भएपछि असार, साउन र भदौ महिनाभर सडक खन्न, कालोपत्र गर्न दिइँदैन । कालोपत्रे नटिक्ने, पानीले बगाउने, खनेको ठाउँमा हिलो बढ्ने, सडक फोहोर हुने भएकाले रोक लगाइने गरिएको हो । सडकमा ढल तथा खानेपानी पाइपलाइन लिक भए तुरुन्तै पुर्ने गरी काम गर्न दिइन्छ । तर त्यसको कार्यान्वयन नहुँदा सास्ती यात्रुले भोग्नुपरिरहेको छ ।

उपत्यकामा विभागको कार्यक्षेत्रभित्र पर्ने मुख्य सडकमा दैनिक १० ठाउँ सडक खनिन्छ । महिनामा तीन सय खाल्डाखुल्डी थपिन्छन् । यसबाहेक स्थानीय सरकारले बनाएका सडक र करिडोरहरूमा खाल्डाखुल्डी गनिसाध्य छैन । यिनै ठाउँमा पानी परेको बेला बढी हिलाम्य हुने गरेको छ । उपत्यकामा करिब १६ सय किमि सडकमध्ये अढाई सय मात्रै सडक विभागको मातहतमा पर्छ । बाँकी साढे तेह्र सय किमि सडक उपत्यका विकास प्राधिकरण, वाग्मती सभ्यता विकास आयोजना, स्थानीय सरकारको जिम्मेवारीभित्र पर्छन् । ढल व्यवस्थापन स्थानीय तहले गर्नुपर्छ । तर स्थानीय तह जिम्मेवार नभइदिँदा दोष सडक विभाग र भौतिक तथा यातायात मन्त्रालयलाई आउने गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।

काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने उक्त कुरा मान्न तयार छैनन् । भन्छन्, ‘आवश्यक पर्दा सडक विभागको क्षेत्र पर्ने सडक नि हामीले हेरेका हुन्छौं, किन बनायौं भनेर भन्दैनौं ।’ तर ढल, खानेपानी, बिजुलीका तार बिछ्याउने नाममा खनेर छोडिएका सडक मात्रै होइन, टोलटोलमा विकासको लहर पुर्‍याउने आश्वासन लिएर चुनिएका जनप्रतिनिधिको ध्यान नपुग्दा भित्रि सडकहरू सधैं कच्ची छन् ।

पानी परेपछि ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोलको कालिञ्चोक पार्टी प्यालेसदेखि सत्यनारायण मन्दिरअगाडिसम्म करिब दुई सय मिटर बाटोमा हिलोले हिँड्नै मुस्किल पर्छ । ‘सिमसिम पानी पर्‍यो कि हिलो भइहाल्छ, चिप्लिएर लडिएला, गाडीले हान्ला भन्ने डर छ,’ ठेलामा तरकारी डुलाइरहेका दानबहादुर साउदले भने, ‘अलि ठूलो पानी परे ढल बाटैमा ओइरिन्छ । खाल्डामा जमेर पैदल हिँड्नै नसक्ने दह बन्छन् । गाडी, मोटरसाइकल, स्कुटर त्यही हिलोमा फस्छन् ।’ कालोपत्रेका लागि नगरपालिकाको प्राथमिकतामा नपरेपछि पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने गरेको स्थानीयको गुनासो छ ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले कोरोना महामारीका कारण सडक स्तरोन्नतिको काम अपेक्षित रूपमा गर्न नसक्दा यो समस्या आएको स्विकारे । ‘नयाँ बनेको नगरपालिका भएकाले थुप्रै संरचनाका कामहरू गर्नुपर्ने छन्,’ उनले भने, ‘गतवर्ष पनि लकडाउन र कोरोना महामारीले गर्दा काम गर्न पाएनौं, काम गर्ने समयमै यो वर्ष पनि उही अवस्था दोहोरियो, अब सामाजिक दूरी कायम गरेर स्तरोन्नति गर्छौं ।’

चालु आर्थिक वर्षमा नगरभित्रका सडक स्तरोन्नति गर्न नगरपालिकाले ५८ करोड बराबरको बजेट छुट्याएको छ । काठमाडौं महानगरले पनि सडक स्तरोन्नति गर्न नसक्नुमा कोरोना महामारीकै कारण औंल्याएको छ ।

प्रकाशित : असार ८, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?