कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताललाई सहयोगको ओइरो

अक्सिजन प्लान्ट, भेन्टिलेटरजस्ता उपकरण किन्न सहायता जुट्दै

भक्तपुर — जिल्लाका स्थानीय तहहरूले सञ्चालन गरेका कोभिड युनिटहरूका लागि सहयोग गर्ने लहर बढ्दो छ । कोभिड–१९ दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएसँगै संक्रमितहरूको उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वपः अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आईसीयूलगायतका स्वास्थ्य उपकरण खरिदका लागि जनस्तरबाट आर्थिक एवं भौतिक सहयोगको ओइरो लागेको हो । 

जेठ ५ गतेबाट २३ गतेसम्ममा विभिन्न सहकारी संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा संघसंस्थाबाट ख्वपः अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माणका लागि ५ करोड ४ लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको नगर प्रमुख सुनील प्रजापतिले बताए ।

संक्रमित बिरामीहरू थपिने क्रम बढेसँगै आइसोलेसन केन्द्र र आकस्मिक सेवामा अक्सिजनको माग बढ्न थाल्यो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग अक्सिजन आपूर्तिका लागि पटक–पटक आग्रह गर्‍यो । वैशाख २७ गते दैनिक ३० सिलिन्डर र २८ गते दैनिक ८० सिलिन्डर अक्सिजन ख्वपः अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णयसमेत गर्‍यो तर त्यो निर्णयअनुसार अक्सिजन पाएन । ‘अक्सिजन अभावमा संक्रमितहरू मृत्यु हुने सम्भावना बढ्न थाल्यो, नगरपालिकाका कर्मचारीहरू खटाएर विभिन्न अक्सिजन प्लान्टहरूमा रातभर ३/४ वटा सिलिन्डर भर्‍यौं,’ नगर प्रमुख प्रजापतिले भने, ‘तर त्यो लामो समयसम्म सम्भव थिएन, हामीले आफैं अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गर्‍यौं र सहयोगका लागि अपिल गर्‍यौं ।’

नगरपालिकाले वैशाख १७ गतेबाट ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सेवा दिँदै आएको छ । २४ सै घण्टा २ जना डाक्टर, ६ जना नर्स, १ जना फिजिसियन र १ जना एनेस्थेसियाका विशेषज्ञ र आवश्यक कर्मचारी खटाइएको छ । आइसोलेसनमा बसुन्जेल सम्पूर्ण सेवा निःशुल्क दिँदै आएको नगर प्रमुख प्रजापतिले बताए । विभिन्न सहकारी संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी, संघसंस्था तथा स्थानीय बासिन्दाको सहयोगमा नगरपालिकाले अक्सिजन प्लान्ट, भेन्टिलेटर, आईसीयूसहितको सुविधायुक्त अस्पताल सञ्चालनको तयारी गरेको उनले बताए । ‘अक्सिजन प्लान्टका लागि भौतिक संरचना निर्माण भइरहेको छ, जेनेरेटर/ट्रान्सफर्मर जडान भइसक्यो,’ उनले भने ।

भक्तपुरले १ सय शय्या क्षमताको ख्वपः अस्पताल सञ्चालनका लागि च्याम्हासिंहमा भवन निर्माणलाई तीव्रता दिएको छ । भवनसँगै नगरपालिकाको जनस्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । केन्द्रमा विभिन्न रोगका विशेषज्ञबाट नियमित ओपीडी, इमर्जेन्सी, ल्याब, एक्स रे र अल्ट्रासाउन्ड, फिजियोथेरापी र फार्मेसी सेवा सञ्चालन भइरहेको छ ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कोभिड–१९ महामारी सुरुको चरणदेखि नै काम गर्दै आएको छ । पीसीआर परीक्षणलाई निरन्तरता दिँदै आएको अस्पतालले अक्सिजन उत्पादनसमेत थालेको छ ।

नगरपालिकाले ६५ लाख रुपैयाँ खर्च गरेर जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १ लाख ९२ हजार लिटर अर्थात् ३२ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । १ सय २ शय्या क्षमताको अस्पतालमा १ सय ११ चिकित्सक, ९३ नर्ससहित ३ सय ६५ कर्मचारी कार्यरत छन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?