भारी कुरेरै बित्छ दिन- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारी कुरेरै बित्छ दिन

गुजारा गर्न धौ–धौ भएपछि उनी हरेक दिन भारी बोक्न पाइने आसमा चोकतिर निस्कन्छन् तर काम पाउँदैनन्
लीला श्रेष्ठ

भक्तपुर — सडकमा फाट्टफुट्ट मात्रै सवारीसाधन गुडिरहेका छन् । औषधि बेच्नेबाहेक अधिकांश पसल बन्द छन् । सडकपेटीमा पैदल हिँड्नेको उपस्थिति भने अलिअलि छ ।

उमेरले ६ दशक पार गरेका उदयपुरका भक्तबहादुर राई भने सूर्यविनायक चोकस्थित सडक किनारमा एक हातमा नाम्लो लिएर भारी बोक्ने काम पाइन्छ कि भन्दै कुरेर बसिरहेका भेटिए । भोकको सवालका कारण भक्तबहादुरलाई सडकमा निस्कन न निषेधाज्ञाले रोकेको छ, न त घामपानीले नै ।

‘३५ वर्ष थाप्लोमा नाम्लो राखेरै बिताएँ, छोराछोरी हुर्काउने, पढाउने पनि नाम्लोले नै गर्‍यो,’ उनले भने, ‘अब बुढेसकालमा कुन काम गरेर हातमुख जोर्नु खै । हातखुट्टा चलुन्जेल भारी बोक्न पाए हुन्थ्यो ।’ निषेधाज्ञाअघि पसलहरू खुल्दा उनले धेरथोर काम पाएकै थिए । ‘कोही पसलको सामान मिलाउन त कोही कोठा सार्न बोलाउँथे, आजकल यी सब ठप्प छन्,’ उनले आशा व्यक्त गरे, ‘साँझसम्म काम पाइएला कि !’

कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञाले उच्च तथा मध्यम वर्ग घरभित्रै सीमित भए पनि दैनिक ज्याला मजदुरी गरेर जीवन धानिरहेका श्रमिकहरू भने काम खोज्दै भौंतारिरहेका भेटिन्छन् । भक्तबहादुरका छोरा/बुहारी घर ढलानको काम गर्छन् । निषेधाज्ञायता उनीहरू काममा जान पाएका छैनन् । भक्तबहादुर भने भारी बोक्न पाइने आशामा दिनहुँ बिहान ७ बजे चोकमा निस्कन्छन् । ‘पहिले–पहिले जस्तो ठूलो भारी बोक्न त सक्दिनँ, अब बुढेसकाल लागिसक्यो,’ उनले भने, ‘दैनिक डेढ सयदेखि ५ सय रुपैयाँ त कमाएकै थिएँ ।’ निषेधाज्ञायता भने फाट्टफुट्ट मात्रै काम पाएको उनी बताउँछन् ।

साढे तीन दशकदेखि भारी बोक्दै आएका भक्तबहादुरको निधारमा परेको मुजाले पनि बताउँछ उनको संघर्षका कथा । उदयपुर अशोकटीका घर बताउने भक्तबहादुरले युवा अवस्थामै श्रीमती गुमाए । स–साना छोरा/छोरीको बिचल्ली हुने चिन्ताले उनले दोस्रो विवाह गरेनन् ।

‘निमोनियाका कारण बुढीको मृत्यु हुँदा छोरा वर्ष दिन पनि पुगेको थिएन, छोरी तीन वर्षकी थिई,’ उनले भने, ‘त्यसपछि गाउँ छोडेको अझै यतै छु । छोरी विवाह गरेर पठाइयो । म छोरा–बुहारीसँगै बसिरहेको छु ।’ पाखो बारीमा उब्जेको अन्नले तीन महिना पनि खान नपुग्ने भएपछि उनी नाम्लो बोकेर सहर छिरेका थिए । ‘छोराछोरीलाई धेरै पढाउन त सकिनँ तर दुःख–सुख गरेर हुर्काएँ,’ उनले भने ।

महिना लामो निषेधाज्ञाका कारण उनको परिवारलाई साँझ–बिहान हातमुख जोर्नै समस्या पर्न थालेको छ । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्दै आएका भक्तबहादुरले समयमै कोठा भाडा तिर्नसमेत नसकेको बताए । ‘यसअघि लकडाउनमा पालिकाले १० केजी चामल, एक प्याकेट नुन, आधा किलो चिनी, आधा लिटर तेल दिएको थियो । अहिले त त्यही दिन पनि कोही आएनन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार सिन्ध प्रान्तको घोट्की जिल्लाको डहरकीमा मिल्लत एक्सप्रेस र सर सैयद एक्प्रेस रेल ठोक्किएका हुन् । 

तस्बिर : बाघी टीभी डट कम

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार कराचीबाट सरोगोधा गइरहेको मिल्लत एक्सप्रेस र रावलपिन्डीबाट आइरहेको सर सैयद एक्सप्रेस राइती रेल्वे स्टेसननजिकै ठोक्किएका हुन् ।

पाकिस्तानी प्रहरीका अनुसार मिल्लत एक्सप्रेसका दुर्घटनाग्रस्त डिब्बामा अझै पनि १५ देखि २० जना यात्रु फसेका छन् । उनीहरुको उद्धार कार्य जारी रहेको घोट्कीका एसएसपी उमर तुफैलले डनलाई बताएका छन् ।

घोट्कीका उपआयुक्त उस्मान अब्दुल्लाहले दुर्घटनामा ३० जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको बताएका छन् । जियो न्युजसँगको कुराकानीमा उनले कम्तीमा पनि १३ वटा डिब्बा लिकबाट पल्टिएको बताएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×