कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा घट्न थाले संक्रमित

सीमित संख्यामा रहेका भेन्टिलेटर र आईसीयू भने अझै भरिभराउ
लिला श्रेष्ठ

भक्तपुर — क्षमताभन्दा बढी कोरोना संक्रमित बिरामी भर्ना गरेर उपचार गराएका भक्तपुरका अस्पतालहरूमा शय्या खाली हुन थालेका छन् । तीन साताअघि नयाँ भर्ना लिन नसक्ने अवस्थामा पुगेका अस्पतालहरू सामान्य अवस्थामा फर्किएको अस्पताल व्यवस्थापन र चिकित्सकहरू बताउँछन् ।

अस्पतालमा घट्न थाले संक्रमित

‘अक्सिजनको अभावले वैशाख २८ मा नयाँ भर्ना लिने कार्य बन्द भएको सूचना टाँस्न बाध्य भयौं,’ भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतमले भनिन्, ‘अहिले त्यो अवस्था छैन, सामान्य हुँदै आएको छ ।’

डा. गौतमका अनुसार शुक्रबारसम्म अस्पतालको आईसीयूमा ६, भेन्टिलेटरमा २, एचडीयूमा १०, जनरल वार्डमा १९ गरी ३७ संक्रमितको उपचार भइरहेको छ । ६८ शय्या क्षमताको आइसोलेसन सञ्चालन गरेको यो अस्पतालले ८३ जनासम्म संक्रमितलाई भर्ना गरेर सेवा दिएको थियो । संक्रमितको संख्या बढ्दै जाँदा आकस्मिक कक्षलाई समेत कोभिड वार्डमा रुपान्तरण गरी उपचार गरेको थियो । हाल १ सय ४० जनासम्म संक्रमितलाई भर्ना गरेर उपचार गर्न सकिने क्षमता अस्पतालमा रहेको डा. गौतम बताउँछिन् ।

अस्पतालमा एचडीयू र जनरल आइसोलेसनमा संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था भए पनि आईसीयू र भेन्टिलेटर चाहिने बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था कायमै छ । ‘आईसीयू शय्या र भेन्टिलेटर सीमित छ, नयाँ बिरामी भर्ना लिन अझै हाम्रो पहुँचमा छैन,’ उनले भनिन् ।

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १० शय्या क्षमताको आकस्मिक कक्षमा शुक्रबार ३ संक्रमितको मात्रै उपचार भइरहेको थियो । दुई साताअघिसम्म आईसीयू, भेन्टिलेटर, एचडीयू र आकस्मिक कक्षसमेत कोरोना संक्रमितले भरिएको थियो । मध्यपुर थिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार शुक्रबारसम्म अस्पतालको आईसीयूमा ६, भेन्टिलेटरमा ४, एचडीयूमा १२ र आकस्मिक कक्षमा ३ गरी २५ संक्रमित उपचाररत छन् । आईसीयू, भेन्टिलेटर र एचडीयूमा अझै नयाँ संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था छैन ।

संक्रमितलाई प्रभावकारी सेवा पुर्‍याउँदै आएको यो अस्पताललाई बिहीबार इन्गेज नेपाल नामक संस्थाले ६३ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । उक्त अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि संक्रमित बिरामी भर्ना गर्ने क्षमतामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

अक्सिजन अभाव देखाउँदै दुई साताअघिसम्म निजी अस्पतालले मात्र होइन, सरकारी अस्पतालले समेत संक्रमितको भर्ना नलिने सूचना निकाले । जिल्लाका चारवटै स्थानीय तहका जनप्रतिनिधिको ध्यान अक्सिजन उत्पादनमा गयो । मध्यपुर थिमिले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा करिब ६५ लाख रुपैयाँको लागतमा प्लान्ट राखी दैनिक ३० सिलिन्डर अक्सिजन उत्पादन नै सुरु गर्‍यो ।

संक्रमित बिरामीहरू थपिने क्रम बढेसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा आइसोलेसन केन्द्र र आकस्मिक सेवामा अक्सिजनको माग बढ्न थाल्यो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग अक्सिजन सिलिन्डर उपलब्ध गराइदिन पटक–पटक आग्रह गर्‍यो । वैशाख २७ मा दैनिक ३० सिलिन्डर र भोलिपल्ट दैनिक ८० सिलिन्डर अक्सिजन ख्वपः अस्पताललाई प्रदान गर्ने भनी सीसीएमसीले निर्णय त गर्‍यो तर अक्सिजन उपलब्ध भएन ।

‘अक्सिजन अभावमा संक्रमितको मृत्यु हुने सम्भावना बढ्न थाल्यो, नगरपालिकाका कर्मचारीहरूले विभिन्न अक्सिजन प्लान्टहरूमा रातभर बसेर अक्सिजन भर्ने काम भयो,’ नगर प्रमुख सुनील प्रजापतीले भने, ‘तर त्यो लामो समयसम्म सम्भव थिएन, हामीले आफैं अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गर्‍यौं र सहयोगी हातहरूमाझ सहयोगको अपिल गर्‍यौं ।’

प्लान्ट स्थापना गर्न हालसम्म करिब ५ करोड रुपैयाँ सहयोग संकलन भएको उनले जनाए । नगरपालिकाले वैशाख १७ बाट ५० शय्याको आइसोलेसन र २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ । जसमा चौबीसै घण्टा चिकित्सकीय सेवा दिँदै आइएको छ ।

आइसोलेसनमा सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आएको नगर प्रमुख प्रजापतीले बताए । त्यसैगरी, चाँगुनारायण नगरपालिकाले चाँगुनारायण नगर अस्पताललाई १५ शय्याको कोभिड अस्पतालको रूपमा सञ्चालन गरेको छ । चाँगुनारायण–४ का वडा सदस्य दिनेश खनालका अनुसार अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन् ।

प्रकाशित : जेष्ठ २२, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?